विदेशमा चोला उठेपछि बन्द बाकसमा काठमाडौं उत्रिएको छ एउटा लाश । हरेक दिनजसो काठमाडौंमा उत्रिने लाशहरु झैं यसको पनि आफ्नै कथा छ । फरक यत्ति छ ‘हार्टफेल’ भएर बाकसमा बन्द भएको त्यो लाशले काठमाडौंदेखि बाजुराको यात्रा असाध्यै सकसपूर्ण समयमा गर्नुछ । त्यहि सकस अनी बाकसभित्र चिसिएको मान्छे र उसकै नाममा बाँचिरहेको तातो मान्छेबीचको सम्वन्धको कथा भन्छ चलचित्र चिसो मान्छेले । यसमा वैदेशिक रोजगारको कथा धेरै छैन । छ त केवल एउटा रातो वाकस । तर वैदेशिक रोजगारमा जानेहरु र उनीहरुलाई पर्खेर बस्नेहरुबीचको सम्वन्धलाई रातो बाकस मार्फत प्रष्ट्याउने काम पनि भएको छ ।
लाश बोकेको गाडी देखेपछि भात खान नदिने होटल देखि गाउँ पुग्नै लाग्दा बाटो छेक्नेहरुको तमासाले भरिएको छ चलचित्र । समग्रमा विहे गरेर परदेशिएको खसमसँग केवल सिन्दुरको नाताको बन्धन देखि कोभिडकालमा गाउँमा खेपेको हैरानीसम्मका कुरालाई समेटेको छ चिसो मान्छेले, एकदमै सामान्य रुपमा ।
चलचित्र हेर्दा खास केहि छैन । खास लाग्छ यसका पात्रको अग्र्यानिक अभिनय । विषयवस्तु खास केहि छैन । गाडी चलिरहन्छ, चलिरहन्छ सिनेमाभरी । तर त्यहि गाडीसँगै नेपाली समाजले भोगेको एउटा कालखण्ड सजिव बनेर दौडिरहन्छ एउटा दस्तावेज बनाउँदै । र, वैदेशिक रोजगारमा रहेकाहरुलाई पनि च्वास्स घोच्ने सन्देश छ चलचित्रमा ।
तपाई राजेश हमाल, अनमोल केसी मार्काको सिनेमाको पारखी हो भनें सिनेमा हल पस्दै नपसेको बेस । न त्यहाँ द्दन्दका बडेमानका दृष्यहरु छन् न त कुनै रोमान्स नै । कथाबस्तु पनि आम दर्शकलाई उति स्वादिलो नलाग्न सक्छ । धेरैजसो समय चुपचाप क्वारक्वारती हेरिरहने पात्रहरु छन् । कुखुरा बोक्ने गाडीको घ्यारघ्यार छ । छोरो गुमाएको एउटा बुढो बाउ, श्रीमान गुमाएकी एउटी रहरै रहरले भरिएकी श्रीमति र कोरोनाले श्रीमति गुमाइसकेको अनी भएको सम्पत्ती पनि गुमाउने डिलमा उभिएको ड्राइभर हुन् सिनेमाका जम्माजम्मी पात्रहरु । लाश गाउँ भित्रियाउन दिने कि नदिने भनेर तम्रा पार्टी र हम्रा पार्टीको ठम्याई सुनाउने राजनीतिक दलका नेताहरुको घम्साघम्सी होस् वा कोभिडको महामारीबीच हात्ति कमाउने दाउ लगाइरहेको प्रहरी होस्, ति सवै चलचित्रका सहायक कुरा हुन् ।
पशुपति प्रसाद, आमा जस्ता चलचित्र बनाइसकेका दीपेन्द्र के खनालबाट नेपाली चलचित्रमा मौलिकपन नै खोजिन्छ, जुन चिसो मान्छेमा पनि छ । मुख्यगरी पात्रहरुलाई सजिव अभिनय गराउने दक्षता, प्रयोग भएको भाषा र उनीहरुले कुरा गर्ने विषयवस्तु सवैले आफ्नो माटो छोएको छ । कोभिडकालमा गाउँ जान भोगेको समस्या छोटो समयको भएपनि जति सकसपूर्ण थियो, त्यसलाई दस्तावेजमा उनेका छन् खनालले । कहिलेकाहिं त चलचित्र हो वा वृत्तचित्र छुट्याउनै नसकिने गरी कथा बुनिएको छ ।
यस चलचित्रले एउटा चिसो मान्छेको कथा भन्छ । एउटा चिसो मान्छेकी श्रीमतिको रहर देखाउँछ । एउटा चिसो मान्छेको बाबु, उसको गाउँ देखाउँछ । र, एउटा चिसो मान्छे गाउँ पुर्याउन हिंडेको ड्राइभर कसरी व्यवसाय टाट पल्टेर गाडीको स्टेरिङ समाउन आइपुग्यो, कोभिडले श्रीमति वितेपछि एउटा शिशु हुर्काउन आइपरेको आपत र काठमाडौं देखि बाजुराको लामो यात्राकै दौरान कसरी त्यहि लाश लिन आएको परिवारकै सदस्य जस्तो बन्न पुग्यो पनि देखाउँछ । विहे गर्ने वित्तिकै वैदेशिक रोजगारमा जानेहरु परिवारसँग बर्षौं टाढा हुँदा कसरी श्रीमान श्रीमतिविच कुनै भावनात्मक सामिप्यता हुन्न भन्ने सन्देश पनि चलचित्रमा देख्न सकिन्छ ।
गाडीमा श्रीमानको लाश छ तर श्रीमतिलाई मासुभात खाने रहर छ । आफ्नो खसम चिसो मान्छे भएर बाकसमा बन्द छ, तर श्रीमतिलाई ट्वाक्क अमिलोपिरो पाउ खाने मन छ । अनी बाटोमा अलपत्र बाकसकै बीच लाश पुर्याउन आएको ड्राइभरसँग तन र मन जोड्ने ईच्छा छ । यसले वैदेशिक रोजगारमा रहेकाहरुको मनमा पनि चिसो पार्छ ।
धेरै नेपाली युवाको अहिलेको वाध्यता बनेको छ बर्षौंको विदेश बसाई । विहे गर्नु अगाडी पनि विदेश, फर्केर विहे गरेर पनि विदेश र बर्षौंसम्म त्यहि शिलशिला जारी नै रहन्छ । दुई वा तीन बर्षमा दुई महिनाका लागि घर फिर्ने र पुन: अरव, मलेसियातिरै अलप हुनेहरुको कथा पनि भनेको छ यस चलचित्रले । नाताले एक भएपनि भूगोलले हजारौं माइल टाढा भएपछि कसरी श्रीमान श्रीमतिबीच केवल सिन्दुरको सम्वन्ध रहन्छ, विहे पछि महिलाको मनमा गुम्सिएर रहने रहर अवसर पाउँदा कसरी छचल्किन्छ भन्ने स–साना विषयहरुलाई जोडिएको छ चलचित्रमा ।
चिसो मान्छे चिसै छ । उम्दा कथा, नायिकालाई प्राप्त गर्न नायकले गर्ने संघर्ष, रसिला गीत र सयौं व्यक्ति सहभागि हुने आकर्षक नृत्यहरु केहि छैन चलचित्रमा । तर समाजले भोगेका केहि विषयवस्तुलाई जोडेर दीपेन्द्र के खनालले आफ्नै माटो टेक्न खोजेका छन् । स्वस्तिमा खड्का, देशभक्त खनाल, अर्पण थापाको जीवन्त अभिनयले भरिएको चलचित्रले मानविय संवेदनाका स–साना पक्षलाई समातेको छ । पछिल्ला केहि बर्षयता नेपाली चलचित्रले हाहाहुहु भन्दा आफ्नै जग टेक्न खोजेको छ जुन यस चलचित्रमा पनि देखिन्छ ।
विषयवस्तुका हिसावले केहि विषय नमिल्दा पनि छन् । विदेशमा ज्यान गुमाउनेका परिवारले लाश गाउँ लैजान पैसा तिर्नु पर्दैन । राज्यले नै गाडी जाने ठाउँसम्म लाश लैजाने व्यवस्था नि:शुल्क गरिदिएको छ । तर यस चलचित्रले सो तथ्यलाई बिर्सेर लाश गाउँ लैजान मोटो रकम तिर्नु परेको देखाएको छ जुन गलत हो । प्राविधिक रुपमा चलचित्र कति उम्दा बनेको छ, विश्लेषण गर्ने जिम्मा सोही क्षेत्रका जानकारहरुको । धेरै ठूलो अपेक्षा नराखि कोभिडकालमा गाउँ फर्किन समेत नेपाली समाजले भोगेको अप्ठ्यारो देखि वैदेशिक रोजगारमा गएर उतै चोला उठ्नेको परिवारको अवस्था हेर्न हलमा जानेहरुलाई कलाकारहरुको मौलिक अभिनयले पक्कै निराश बनाउँदैन ।