घरेलु श्रमिकको आवाज सुन

सुनिल न्यौपाने
कैलालीकी २१ बर्षिय एक महिला चार वर्षअगाडी भारतको बाटो हुँदै्र घरेलु कामदारका रूपमा काम गर्न कुवेत पुगिन् । नेपालमा हुँदा भनिएजस्तो न उनले तलव पाइन् न काम । दुई बर्षमा बल्ल तल्ल उनी फर्किईन् । तर जाँदा जस्तो फर्किन सजिलो भएन ।

काम गर्ने घरमा कैदीको जस्तै जीवन विताईरहेकी उनलाई घर फर्किन पाउने आशा नै मरिसकेकी थियो । तर एकदिन अचम्मै भयो । मालिक घर फर्किदा असाध्धै खुशी थिए, त्यहि मौकामा उनले घरमा आमा विरामी छन् नेपाल गएर आउँछु भन्दा मालिकले हुन्छ भनिदिए । उनलाई त्यतिबेलासम्म विश्वास थिएन जतिबेलासम्म उनको हातमा टिकट र पाउन बाँकी रकम हातमा परेन । भारतको दम्बोलीमा दलालको दोश्रो किनबेचमा परेकी उनी कुवेत पुगेर दुई बर्ष कष्टका साथ काम गरेपछि नेपाल फर्किन पाइन्, त्यो पनि साथमा डेढ लाख नेपाली रकम बोकेर । यद्यपी स्वदेश फर्किन पाउनुलाई नै उनले ठूलो उपलव्धी मानेकी छन् ।

भारतको बाटो भएर वैदेशिक रोजगारीमा गएर कष्ट खेप्ने उनी एउटा पात्र मात्र हुन् । उनीजस्तै सयौं व्यक्ति सरकारले वैधानिक बाटो बर्षौंदेखि बन्द गरेर बसेको समस्या खेपिरहेका छन् । सरकारले सन् १९९८ यता पटक पटक कहिले सिमित समयका लागि खोल्ने र बन्द गर्ने गरेका कारण घरेलु श्रमिकका रुपमा काम गर्न जानेहरुले जोखिम मोलेर नै विदेशको यात्रा गरिरहेका छन् ।

घरेलु श्रमिकका रुपमा काम गर्न विदेश जाने मध्ये अधिकाँश महिला परिवारमा हेलाहोचो सहेर बसिरहेका, सौताका कारण बहिष्करणमा परेका, सौतेनी बाबु वा आमाको बचन खेपिरहेका, उमेरमा नै पति गुमाएर एकल जीवन बिताउन बाध्य भएका, पतिका कारण हिंसामा परेका वा प्राकृतिक बिपत्ति, अनिकाल र माहामारीको प्रकोप धान्न विवशहरु भएको वैदेशिक रोजगारमा जाने महिलाको अधिकारको पक्षमा कार्यरत संस्था आमकास नेपालकी कार्यकारी निर्देशक विजया राई श्रेष्ठको भनाई छ । ति महिलाहरुले वैदेशिक रोजगारमा जाने निर्णय गरेको दिन देखि रोजगार सकिएर स्वदेश फर्केको भोलिपल्टसम्म यसका जोखिमहरु साथमा नै यात्रा गरी रहने गरेको उनी बताउँछिन् । रहरले नभई बाध्यताले वैदेशिक रोजगारीमा घरेलु श्रम गर्न जानेहरु माथि राज्यले अन्याय गरिरहेको उनले बताईन् ।

नेपालको वैदेशिक रोजगार सम्बन्धी कानुन तथा नियमावलीले वैदेशिक रोजगारमा जान सरकारी स्वीकृति लिन अनिवार्य गरेको छ । सरकारी स्वीकृति लिन कानुनी प्रकृयाहरु पुरा गर्नु पर्ने हुन्छ । तर दलालहरु कानुनी प्रक्रियामा समाबेश हुन चाहँदैनन् । किनकी उनीहरु आफै गैरकानुनी हुन् । त्यसकारण विदेशमा अलपत्र पर्ने, समयमा काम नपाउने, शोषण हुने, जिउ ज्यानको समेत जोखिम हुने अवस्था आउने गरी उनीहरुले विशेषगरी महिलालाई घरेलु श्रमिकका रुपमा पठाउँदै आएका छन् ।

अन्तराष्ट्रिय श्रम संगठनको महासन्धि नम्बर १८९ ले घरेलु कामदारहरुलाई विशेष सुरक्षाको ब्यवस्था गरेको छ । यो महासन्धिमा आधारभूत अधिकार, सैद्धान्तिक पक्ष तथा घरेलु कामदारहरुको लागि सरकारद्धारा उपलब्ध गराउनु पर्ने सम्मानजनक कार्यहरुको सूची र त्यस्ता कार्यहरु निर्माणका उपायहरु समेत उल्लेख छ । यो अधिकार मूलत: सबै प्रकारका घरेलु कामदारको हकमा लागु हुन्छ । घरेलु कामदारका रुपमा वैदेशिक रोजगारमा जाने कामदारको सन्दर्भमा यो अधिकार अरु संवेदनशील छ ।

नेपाल एक घरेलु कामदारको श्रोत मुलुक भएको नाताले मात्र होइन कि नेपाली समाजमा पनि घरेलु कामदार राख्ने प्रवृत्ति बढी रहेको सन्दर्भमा नेपाल र नेपाली श्रमिकका लागि यो महासन्धिको विशेष महत्व छ । तर यो महासन्धि कार्यन्वयनको तहमा आए पछि मात्र स्वदेशका र विदेशमा गएका नेपाली घरेलु श्रमिकले यो अधिकार उपभोग गर्न सक्छन् । यसैले सर्वप्रथम यो महासन्धि घरेलुकरणको स्वरुपमा स्थापित हुन आवश्यक छ । यसपछि मात्र विश्वमञ्चमा वैदेशिक रोजगारमा जाने घरेलु श्रमिकको हक, अधिकार, स्वतन्त्रताका लागि आवाज उठाउने नैतिक बल नेपाल र नेपाली अभियन्तालाई प्राप्त हुने अवस्था छ । तर नेपालले सो महासन्धि हालसम्म अनुमोदन नै गरेको छैन । सो महासन्धि अनुमोदनका लागि नेपालमा ट्रेड यूनियनहरु तथा गैरसरकारी संघसंस्थाहरुले पहल, प्रयत्न त गरिरहेका छन् तर त्यसको सुनुवाई भएको छैन ।

घरेलु काम विश्वव्यापी मान्यता पाएको एक सम्मानित पेशा हो । यसलाई व्यवसायिक प्रवद्र्धन गरेर वैदेशिक क्षेत्रमा बेरोजगारलाई रोजगार उपलव्ध गराउन सकिने सम्भावना विद्यमान छ । मानवअधिकारको न्यूनतम प्रत्याभुित, श्रमको सम्मान लगायतका सुधारात्मक कदमबाट सुरक्षा, मानवअधिकार, न्यूनतम सेवा शुल्क, श्रम अधिकारको ग्यारेन्टी हुने गरी श्रम सम्झौता लगायतका संयन्त्रको विकास गर्न सकिने सम्भावना रहँदा रहँदै प्रतिबन्ध जस्तो मानवअधिकारको उल्लंघनकारी निति अख्तियार गर्नु गलत भएको यस क्षेत्रका अभियन्ताहरु बताउँछन् ।

यो पनि काम हो, उनको पनि ईज्जत छ

तपाईको घरमा खाना पकाउने, घर सफा गर्ने, बच्चा तथा बृद्धबृद्धाको हेरचाह कसले गर्छ ? कतिपयको घरमा परिवारका सदस्यहरुले नै गर्नुहुन्छ होला अनी कतिपयले भनें यस्ता कामका लागि घरेलु श्रमिकको सेवा लिनु भएको होला । फेरिएको दैनिकीसँगै नेपालमा पनि घरेलु श्रमिकको संख्या बढ्दो छ ।

नेपालबाट बैदेशिक रोजगारमा जाने घरेलु श्रमिकको कुरा गर्ने वित्तिकै झट्ट हामीले महिलालाई मात्र सम्झिने गर्दछौं । तर त्यसो होइन । विश्वमा ५ करोडको हाराहारीमा घरेलु श्रमिक रहेका छन् । यसमध्ये झण्डै एक करोड पुरुष छन् । नेपालबाट खाडीका मुलुकहरुमा व्यक्तिगत रोजगारदाताको घरमा सवारी चालक, माली लगायतका काममा थुप्रै पुरुषहरु गएका छन् जुन घरेलु काम हो । त्यसैले घरेलु कामदार भन्ने वित्तिकै महिला भन्ने मानसिकतामा परिवर्तन आउन जरुरी छ ।

बैदेशिक रोजगारमा रहेका घरेलु श्रमिकले भोग्दै आएका समस्या अनगिन्ति छन् । तोकिए अनुसारको तलव नपाउनु, काम गर्ने अवधि नतोकिने भएका कारण दैनिक रुपमा १८-२० घण्टासम्म काम गर्न बाध्य पारिनु, साप्ताहिक विदा नपाउनु मात्र होइन विरामी पर्दा समेत काम गर्न बाध्य पारिनु मुख्य हुन् । यसैगरी शारिरीक र मानसिक दुव्र्यवहारका घटना पनि समय समयमा सार्वजनिक भइरहन्छन् । यसले खाडीमा घरेलु कामको विषयमा आम नेपालीमा सकारात्मक धारणा छैन ।

खाडीका मुलुकमा कार्यरत नेपाली घरेलु कामदारको अवस्था ठिक नभएको संसदीय समितिले निश्कर्ष निकालेपछि सरकारले बन्देज लगाएको खाडीको घरेलु काम अहिले पनि खुलेको छैन । यो बन्देजका पछाडी राज्यको आफ्ना नागरिकलाई सुरक्षा दिनुपर्दछ भन्ने निति भएपनि यसले जोखिम अझ बढाएको छ । सरकारको बन्देजका बावजुद महिलालाई खाडीका मुलुकमा पुर्याउने काम चलिरहेको छ तर उनीहरु विना कुनै रेकर्ड जाँदा जोखिम अझ बढेको यथार्थ हो ।

घरेलु कामदारका रुपमा बैदेशिक रोजगारमा जान नपाउनु एकातिर छँदैछ, यसअघि नै घरेलु कामदारका रुपमा खाडीका मुलुकमा पुगेर त्यहाँ कार्यरत हजारौं नेपाली भनें मर्कामा परेको यथार्थ हो । आफ्नो रोजगारदाता राम्रो हुँदा हुँदै पनि र आफूलाई सुविधा हुँदा हुँदै पनि घरेलु श्रमिक छुट्टीमा स्वदेश फर्केर, आफन्त भेटेर पुन: रोजगारीमा फर्किन नपाइरहेको अवस्था छ । यसले उनीहरुलाई कि त रोजगारी, कि त स्वदेश फर्किन रोज्नु पर्ने अवस्था सिर्जना गरेको छ । जसका कारण केहि बर्षयता घरेलु काममा गएका नेपाली श्रमिक विदेशी भूमिमै बस्न बाध्य पारिएका छन् । उनीहरुका लागि एकपटक पुन: श्रम स्वीकृति दिइने छलफल सरकारी तहमा गरिएपनि त्यो हुन सकेन । त्यसैले यस विषयमा गम्भीर रुपमा सरकारको ध्यान जान जरुरी छ ।

विदेशमा मात्र होइन, नेपालमा पनि घरेलु श्रमिकको संख्या बढ्दै गएको छ । तर उनीहरु आफ्ना न्यूनतम अधिकार पाउनबाट समेत वञ्चित छन् । न्यून तलव, रोजगारीको कुनै ग्यारेण्टी नहुने, जातीय तथा लैंगिक भेदभावका बीच श्रमरत उनीहरुको रोजगारीलाई मर्यादित बनाउन सवैले हातेमालो गर्न जरुरी छ ।

खाडी मुलुकमा घरेलु काम गरेर फर्केका महिला के भन्छन् ?

राजधानी काठमाडौंमा खाडीमा खद्धामा पठाउनु जायज की नाजायज भन्ने बहस चलिरहँदा स्वयं खाडीका देशहरुमा घरेलु कामदारका रुपमा काम गरी फर्केका महिलाले भनें यसलाई व्यवस्थीत बनाउनु नै श्रेयस्कर भएको धारणा राख्छन् । उनीहरुले रहरले नभई बाध्यताले बैदेशिक रोजगारमा जाने महिलालाई जतिसुकै बन्देज लगाएपनि उनीहरु झन असुरक्षित ढंगबाट ति देशहरुमा पुग्ने र बेचिने गरेको तर्क गरे ।

भरौल ३, सुनसरीकी कुमारी विक साउदी अरवमा २५ महिना घरेलु कामदारका रुपमा काम गरेर फर्केकी हुन् । हाल उनी गाउँमा बैदेशिक रोजगारका बारेमा आफूले जाने, भोगेका कुराहरु सिकाउने गर्छिन । उनी भन्छिन् “पठाउँदै नपठाउने पनि होइन, तर जथाभावी पठाउनु पनि हुन्न । जानै बन्द गरेर समस्याको समाधान हुन्न ।” उनी घरेलु काममा जानेहरु प्राय: रहरले नभई बाध्यताले काम गर्न जाने भएका कारण बाटो छेकेर मात्र समस्याको समाधान नहुने तर्क गर्छिन् । त्यसका लागि कसरी सुरक्षित बनाउन सकिन्छ भनेर गृहकार्य गर्नुपर्ने विकको भनाई छ । उनी व्यवस्थीत रुपमा विदेश जान पाएमा महिलाले पनि विदेशमा गएर कमाएर परिवार चलाउन सक्ने धारणा राख्छिन् ।

नेपालबाट जान बन्देज भएकै कारण आफू मुम्वईबाट जान बाध्य भएको भन्दै उनी आफूलाई साउदीमा कुनै समस्या नपरेको बताउँछिन् । तर त्यहिं थुप्रै महिलाहरुले आफूले पेटभरी खान नपाएको, सुत्न नपाएको भन्ने गरेको भेटेको भन्दै उनी कम्तिमा महिनामा एक पटक घरेलु काम गर्न गएका नेपाली महिलालाई दुतावासमा पुर्याउने व्यवस्था गरिएमा त्यसले धेरै समस्याको समाधान गर्ने बताउँछिन् ।

एजेण्ट मार्फत भारतको बाटो हुँदै कुवेतमा घरेलु कामदारका रुपमा काम गरेर फर्केकी मूर्तिया १ सर्लाहीकी गुणा कार्की पनि घरेलु कामदारलाई हेर्ने दृष्टिकोण नै ठिक नभएको तर्क गर्छिन् । उनी आफू सुरुमा रोजगारीका लागि पुगेको घर ठिक नभएको तर दोश्रो घरमा साह्रै राम्रो व्यवहार पाएको भन्दै नेपाली महिलालाई सुरक्षित बनाउन सरकारको भूमिका नै महत्वपूर्ण हुने ठान्छिन् । उनी आफूले काम गरेको घरमा समयमा तलव, मित्रवत व्यवहार भएकै कारण दुई बर्ष ३ महिना सहज रुपमा काम गरेर फर्केको बताउँछिन् ।

नेपालबाट घरेलु काममा जान बन्देज लगाइएका कारण भारत र पछिल्लो समयमा श्रीलंकाको बाटो हुँदै मानव तस्करहरुले लैजाने गरेका घटना सार्वजनिक भइरहेका छन् । ओमानमा घरेलु काम गरि फर्केकी प्रकाशपुर ८ सुनसरीकी कमला कटुवाल थापा भारतबाट जाँदा भारुमा हिसाव गरेर धेरै तलव पाउने अपेक्षामा गएको बताँउछिन् । उनी बाध्यताले विदेश जाने नेपाली महिलालाई दलालले अनेकथरी सपना देखाउने र घरेलु काम गर्न जाने महिलालाई बन्देज लगायतका विषयमा कुनै जानकारी नहुने गरेका कारण जोखिम अझ बढी हुने गरेको बताउँछिन् । भारतको बाटो भएर गएकै कारण गन्तव्य मुलुकमा पुगिसकेपछि त्यहाँका कम्पनीहरु मार्फत किनबेच हुने भन्दै त्यसको साटो नेपालबाट सिधै पठाउँदा समस्या कम हुने उनको तर्क छ ।

सुनसरीकी कुमारी विक पनि बन्देजका वावजुद नेपाली महिलालाई घरेलु काममा जान रोक्न नसकिएको भन्दै यसले तस्करलाई मात्र फाइदा पुगिरहेको धारणा राख्छिन् । उनी भन्छिन् “दलालले त जसरी पनि लैजान्छ । म गएको बेलामा मरेको भए मेरो लाश समेत नेपाल नआइपुग्ने रहेछ किनकी म साउदी गएको त कुनै प्रमाण नै थिएन । त्यसैले मानव तस्करको धन्दा चल्न दिइरहने की यसलाई व्यवस्थीत गर्ने भन्ने सरकारको हातमा छ ।”

दुतावासमा हाजिर
घरेलु काममा जाने महिलाका लागि निश्चित अवधिमा दुतावासमा अनिवार्य रुपमा हाजिर गर्ने व्यवस्था गर्नु पर्नेमा सवै एकमत छन् । यदि सो व्यवस्था नगर्ने हो भनें समस्या अहिले भन्दा चर्को हुने उनीहरुको भनाई छ । सुनसरीकी कमला कटुवाल थापा महिनामा एक पटक दुतावासमा आउन पाएमा आफूलाई कुनै समस्या परेको भएमा राख्न पाउने भएका कारण यसअघि देखिएका समस्या हल हुने धारणा राख्छिन् । उनको भनाईमा घरेलु काम गरेर फर्केका प्राय: सवै महिला सहमत छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय