‘सकिएको छैन कतारमा सुरु गरिएको श्रम सुधार’

कतारमा विश्वकप फुटवल प्रतियोगिता सुरु हुनु एक महिना बाँकी हुँदा पनि आप्रवासी श्रमिकहरु माथिको दुव्र्यवहार नरोकिएको र उनीहरुले पाउनु पर्ने क्षतिपूर्ति लगायतका रकम पाउन नसकेको मानवअधिकारवादी संस्थाहरुले बताएका छन् । एम्नेष्टि ईन्टरनेशनल, ह्यूमन राइट्स वाच र फेयर स्क्वायरले कतारमा सुधार अझै बाँकी नै रहेको बताएका हुन् ।

एम्नेस्टी इन्टरनेसनल एक विज्ञप्ति जारी गर्दै कतारी अधिकारीहरूले आफूले वाचा गरेका श्रम सुधारहरूलाई पूर्ण रूपमा पूरा गर्न अहिल्यै र विश्वकप प्रतियोगित सकिएपछि भएपनि पुन: प्रतिबद्ध हुनुपर्ने जनाएको छ । खेल सुरू हुन केबल एक महिना बाँकी रहँदा उक्त मानवअधिकार संस्थाले फिफा र कतारलाई दुव्र्यवहारमा परेका आप्रवासी श्रमिकहरूको लागि क्षतिपूर्ति कोष स्थापना गर्न पुन: आह्वान गरेको हो ।
सन् २०१७ देखि कतारले आफ्नो श्रम प्रणालीमा ल्याएको परिमार्जनले देशका २० लाख आप्रवासी श्रमिकहरूको लागि केही देखिने उल्लेखनीय सुधारहरू ल्याएको एम्नेष्टिको भनाई छ । यद्यपि, प्रभावकारी कार्यान्वयनको अभावले आप्रवासी श्रमिकहरूमा सो सुधारले धेरै प्रभाव पार्न नसकेको एम्नेष्टिको भनाई छ । विश्वकप प्रतियोगिताका लागि कार्यरत विभिन्न परियोजनाका हजारौं श्रमिकहरूले अझै पनि तलब नपाउने वा ढिला गरी पाउने, आरामका लागि छुट्टी नपाउने, असुरक्षित अवस्थामा काम गर्नुपर्ने, काम परिवर्तन गर्नमा अवरोधहरू तथा न्यायमा सीमित पहुँचको सामना गरिरहेको दावी एम्नेष्टिको छ । अर्कोतिर हजारौं श्रमिकहरूको मृत्युको अनुसन्धान हुन नसकेको जनाइएको छ ।

“पछिल्ला पाँच वर्षमा कतारले श्रम अधिकारमा महत्त्वपूर्ण फड्को मारेको भए पनि एकदम स्पष्ट के छ भने सुधारको दिशामा अगाडि तय गर्नुपर्ने अझै धेरै लामो दूरी छ । कानुनमा भएका छिद्रहरू तथा कानुनको अपर्याप्त कार्यान्वयनका कारण हजारौं श्रमिकहरू अझै शोषण र दुव्र्यवहारको परिचित चक्रमा फसिरहेका छन” एम्नेस्टी इन्टरनेसनलका आर्थिक र सामाजिक न्याय प्रमुख स्टिभ ककबर्नले भनेका छन ।
“विश्वकप नजिकिँदै गर्दा, आप्रवासी श्रमिकहरूलाई शोषणबाट जोगाउने कार्य आधा मात्र पूरा भएको छ भने दुव्र्यवहार भोगेकाहरूलाई क्षतिपूर्ति दिने कार्यको केवल सुरूवात मात्र भएको छ । दीर्घकालमा यस अवस्थाको सुधारका लागि कतार प्रतिबद्ध हुनुपर्ने अत्यावश्यक छ । विश्वकपको प्रचार प्रसार र प्रसारण दोहाबाट सकिएपछि पनि त्यहाँ सुरू गरिएका प्रगतिहरू रोकिनु हुँदैन” विज्ञप्तीमा भनिएको छ ।

गएको महिना, एम्नेस्टी इन्टरनेसनलले गरेको विश्वव्यापी सर्वेक्षणले विश्वकप २०२२ तयारीका क्रममा पीडित भएका आप्रवासी श्रमिकहरूको क्षतिपूर्तिको लागि आम जनमानस र फुटबल प्रशंसकहरू दुवैको व्यापक समर्थन रहेको देखिएको थियो । अनुसन्धानबाट प्राप्त भएका तथ्यहरूले, एम्नेस्टी इन्टरनेसनल लगायतका मानवअधिकार संस्थाहरूको एक संजाल, प्रशंसक समूहहरू र ट्रेड युनियनहरूले सन् २०२२ को मे महिनामा सुरू गरेको पेअपफिफा अभियानलाई समर्थन गर्छ जसले फिफा र कतारी अधिकारीहरूलाई क्षतिपूर्ति दिन र भविष्यमा हुने दुव्र्यवहारहरू रोक्नको लागि एक विस्तृत क्षतिपूर्ति कार्यक्रम स्थापना गर्न आह्वान गरेको छ एम्नेष्टि ईन्टरनेशनलद्दारा जारी विज्ञप्तीमा भनिएको छ ।

“आप्रवासी श्रमिकहरूलाई क्षतिपूर्ति प्रदान गर्ने सवालमा प्रशंसक, फुटबल संगठन र प्रायोजकहरूका बीच ठूलो र बढ्दो समर्थन भए पनि कतार र फिफा भने यस सवालमा अझै हलचल गरिरहेका छैनन्। अब एक महिना मात्र बाँकी हुँदा सही कार्य गर्न उनीहरूका लागि समय छोट्टिँदै गइरेहेको छ,” स्टिभ ककबर्नले भने ।

कतारले सन् २०१७ देखि लागू गरेका सुधारहरूमा घरमा काम गर्ने घरेलु श्रमिकहरूको लागि काम गर्ने अवस्थाहरू नियमन गर्ने कानुन, न्यायमा पहुँच सहज गर्नका लागि श्रम न्यायाधिकरण, तिर्न बाँकी ज्यालाको भुक्तानीलाई सहयोग गर्न एक कोष र न्यूनतम पारिश्रमिक समावेश छ । कतारले मानवअधिकारका दुईवटा प्रमुख अन्तर्राष्ट्रिय महासन्धिहरूलाई अनुमोदन पनि गरेको छ तर आप्रवासी श्रमिकहरूको ट्रेड युनियनमा सामेल हुने अधिकारलाई भने मान्यता दिएको छैन । कतार विश्वकप प्रतियोगिताको आयोजक निकाय सुप्रिम कमिटीले पनि सुदृढ श्रम मापदण्डहरूको थालनी गरेको थियो तर ती मापदण्डलाई आधिकारिक प्रतियोगिता स्थलहरू जस्तै रंगशालामा मात्र लागू गरिएको थियो र यसले विश्वकप प्रतियोगितका लागि आवश्यक परियोजनाका एकदमै सानो संख्याको श्रमिकहरूलाई मात्र समेटेको छ जुन कतारको श्रमशक्तिको केवल दुई प्रतिशत मात्र हुन आउँछ ।

जबर्जस्ती श्रम र रहस्यमय मृत्युहरू
कतारमा विश्वकप र गैर–विश्वकपसँग सम्बन्धित परियोजनाहरूमा आप्रवासी श्रमिकहरूले उल्लेखनीय रूपमा दुव्र्यवहारको सामना गरिरहेका छन् । विशेष गरेर घरेलु र सुरक्षा क्षेत्रहरूमा धेरै श्रमिकहरू अझै पनि जबर्जस्ती श्रमकै अवस्थामा पर्ने खालको श्रम अवस्थाबाट गुज्रिरहेका छन् र घरेलु श्रमिकहरू अझै पनि सामान्यतया: दिनको १४ देखि १८ घण्टासम्म हप्ताको एक दिन पनि बिदा नलिई निजी आवासहरूमा एक्लिएर काम गर्न बाध्य छन् ।

सुरक्षा गार्डहरूलाई बारम्बार आफ्नो आरामको लागि छुट्टीको सुविधाबाट वञ्चित गरिएको छ र उनीहरूलाई तलब मनोमानी रूपमा काट्ने वा कहिलेकाहीँ राहदानी नै जफत गर्ने जस्ता दण्डको धम्कीमा काम गर्न बाध्य पारिएको एम्नेष्टिको भनाई छ । यस्ता कार्यहरू कतारी कानुनको उल्लङ्घनमा पर्दछन् ।

विगतको दशक र त्यसपछ विश्वकपसँग सम्बन्धित परियोजनाहरू वा अन्य सन्दर्भमा भएका हजारौं आप्रवासी श्रमिकहरूको मृत्युका कारणहरू अझै अस्पष्ट छ । कम्तीमा पनि यीमध्येका सयौं मृत्युको कारण अत्यधिक गर्मीमा काम गर्दाको परिणाम हुनसक्दछ । तापक्रम सम्बन्धी नयाँ कानुन एउटा सुधार हो तर यसलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन र बाहिरी वातावरणमा काम गर्ने श्रमिकहरूलाई पर्याप्त सुरक्षा दिनका लागि अझै सुदृढ पारिनुपर्दछ । अधिक तापक्रमले स्वास्थ्यमा ठूलो जोखिम निम्त्याउने स्पष्ट प्रमाण भएतापनि कतारी अधिकारीहरूले अनुसन्धान गर्न, आप्रवासी श्रमिकहरूको मृत्यु प्रमाणित गर्न वा क्षतिपूर्ति प्रदान गर्न अन्तर्राष्ट्रिय सर्वोत्तम अभ्यास विपरीत थोरै मात्र आवश्यक कार्य गरेको एम्नेष्टिद्दारा जारी विज्ञप्तीमा भनिएको छ ।

पीडित परिवारको लागि यो एउटा गम्भीर भावनात्मक आघात मात्र नभई परिवारको हातमुख जोहो गर्ने मूख्य व्यक्तिलाई गुमाउनु परेको अवस्था हो जसमा आर्थिक क्षतिपूर्ति प्रदान नगर्दा धेरै परिवारहरू अझ झनै गरिबीमा धकेलिन पुगेका छन्
अन्तर्राष्ट्रिय कानुनअन्तर्गत मौलिक अधिकारको रूपमा प्रत्याभूत गरिएको भएतापनि त्यसको विपरीत आप्रवासी श्रमिकहरू कतारमा ट्रेड युनियनहरू गठन गर्न वा त्यसमा सामेल हुन पाउँदैनन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय