उपचारबाटै वञ्चित गरिन्छ आप्रवासी श्रमिकलाईः अध्ययन रिपोर्ट

लुद्र बहादुर सुनार (३३ वर्ष) कतारमा काम गर्दथे । उनले त्यहाँ १३ महिना काम गरे । प्यूठानका लुद्र कतारमा बगैंचेका रुपमा काम गर्दथे । श्रीमति र पाँच छोराछोरीको पालनपोषणका लागि कतार गएका उनले त्यहाँ झण्डै झण्डै आँखाको ज्योति नै गुमाउनु पर्यो ।

लुद्रको काम गर्ने कम्पनीले रुख विरुवाहरु काँटछाँटको काम गर्दथ्यो । मेसिनले काटेका रुखका हाँगा तथा पात लगायतका वस्तु सोहोर्ने जिम्मा थियो उनको । तर उनलाई कम्पनीले काम गर्दा लगाउनु पर्ने चस्मा दिएको थिएन । केहि महिना पछि आँखा चिलाउन थाल्यो । रातो हुन थाल्यो । उनले आफूभन्दा माथिल्लो ओहोदाका कर्मचारीलाई अस्पताल लगिदिन आग्रह गरे । तर उनीहरुले आफ्नै खर्चमा उपचार गर्न जान अह्राए । कतारी आईडी कार्ड नपाएका उनी आफैं सरकारी अस्पतालमा उपचार गराउन जान सम्भव थिएन । निजिमा उपचार गर्न जाने आर्थिक हैसियत भएन । अरवि वा अंग्रेजी भाषा नजानेका कारण पनि उनलाई आफ्नो समस्या भन्न सहज थिएन ।

आँखा धमिलो देख्न थाले । उपाय केहि नदेखिपछि उनले आफू बेहोस् भएको अभिनय गरे । बाध्य भएर कम्पनीले अस्पताल लगिदियो । १२ दिन अस्पतालमा राखेर उपचार गरेपनि भाषा नजानेका कारण आफूलाई आइपरेको समस्याका बारेमा उनले राम्रोसँग बताउन सकेनन् । निको नहुँदै उनलाई अस्पतालले कम्पनीमा फर्काइदियो । नेपाल फर्काइदिन अनुरोध गरेपनि कम्पनीले मानेन । अन्ततः उनी एउटा सामाजिक सस्थाले उपलव्ध गराएको घरफिर्ति टिकट लिएर नेपाल फर्किए । हाल नेपाल फर्केर आँखाको उपचार गराइरहेका लुद्रको आँखाको ज्योति त विस्तारै फर्किरहेको छ तर उनले कम्पनीबाट कुनै आर्थिक क्षतिपूर्ति भनें पाएनन् ।

यो एउटा प्रतिनिधि घटना हो एक अध्ययनमा समेटिएको । सामाजिक न्यायका लागि कानुन तथा निति नियम मञ्च (ल्याप्सोज)ं ले भाइटल साइन्ससँगको साझेदारीमा गरेको अध्ययनले रोजगारीका लागि खाडीका मुलुकहरुमा पुगेका आप्रवासी श्रमिकहरुको स्वास्थ्य सेवामा पहुँच निक्कै न्यून हुने देखाएको छ । कुवेतमा रोजगारी गरेका नेपाल, बंगलादेश, श्रीलंका, पाकिस्तान, फिलिपिन्स लगायतका मुलुकका अध्ययनमा समेटिएका १ हजार १ सय १ जना श्रमिकहरु मध्ये २१ प्रतिशतले गन्तव्य मुलुकमा रहँदा स्वास्थ्य सेवामा पहुँच अत्यन्तै गाह्रो भएको बताएका थिए । कुल उत्तरदाताहरु मध्ये ३९ प्रतिशतले स्वास्थ्य सेवामा पहुँच सहज नभएको जानकारी दिएको अध्ययनले देखाएको छ । कोभिड १९ को महामारीका समयमा त्यो अझ बढेको देखिएको छ । अध्ययनमा सहभागि मध्ये ४९ प्रतिशतले सो समयमा स्वास्थ्य सेवामा पहुँच अत्यन्त कठिन रहेको बताएका छन् ।

स्वास्थ्य सेवामा पहुँच कठिन किन भयो त ? अध्ययनमा सहभागि मध्ये ५१ प्रतिशतले आफूसँग परिचयपत्र नभएका कारण भन्ने जानकारी दिएका छन् । यसैगरी भाषागत कठिनाई, तोकिएको एप्लिकेसन मोवाइलमा नहुनु, आप्रवासी श्रमिकलाई गरिएको भेदभाव लगायतलाई कारण उनीहरुले बताएका छन् ।

अध्ययनमा समेटिएका मध्ये ४७ प्रतिशतले आफूलाई उपचारमा भेदभाव गरिएको बताएका छन् । ४१ प्रतिशतले भनें त्यस्तो भेदभाव सहनु नपरेको जानकारी दिएका छन् भनें बाँकीले यसका बारेमा कुनै जानकारी दिएका छैनन् । उपयुक्त उपचार सेवा नपाउँदा त्यस्ता श्रमिकले चिकित्सकलाई नजँचाई औषधि खाएको बताएका छन् । अध्ययनमा संलग्न रोशनी गिरीका अनुसार त्यसरी आफैंले अनुमान गरी खाइने औषधिमा पेनाडोल, सिटामोल, ब्रुफिन लगायत रहेको देखिएको छ ।

कुवेतमा जस्तै साउदी अरेविया, युएई, कतारमा पनि आप्रवासी श्रमिकले स्वास्थ्य सेवामा उचित पहुँच नपाएको अध्ययनले देखाएको छ । अध्ययनका क्रममा साउदी अरेवियामा काम गरेका १५ जना आप्रवासी श्रमिकहरुसँग कुराकानी गरिएको थियो । यसैगरी युएईमा काम गरेका २४ जनासँग कुराकानी गरिएको र उनीहरुमध्ये अधिकाँशको अनुभवमा पनि आप्रवासी श्रमिकको स्वास्थ्य उपचारमा पहुँच कमजोर देखिएको अध्ययनमा संलग्न अधिवक्ता अनुराग देवकोटाको भनाई छ । उनका अनुसार खाडी मुलुकका सरकारहरुलाई जुनसुकै अवस्था (वैधानिक हैसियतमा काम गरिरहेका वा कागजातविहिन) का आप्रवासी श्रमिकलाई स्वास्थ्य सेवा उपलव्ध गराउन अध्ययनले सिफारिस गरेको छ । यसैगरी धेरै श्रमिकको बसोवासस्थल नजिक सुविधायुक्त स्वास्थ्य केन्द्रहरु तथा अस्पतालहरु हुनुपर्नेमा पनि अध्ययनले जोड दिएको छ ।

अध्ययन सार्वजनिक कार्यक्रममा बोल्दै ल्याप्सोजका प्रोग्राम म्यानेजर वरुण घिमिरेले नेपाली लगायत आप्रवासी श्रमिकको अधिकारका सन्दर्भमा अझै पनि आवश्यक ध्यान नपुगेको बताए । उनले वर्षौंदेखि कतारमा आप्रवासी श्रमिकको शोषणका विरुद्दमा अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले आवाज उठाउँदै आएको भएपनि विश्वकप सुरु हुँदै गर्दा नेपाली सञ्चार माध्यमका सम्पादकहरुले देखाएको व्यवहारले अचम्मित बनाएको धारणा राखे ।

सो अवसरमा ड्रिम मल्टिमिडियाद्धारा निर्माण गरिएको वृत्तचित्र डेथ्स अनएक्सप्लेण्ड प्रदर्शन गरिएको थियो । सो वृत्तचित्र पनि खाडीका मुलुकहरु र मलेसियामा नेचुरल डेथ, कार्डियाक अरेष्ट वा हार्ट अट्याकका नाममा भइरहेको मृत्युका विषयमा केन्द्रीत छ । वृत्तचित्रका निर्देशक सुनिल न्यौपानेले खाडी र मलेसियामा वर्षेनी ठूलो संख्यामा भइरहेको त्यस्तो मृत्युको वास्तविक कारण खोज्नु पर्दछ भन्ने आवाज उठाउन वृत्तचित्र निर्माण गरिएको बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय