शोषण हुने मुलुकमा श्रमिक नपठाए हुन्छ, तर श्रमिकको अधिकारका विषयमा सम्झौता हुन्न

आज अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवस । परदेशमा रोजगारीका लागि जाने श्रमिकहरुको हक, हित र अधिकारका विषयमा चर्चा सहित विश्वभरी मनाउने गरिन्छ । सन् १९९० डिसेम्वर १८ का दिन संयुक्त राष्ट्रसंघले विश्वभरी छरिएर रहेका आप्रवासी श्रमिक र तिनको परिवारका सदस्यहरुको अधिकार रक्षा सम्वन्धि महासन्धि पारित गरेको थियो । सो दिनलाई महत्वका साथ लिईदै हरेक वर्ष डिसेम्वर १८ का दिन प्रवासी श्रमिक दिवस मनाउने गरिएको हो । सोही दिवसको सन्दर्भमा देशपरदेशले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँग गरेको कुराकानीको सम्पादित भाग:

अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा प्रवासमा कार्यरत सम्पूर्ण दाजुभाई दिदिबहिनीहरुलाई हार्दिक शुभकामना दिन चाहन्छु । वर्तमान समयमा संसार नै श्रमिकमा आधारित छ, संसारलाई धान्ने भनेको नै श्रमिकले हो । यो वर्गलाई माथि उकास्नका लागि, उनीहरुको हक र हितलाई संरक्षण गर्न र स्थापित गर्नका लागि लाग्न, उनीहरुले प्राप्त गर्न नसकेका अधिकार प्राप्तिका लागि जुट्न आव्हान गर्दछु ।

मैले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि प्रवासमा कार्यरत नेपाली श्रमिकको कामलाई कसरी मर्यादित बनाउन सकिन्छ भनेर छलफल गरें । हामीले हाम्रा श्रमिकले सम्मानजनक तलव, सुविधा पाउनु पर्दछ भन्ने निश्कर्ष निकाल्यौं । हाम्रा नेपाली श्रमिक रोजगारीका लागि लैजाने मुलुकले श्रमिकका लागि न्यूनतम पारिश्रमिक तय गरेको हुनु पर्दछ भन्ने हाम्रो मान्यता हो । यसैगरी कुनै कारणवस श्रमिक विरामी परेमा उनीहरुको औषधिउपचार र अन्य कुनै समस्या परेमा उनीहरुको उद्दारको जिम्मेवारी गन्तव्य मुलुकको सरकारले लिनु पर्दछ भन्ने नेपाल सरकारको धारणा हो । यति कुरा हुने हो भनें श्रम बजार अहिलेभन्दा व्यवस्थित हुन्छ भन्ने लाग्दछ । यो विषयलाई हामीले हाम्रा श्रम गन्तव्य मुलुकहरुसँग पनि जोडदार ढंगले उठाएका छौं ।

यसैगरी श्रम गन्तव्यमा विरामी परेर वर्षौं देखि अस्पतालमा रहेका, जेल परेका नेपालीहरुलाई हामीले नेपाल फर्काएका छौं । अर्को कुरा हामी सधैं विदेशी भूमिमा त बस्दैनौं, मातृभूमि फर्किन्छौं । हामीसँग सामाजिक सुरक्षा कोष छ । त्यो कोषको दायराभित्र वैदेशिक रोजगारमा गएकाहरुलाई पनि जोड्ने गरी कार्यक्रम अगाडी बढाएका छौं । हामीले कार्यविधि पारित गरिसकेका छौं । मन्त्रीस्तरबाट त्यो कार्यविधि पारित भइसकेपनि केहि प्राविधिक विषयहरु मिलाउनु पर्ने भएकाले आगामी वैशाख १ गतेदेखि त्यो कार्यक्रम लागु हुन्छ ।

नेपाल सरकारले वैदेशिक रोजगारमा रहेका दाजुभाई दिदीबहिनीहरुलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा जोड्न खोजेको हुँदा प्रवासमा श्रम गरिरहेका सम्पूर्ण नेपाली श्रमिकलाई यस कार्यक्रममा आवद्द हुन र यसबाट लाभ प्राप्त गर्न आव्हान पनि गर्न चाहन्छु । तपाई प्रवासमा कार्यरत श्रमिक यो कार्यक्रममा सहभागि हुनुभयो भनें तपाईले कुनै अप्ठ्यारो आइपरेको वखतमा मद्दत प्राप्त गर्ने मात्र नभई जीवनको उत्तरार्धमा सुरक्षा, सुख पाउनु हुनेछ ।

रोजगारीका लागि विदेश जान चाहने युवा घरबाट निस्कँदा नै ठगिमा पर्न सुरु हुन्छ । उनीहरुलाई धेरै तलवको प्रलोभन देखाईन्छ । गन्तव्य मुलुकमा पुगिसक्दा त्यो हुन्न । केहि गन्तव्य मुलुकले न्यूनतम तलवको ग्यारेण्टी गरिएपनि धेरै मुलुकले खुल्ला छोडेका छन् । त्यसैले अत्यन्त न्यून तलव, सुविधामा काम गर्न नेपाली श्रमिक वाध्य हुने गरेका छन् । तलव मात्र होइन काममा पनि फरक हुने गरेको छ । त्यसैले समस्यामा परेका श्रमिकसँग प्रत्यक्ष रुपमा छलफल गर्न कल सेण्टरमा साप्ताहिक रुपमा हामी बस्ने गरेका छौं । हामी श्रमिकले राखेका समस्याका विषयमा तत्काल छलफल पनि गर्दछौं । हामीले तत्कालै समस्या समाधान गर्न सकिने अवस्था भएमा त्यहि अनुरुप र थप केहि गर्नुपर्ने भएमा त्यहि रुपमा ति समस्यालाई निराकरण गर्ने काम गर्दै आएका छौं । हामीले यसबीचमा ठगि भएको ८८ करोड रुपैंयाँ ठगिएकाहरुलाई दिलाएका छौं । यसैगरी सरकारी स्वीकृति नलिई विभिन्न प्रलोभनमा पार्ने, आफूखुशी अन्तर्वार्ताहरु गर्ने १ सय ४४ वटा मेनपावर कम्पनीहरुलाई कारवाही पनि गरिएको छ ।

अहिले हामीले स्वदेशमा पर्याप्त रोजगारी दिन सकिरहेका छैनौं । तसर्थ धेरै नेपाली दाजुभाई दिदिबहिनीहरु विदेशमा रोजगारीमा हुनुहुन्छ । विदेश भनेको विदेश हो । त्यहाँ हाम्रा श्रमिकले बोलेको नसुनिन सक्छ । त्यहाँको कानुन, निति, रितिरिवाज, भाषाले प्रभाव पारेको हुन सक्दछ । त्यसैले हाम्रा राजदूतहरुले आफ्ना नागरिकको पक्षमा अडान लिनु पर्दछ । यदि कुनै मुलुकमा नेपाली श्रमिकमाथि अन्याय भइरहेको छ भनें उनीहरुका पक्षमा बोल्नु पर्दछ । यदि शोषण छ भनें त्यस्ता मुलुकहरुमा हाम्रा नागरिकलाई रोजगारीका लागि नपठाउनु नै श्रेयश्कर हुन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: