श्रम मन्त्रीहरुको चुनाव: कसले जिते, कसले हारे, कसको अवस्था बलियो ?

वहालवाला श्रम मन्त्री शेर बहादुर कुँवर अछाम क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभामा विजयी बनेका छन् । उनले नेकपा एमालेका उम्मेदवार झपट बोहरालाई हराउँदै विजयी भए । नेकपा (एकिकृत समाजवादी) का केन्द्रीय सदस्य रहेका कुँवर १९ हजार ५ सय ३४ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी बोहराले १५ हजार ४५ मत पाए ।

यसैगरी पूर्व श्रममन्त्री गोकर्ण विष्ट गुल्मी क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभामा चुनिएका छन् । नेकपा एमालेका सचिव समेत रहेका विष्टले नेकपा (एकिकृत समाजवादी) की रामकुमारी झाँक्रीलाई दुई हजार बढी मतान्तरले हराए । विष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गरे भनें झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरिन् ।

यो समाचार तयार पार्दासम्म अन्य केहि पूर्व श्रममन्त्रीहरुको निर्वाचन क्षेत्रमा मतगणना चलिरहेको छ । पूर्व श्रम मन्त्री कृष्ण कुमार श्रेष्ठ बारा ४ बाट उम्मेदवार छन् । नेकपा (एकिकृत समाजवादी) का नेता श्रेष्ठ सत्ता गठवन्धनका साझा उम्मेदवार हुन् । उनले अग्रता लिइरहेका छन् । यो समाचार तयार पार्दा उनले १६ हजार ४ सय ३९ मत प्राप्त गरेका छन् भनें उनलाई नेकपा एमालेका एकवालद मियाँ ११ हजार ५ सय ५५ मतसहित पछ्याईरहेका छन् ।

यसैगरी कैलाली ३ बाट चुनाव लडेका पूर्व श्रममन्त्री गौरीशंकर चौधरी पराजित भएका छन् । नेकपा विभाजनपश्चात माओवादी केन्द्रमा नगई नेकपा एमालेमै रहेका चौधरीले ९ हजार ८ सय ७४ मत प्राप्त गरे । सो निर्वाचन क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले २३ हजार १ सय २० मत प्राप्त गरी विजयी भए ।

पूर्व श्रममन्त्री रमेश लेखक सुदुरपश्चिमको कञ्चनपुर क्षेत्र नम्वर ३ बाट प्रतिस्पर्धामा छन् । यो समाचार तयार पार्दा नेपाली काँग्रेसका नेता लेखक २० हजार ५ सय २ मतसहित पहिलो स्थानमा छन् । उनलाई नेकपा एमालेका निरुदेवी पालले १३ हजार १ सय ४५ मतसहित पछ्याईरहेकी छन् ।

पूर्व श्रममन्त्री दिपक बोहोरा रुपन्देही ३ बाट चुनाव लडेका छन् । उनको प्रतिस्पर्धा सत्ता गठवन्धनका साझा उम्मेदवार समेत रहेका गृहमन्त्री बालकृष्ण खाँडसँग रहेको छ । यो समाचार तयार पार्दा बोहोरा दोश्रो स्थानमा छन् । सो क्षेत्रमा नेपाली काँग्रेसका नेता खाँड ७ हजार ३ सय ३८ मत सहित पहिलो स्थानमा छन् भनें बोहोराले ६ हजार ९ सय २३ मत प्राप्त गरेका छन् ।

नेपाली काँग्रेसका नेता तथा पूर्व श्रम राज्यमन्त्री टेकबहादुृर गुरुङ मनाङबाट निर्वाचित भएका छन् । तर फौजदारी अभियोगमा मुद्दा चलिरहेका गुरुङ निर्वाचित भएपनि सो मुद्दा किनारा नलागेसम्म संसद प्रवेश गर्न पाउने छैनन् ।

पूर्व श्रममन्त्री मोहम्मद अफताव आलम व्यक्ति हत्याको अभियोगमा जेलमा छन् । यसैगरी पूर्व श्रममन्त्री रामेश्वर राय यादव चुनाव नलड्ने भन्दै पछि सरेका थिए भनें फरमुल्लाह मन्सुर पनि यसपटक चुनावी प्रतिस्पर्धामा छैनन् । पूर्व श्रममन्त्रीहरु सरिता गिरी, कुमार वेल्वासे लगायतका नेता यसपटकको चुनावमा या त उम्मेदवार छैनन् वा उम्मेदवार भएपनि उनीहरु प्रतिस्पर्धामा छैनन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय