सामाजिक सुरक्षालाई प्रभावकारी बनाइनु पर्दछ: महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् । नेकपा एमालेले अगाडी बढाएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई कार्यान्वयन गर्न नेपाली काँग्रेसले आलटाल गरिरहेको भन्दै उनले सो कार्यक्रम लागु हुन नसक्दा सम्पूर्ण श्रमिकलाई हानी पुगिरहेको विचार प्रकट गरे ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले काठमाडौमा आयोजना गरेको राष्ट्रिय अधिवेशन सम्पन्न गरेका यूनियनहरुको योजना बैठकमा प्रमुख अतिथिका रुपमा बोल्दै महासचिव पोखरेलले जति धेरै उत्पादक शक्ति (श्रमजीवि वर्ग) लाई सक्षम बनाउन सकिन्छ, त्यति नै छिटो समाज र मुलुक परिवर्तन हुने बताए । उनले नेकपा एमालेको उद्देश्य श्रमिक वर्गलाई अझ बलियो बनाउँदै लैजाने रहेको पनि बताए ।

पछिल्लो समयमा श्रम बजारमा ठूलो परिवर्तन आइरहेको भन्दै एमाले महासचिव पोखरेलले श्रम बजारमा आउने हरेक श्रमिकलाई कुनै न कुनै प्राविधिक ज्ञान दिन आवश्यक रहेको बताए । यसले उत्पादकत्वमा वृद्दि हुने भन्दै अहिले पनि प्राविधिक शिक्षा भन्दा साधारण शिक्षामा नै नेपालमा जोड दिईंदै आएको र यसमा फेरवदल आवश्यक रहेको उनको भनाई थियो ।

दक्ष श्रमिकसँग धेरै विकल्पहरु हुने र विकल्प भएका श्रमिकहरुले कुनै अन्यायमा पर्दा सम्झौता नगरी संघर्ष गर्न सक्ने भन्दै उनले श्रमिकको विकल्प सहितको सामथ्र्य विकास गर्न मद्दत गर्नुपर्ने खाँचो औंल्याए । महासचिव पोखरेलले श्रमिकलाई सदैव रोजगारीमा मात्र आश्रित नरही आवश्यक पर्दा स्वरोजगार हुन र पुँजी तथा अनुभव आर्जन गरी अरुका लागि रोजगारी उपलव्ध गराउने रोजगारदाता बन्न सक्ने बनाइनु पर्ने दृष्टिकोण राखे ।

अवको समय श्रमजीविहरुको समय हो भन्दै महासचिव पोखरेलले उत्पादन शक्ति र उत्पादन सम्वन्धलाई बलियो बनाउन आवश्यक रहेको बताए । उनले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत विषयलाई बलियो बनाउन उत्तिकै आवश्यक रहेको विचार प्रकट गरे । रोजगारीका अवशरहरुलाई सुनिश्चित गर्न सकेमा मात्र राजनीतिक प्रणाली बलियो हुने भएकाले त्यसतर्फ राज्य सञ्चालन गर्नेहरुको सदैव ध्यान पुग्न आवश्यक रहेको उनको भनाई थियो ।

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले विशिष्ट अतिथिका रुपमा बोल्दै कल्याणकारी व्यवस्थाले मुलुकमा समाजवादको आधार तयार पार्ने भन्दै त्यसका लागि रोजगारी, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाको ग्यारेण्टी गर्नु आवश्यक रहेको बताए । उनले सम्पूर्ण नागरिकलाई रोजगारीको न्यूनतम ग्यारेण्टी गर्न आवश्यक रहेको भन्दै नेकपा एमाले नेतृत्वको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गरेको पनि स्मरण गरे । सवैले पढ्न पाउने व्यवस्था, स्वास्थ्य सुविधा तथा स्वास्थ्य सेवामा पहुँच तथा योगदानमा आधारित सामाजिक सुरक्षा लागु गर्ने काम त्यसैको आधार भएको धारणा राखे ।

जिफन्टका संरक्षक समेत रहेका रिमालले रोजगारदाता र श्रमिकबीचमा सह–अस्थित्व आवश्यक रहेको विचार प्रकट गरे । विगतमा श्रमिक र रोजगारदाता एकले अर्कालाई निषेध गर्ने गरेको भन्दै तर लोकतन्त्र आइसकेपछि आन्दोलनको शैली पनि फेरिएको उनको भनाई थियो । लोकतन्त्रका लागि गरिने आन्दोलन र लोकतन्त्र भित्र गरिने आन्दोलनमा यहि फरक रहेको भन्दै रिमालले लोकतन्त्रमा द्वन्दको समाधान सम्वाद मार्फत हुने विचार प्रकट गरे ।

जिफन्टको लक्ष्यका बारेमा बोल्दै उनले भने, “हामी श्रम गर्नेहरुको अधिकार स्थापित हुने समाज बनाउन चाहन्छौं । राज्य व्यवस्था कस्तो बनाउन चाहन्छौ भन्दा श्रम गर्नेहरुको हकहित गर्ने खालको बनाउन चाहन्छौं ।” यसैगरी जिफन्टले सदैव सुदृढ र एकतावद्द संगठन बनाउन चाहेको भन्दै जिफन्टका संरक्षक समेत रहेका रिमालले जिफन्ट र यसमा आवद्द संगठनहरु सामान्यतया सुदृढ र एकतावद्द नै रहेको र यसलाई थप सुदृढ तथा एकतावद्द बनाउन सुझाव दिए ।

श्रम बजारमा अहिले जिफन्टका दुईथरी प्रतिस्पर्धीहरु रहेको भन्दै रिमालले एकथरी स्थायी खालका प्रतिस्पर्धी र अर्काखाले रिमिक्स गरिएकाहरु वा टिकटकमा गित गाउने र नाँच्नेहरु जस्तै क्षणिक रहेको बताए । रिमिक्सवाला प्रतिस्पर्धीहरुको कुनै जनाधार नरहेको भन्दै समयक्रमसँगै ति आफैं हराएर जाने उनको भनाई थियो । स्थायी प्रतिस्पर्धीहरुसँग अझ श्रेष्ठ भएर आफूलाई अव्वल सावित गर्दै सदस्य विस्तार गर्न आवश्यक रहेको उनले बताए ।

जिफन्टको अभियान भनेको सदैव अव्वल हुने अभियान हो भन्दै रिमालले श्रम क्षेत्रका विषय, नीतिहरुलाई कसैले हेर्दा जिफन्ट र उसका सदस्य यूनियनहरुको आँखाबाट हेर्नुपर्ने बनाइनु आवश्यक रहेको धारणा राखे । “समग्रमा नेपालको श्रम क्षेत्रलाई संसारले हेर्दा जिफन्टको आँखाबाट हेर्नुपर्यो” जिफन्टका निवर्तमान अध्यक्ष समेत रहेको रिमालको जोड थियो ।

जिफन्टले अव गर्नुपर्ने कामहरुको बारमा व्याख्या गर्दै रिमालले पाँच वटा महत्वपूर्ण कामहरु गर्न सक्नुपर्ने बताए । उनले अधिकार, पहुँच, समानता, सामाजिक न्याय, सुरक्षा र सम्मान ति पाँच वटा विषय रहेको स्पष्ट पारे । “पहिलो कुरा सवैलाई अधिकार, दोश्रो सवैलाई अवशरमा पहुँच, तेश्रो समानता जसका लागि हामी लड्नु पर्यो, चौथो सामाजिक न्याय तथा पाँचौ सुरक्षा र सम्मान हुनु पर्दछ” रिमालले भने । यसलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परिपूर्ण लोकतन्त्रको पाँचवटा आधार भन्ने गरेको उनको भनाई थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय