वैदेशिक रोजगारको अनुभव लेख्ने तीनजना प्रवासी श्रमिक पुरस्कृत

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले आयोजना गरेको वैदेशिक रोजगारको अनुभव लेखन प्रतियोगिताका तीनजना विजयीलाई काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरिएको छ । विजयीहरुलाई जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरे ।

जिफन्टको सभाहलमा आयोजित कार्यक्रमका बीच अनुभव लेखन प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्न सफल धनराज लक्सम लिम्वू, द्दितिय पुरस्कार प्राप्त गर्न सफल अञ्जन पोखरेल तथा तेश्रो पुरस्कार प्राप्त गर्ने सुवास निरौलालाई पुरस्कार हस्तान्तरण गरिएको हो । पहिलो पुरस्कार जित्न सफल लक्सम हाल साउदी अरवमा कार्यरत छन् भने तेश्रो पुरस्कार विजयी निरौल हाल कतारमा कार्यरत छन् । उनीहरुको पुरस्कार प्रतिनिधिहरुले ग्रहण गरेका थिए । दोश्रो पुरस्कार जित्न सफल पोखरेल भनें साउदी अरवमा एक दशक भन्दा बढी समय रोजगारी गरेर स्वदेश फर्केका हुन् ।

अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आइटीयूसी) को सहकार्यमा सञ्चालित रिक्रुटमेण्ट एडभाइजर परियोजना मार्फत आयोजित सो प्रतिस्पर्धामा पहिलो हुनेले नगद रु. २५ हजार तथा प्रमाणपत्र, दोश्रो हुनेले नगद रु १५ हजार तथा प्रमाणपत्र र तेश्रो हुनेले नगद १० हजार सहित प्रमाणपत्र प्राप्त गरेका हुन् ।

पुरस्कार हस्तान्तरण समारोहमा बोल्दै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले जहाँ श्रमिक त्यहाँ जिफन्टको नारा सहित जिफन्टले दुई दशक अगाडी देखि नै प्रवासी नेपाली श्रमिकको हक र अधिकार संरक्षणका लागि काम गर्दै आएको बताए । उनले वैदेशिक रोजगारमा जानेहरुमाथि आफ्नै देशबाट शोषण सुरु हुने भन्दै त्यसलाई रोक्नेगरी पहल गरिनुपर्ने बताए । नेपालीले नेपालीलाई ठग्ने कामलाई रोक्न सकिएमा आधा समस्या कम हुने भन्दै अध्यक्ष श्रेष्ठले पसिना बगाएर काम गर्ने श्रमिकले दु:ख पाउनु नहुने धारणा राखे । उनले अनुभव लेखन मार्फत वैदेशिक रोजगारमा गएकाहरुले अव जानेहरुलाई सुसुचित गर्न सक्ने भन्दै वैदेशिक रोजगारीबाट फर्केकाहरुले स्वदेशमा नै उद्यमशीलता विकासमा अवशर खोज्नुपर्ने बताए ।

सो अवशरमा जिफन्टका उपाध्यक्ष तथा निर्णायक मण्डलका सदस्य विदुर कार्कीले पुरस्कार छनौटमा अपनाइएको मापदण्ड, प्राप्त भएका अनुभवहरु लगायतका विषयमा स्पष्ट पारेका थिए । पुरस्कार छनौटका लागि जिफन्टका उपाध्यक्षहरु गुणराम आचार्य, विदुर कार्की र सीता लामा रहनु भएको निर्णायक मण्डल गठन गरिएको थियो ।

यसैगरी रिक्रुटमेण्ट एडभाइजरका दक्षिण एसिया संयोजक सुनिल न्यौपानेले सो परियोजना मार्फत गर्दै आएको काम, प्रतियोगिता आयोजनाको उद्देश्य लगायतका विषयमा धारणा राखेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय