नयाँ श्रममन्त्रीमा कुँवर : भीम रावल छोडेर माधव नेपालको साथ

शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त भएका छन् । सत्ता साझेदार दल नेकपा(एकिकृत समाजवादी) को सिफारिसमा उनी मन्त्री भएका हुन् । नेकपा (एकिकृत समाजवादी) ले गरेको निर्णय निक्कै लामो समयपछि कार्यान्वयनमा आएको हो । नवनियुक्त मन्त्रीहरुको शपथ भोली अर्थात सोमवार हुनेछ ।

एकिकृत समाजवादीले आफ्नो पार्टीको तर्फबाट प्रतिनिधिन्व गर्दै सरकारमा रहेका सवै मन्त्रीहरुलाई फिर्ता बोलाई मन्त्रीको नयाँ सेट पठाउने निर्णय गरेको थियो । तर सो पार्टीको तर्फबाट सरकारमा प्रनिधित्व गर्ने मन्त्रीहरुको आनाकानी र सरकारको बजेट पारित गर्नुपर्न दवावबीच नयाँ मन्त्रीहरुको नियुक्ति अन्यौलमा परेको थियो । पार्टी निर्णय कार्यान्वयन नभएको भन्दै पार्टीका सम्मानित नेता झलनाथ खनाल लगायतको असन्तुष्टि र गठवन्धनमा बसिरहन नहुने भन्दै दवाव बढिरहेपछि अन्तत: कुँवर सहित नयाँ मन्त्रीहरु नियुक्त भएका हुन् ।

को हुन् नयाँ श्रम मन्त्री ?
नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कुँवर यस अगाडी राष्ट्रिय सभामा साँसद थिए । उनी २०७४ सालमा नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभामा पठाइएका थिए । कुँवर गैरसाँसद हुन् ।

२०६४ सालको संविधान सभा निर्वाचनमा अछाम १ बाट उनी निर्वाचित भएका थिए । नेकपा एमालेका तत्कालिन प्रभावशाली नेता भीम रावललाई आफ्नो अगुवा मान्ने कुँवरले पछि सो क्षेत्र उनलाई छोडेका हुन् । वि.सं. २०७० र ०७४ सालको चुनावमा रावललाई प्रत्यक्षतर्फ लड्न अछाम १ को प्रतिस्पर्धा छोडेर वि.सं. २०७० सालमा कुँवर समानुपातिक सूचिमा बसेका थिए । रावल र कुँवरको राजनीतिक सहकार्य वि.सं. २०४५ सालदेखि नै सुरु भएको थियो । काठमाडौँमा रहँदा रावलसँग निरन्तर सम्पर्क भएसँगै उनीहरुबीच राजनीतिक घनिष्टता सुरु भएको थियो ।

वि.सं. २०३९ सालमा विद्यार्थी राजनीतिबाट कम्युनिष्ट पार्टीमा होमिएका कुँवर अनेरास्ववियु अछाम जिल्ला अध्यक्ष समेत भइसकेका छन् । अछामको चौरपाटी गाउँपालिका–४ मा जन्मिएका उनी २०४७ सालमा बहुदल आएपछि गृहजिल्ला फर्केका हुन् । राजनीतिक संघर्षका क्रममा उनी २०४६ को जनआन्दोलन र २०६२–६३को जनआन्दोलन–२ मा पक्राउ परी हिरासतमा रहेका थिए ।

कुनै बेला कुँवर अछाममा रावलका विश्वासपात्र मानिन्थे । तर नेकपा एमालेको विभाजनसँगै रावल र कुँवरको तीन दशक लामो राजनीतिक सहयात्रा पनि टुटेको छ । माधव नेपाललाई नयाा पार्टी खोल्न प्रेरित गरेर अन्तिम विन्दुमा पुगेर धोका दिएको भन्दै कुँवरले रावलको आलोचना गर्ने गरेका छन् । अछाममा बलियो जनाधार बनाएका र संगठन निर्माणमा खटेका कुँवर र रावलबीच आगामी निर्वाचनमा अछाम १ मा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

वि.सं. २०४९ सालमा एमाले जिल्ला कमिटीको सचिवालय सदस्य भएका कुँवर वि.सं. २०५४ सालमा उपसचिव, वि.सं. २०६२ मा सचिव हुदै वि.सं. २०६९ देखि जिल्ला अध्यक्षको रुपमा काम गरेका थिए । अहिले माधव कुमार नेपाल नेतृत्वको नवगठित एकीकृत समाजवादी पार्टीको जिल्ला नेतृत्व कुँवरले सम्हालिरहेका छन् ।

मन्त्री कुँवरले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक तहसम्मको अध्ययन गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय