‘राजनीतिक दलहरुले वर्गलाई विर्सिए, समावेशी कोटामा व्यापारी जिताए’

नेपालका राजनीतिक दलहरुले वर्गलाई विर्सिएको नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का अध्यक्ष बिनोद श्रेष्ठले बताएका छन् । उनले राजनीतिक दलका चुनावमा समावेशी कोटामा धनीले चुनाव जित्ने परिपाटी विकास भएको भन्दै त्यसले समावेशी सिद्दान्तलाई प्रोत्साहित नगर्ने धारणा राखेका छन् । नेपाली काँग्रेसको महाधिवेशनमा समावेशी कोटामा धनीहरु निर्वाचित भएको दृष्टान्त प्रस्तुत गर्दै श्रेष्ठले त्यहाँ श्रमिकको प्रतिनिधित्व भनें नभएको धारणा राखे ।

जिफन्टद्दारा आयोजित बागमति प्रदेश स्तरीय महिला भेलालाई सम्वोधन गर्दै अध्यक्ष श्रेष्ठले जिफन्ट सदैव महिलाको प्रतिनिधित्व बढाउनु पर्दछ भन्ने विषयमा अडिग रहेको बताए । उनले जिफन्टको हरेक संरचनामा ५१ प्रतिशत महिला प्रतिनिधित्व हुनु पर्दछ भन्नेमा सहमत रहेको भन्दै त्यसका लागि यूनियनमा महिलाको सदस्य संख्या वृद्दिमा पनि उत्तिकै मेहनत गर्न आवश्यक रहेको धारणा राखे । उनले नेपालमा पहिलो पटक संगठनमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत गर्ने जिफन्ट नै रहेको भन्दै त्यसपछि मात्र नेपालको संविधानमा त्यसको ग्यारेण्टी गरिएको बताए । हाल जिफन्टको राष्ट्रिय कमिटीमा झण्डै ४० प्रतिशत महिला प्रतिनिधित्व रहेको भन्दै उनले जिफन्टले महिलाको आलंकारिक सहभागिता नभई बलियो प्रतिनिधित्वको ग्यारेण्टी गरेको बताए ।

जिफन्ट अध्यक्ष श्रेष्ठले सेवा, उत्पादन र अनौपचारिक तीनवटै क्षेत्रमा जिफन्ट सशक्त रुपमा प्रस्तुत हुन आवश्यक रहेको भन्दै त्यसका लागि नियमित प्रशिक्षणले भूमिका खेल्ने बताए । पछिल्लो समयमा स्वरोजगार क्षेत्र निक्कै ठूलो क्षेत्रका रुपमा विकास भइरहेको, त्यसमा महिलाको संलग्नता धेरै देखिएको भन्दै अध्यक्ष श्रेष्ठले उनीहरुलाई पनि ट्रेड यूनियन आन्दोलनमा जोड्दै लैजान आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यक्रममा जिफन्ट महासचिव जनक चौधरीले परिवर्तित श्रम बजारमा कार्यस्थलमा के परिवर्तन भएको छ र त्यो परिवर्तनले रोजगार सम्वन्धमा कस्तो फेरवदल आएको छ भन्ने विषयमा छलफल गर्न भेला आयोजना गरिएको बताए ।

कार्यशालाका रुपमा आयोजना गरिएको भेलामा दुईवटा समूह निर्माण गरी विषयगत छलफल गरिएको थियो । जिफन्ट उपाध्यक्ष विदुर कार्की तथा जिफन्ट बागमति प्रदेश अध्यक्ष रामहरि नेपालले सहजिकरण गरेको समूह छलफलका सहभागिहरुले अनौपचारिक क्षेत्रका श्रमिकहरुको पञ्जिकरण र उनीहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा जोड्न आवश्यक रहेको धारणा राखेका थिए । यसैगरी कतिपय कारखाना तथा प्रतिष्ठानहरुमा श्रमिक आपूर्तिकर्ता कम्पनीहरुको शोषण चर्को भएको, श्रमिकले श्रमिक आपूर्तिकर्ता र मुख्य रोजगारदातावीच फरक छुट्याउन नसकेको, काम अनुसारको ज्याला प्राप्त गर्न नसकेको समस्याका बारेमा जानकारी गराएका थिए ।

समूह छलफलमा सहभागिहरुले महिला श्रमिकलाई समान काम गराएपनि समान ज्याला नदिइएको, समान ज्यालाको माग राखेकै कारण थप शारिरीक दु:ख हुने काम गर्न बाध्य पारिएको बताए । यसैगरी कोभिड १९ का कारण स्वरोजगार तथा लघुउद्यमको क्षेत्रमा काम गर्नेहरुले भोग्नु परेको समस्या, स्वास्थ्य स्वयंसेविकाहरुले भोग्दै आएको समस्या र प्राप्त उपलव्धिका विषयमा पनि सहभागिहरुले चर्चा गरेका थिए ।
जिफन्टका सदस्यहरुलाई समग्र श्रम कानुनका विषयमा बुझाउन तथा जिफन्टले गर्दै आएका कामहरुको बारेमा जानकारी दिन र स्थानीय स्तरमा रहेका क्षेत्रगत समस्या पहिचान गर्दै तिनको समाधानका लागि पहल पैरवी गर्न यस्ता भेलाहरु अन्य प्रदेशहरुमा पनि आयोजना गरिने जिफन्ट महासचिव जनक चौधरीले जानकारी दिएका छन् । भेलामा जिफन्ट आवद्द विभिन्न यूनियनहरुका झण्डै ५० जना प्रतिनिधिहरु सहभागि थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: