महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि नेतृत्व विकास तालिम

महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि नेतृत्व विकास सम्वन्धि दुई दिनको तालिम सम्पन्न भएको छ । पिएसआईको आयोजनामा सञ्चालित सो तालिममा काठमाडौं उपत्यका तथा उपत्यका बाहिरका गरी ३० जना सहभागि थिए ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि कार्यरत दुईवटा यूनियनहरु हिभोन र नेभाका सदस्यहरुको क्षमता अभिवृद्दिका लागि आयोजित सो तालिममा ट्रेड यूनियनको महत्व, संगठन कसरी निर्माण गर्ने, कुशल संगठक कसरी बन्ने लगायतका विषयमा तालिम दिइएको थियो ।

सहभागितामूलक ढंगमा आयोजित सो तालिममा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का उपाध्यक्ष मञ्जु थापामगर तथा नेपाल ट्रेड यूनियन काँग्रेसका बलदेव तामाङले प्रशिक्षण दिएका थिए ।

तालिमका बारेमा जानकारी दिंदै पिएसआई, नेपालकी परियोजना संयोजक जेनी जैनले युनियनका सदस्यहरुलाई सदस्यता अभिवृद्दिका लागि यस्तो तालिमले मद्दत पुग्ने अपेक्षा प्रकट गरिन् । उनले अझै पनि धेरै स्वास्थ्य स्वयंसेविकाहरुलाई यूनियनको सदस्य बनाउन आवश्यक रहेको भन्दै त्यसका लागि कुशल संगठकहरुको आवश्यकता बोध गर्दै पिएसआईले सो तालिम आयोजना गरेको बताइन् ।

तालिम पश्चात हिभोनकी अध्यक्ष रिता भुजेलले तालिमले श्रमिक भनेको के हो ? श्रमिकका अधिकारहरु के हुन् र कसरी संगठन विस्तार गर्ने विषय तालिमले सिकाएको बताइन् । उनले तालिमको सिकेको ज्ञानलाई व्यवहारमा उतार्न पनि आग्रह गरिन् ।

नेभाकी अध्यक्ष शारदा पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाहरुले धेरै दु:ख कष्ट सहेर अहिलेको अवस्थामा आइपुगेको भन्दै अझ धेरै अधिकार प्राप्तीका लागि एकतावद्द हुन आवश्यक रहेको धारणा राखिन् । उनले स्वास्थ्य स्वयंसेविकाहरुको अधिकारका लागि हिभोन र नेभा दुवै यूनियनहरु मिलेर अगाडी बढीरहेको भन्दै विगतमा भन्दा अहिले केहि प्राप्त गरेको तर यसैमा सन्तोष मानेर भनें बस्न नहुने धारणा राखिन् ।
यसैगरी नेभाकी भवानी अधिकारीले पनि यस्तो तालिमले आफूहरुलाई पहिले सिकेका ज्ञानलाई पुनर्ताजगी गर्न र नयाँ कुरा सिक्न मद्दत गरेको धारणा राखिन् । उनले यसले संगठकहरुलाई झक्झक्याउने भन्दै यसले सदस्यता विस्तारमा मद्दत गर्ने विचार प्रकट गरिन् ।

पिएसआईले नेपालका स्वास्थ्य स्वयंसेविकाहरुलाई उनीहरुको अधिकार प्राप्तीका लागि विभिन्न तालिमहरु तथा अभियानहरु सञ्चालनमा सहयोग गर्दै आएको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदानका कारण नै नेपालमा मातृ मृत्युदर तथा बालमृत्युदरमा उल्लेख्य कमी आएको यस क्षेत्रका विज्ञहरु बताउँछन् । जनस्वास्थ्य विज्ञ भोगेन्द्र डोटेलले खोपमा पहुँच वृद्दि, विभिन्न रोगहरुको निवारणमा सरकारले चलाएका अभियानहरु सफल पार्न स्वास्थ्य स्वयंसेविकाहरुले उल्लेखनिय भूमिका खेलेको बताउँछन् । समुदायस्तरमा स्वास्थ्य सेवा पुर्याउन तथा स्वास्थ्य संस्था र आमनागरिक वीच पुलको काम गर्ने गरी २०४५ साल देखि सरकारले महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम लागु गरेको हो । नेपालमा हाल झण्डै ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाहरु कार्यरत छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय