विदेशबाट फर्केकाहरुमाथि ठूलो आर्थिक ठगि

कोभिड-१९ को समयमा विदेशबाट फर्केकाहरुको ज्यालामा ठूलो ठगि भएको पाइएको छ । त्यसरी फर्किनेहरु मध्ये ठूलो संख्याका श्रमिक कतै उजुरी नै नगरि बसेका कारण हालसम्म संकलित तथ्याङक पनि धेरै सानो अंश हुन सक्ने यस क्षेत्रमा कार्यरतहरु बताउँछन् ।
वैदेशिक रोजगारमा रहेको अवस्थामा समस्यामा परेकाहरुलाई उद्दारको क्षेत्रमा काम गर्दै आएको गैर सरकारी संस्था, प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) ले यसबीचमा आफ्नो संस्था मार्फत सेवा लिएकाहरुको तथ्याङ्कमा आधारित रहेर गरेको विश्लेषणमा पनि ठूलो रकम नेपाली श्रमिकको ठगि भएको देखिएको छ ।

पिएसनसीसीका अनुसार यस बीचमा सो संस्थाले सेवा दिएका ७ सय ३० जना आप्रवासी श्रमिकको ३ करोड ९८ लाख ३५ हजार ६ सय ३२ रुपैंया रोजगारदाताले नदिई फर्काएको ति श्रमिकहरुले दावी गरेका छन् । त्यसमध्ये सवैभन्दा धेरै कतारबाट फर्किएकाहरुले रोजगारदाताले रकम नदिएको गुनासो गरेका छन् । कतारबाट फर्केका ३ सय ६२ जनाले आफूहरुको ९ लाख ८७ हजार १ सय ७१ कतारी रियाल (नेपाली रुपैंया झण्डै ३ करोड १५ लाख ८९ हजार) प्राप्त गर्न बाँकी रहेको देखिएको हो ।

यसैगरी मलेसियाबाट फर्केका ५८ जनाले आफूहरुले १ लाख ४० हजार ६ सय रिगिट (नेपाली रकम ३९ लाख ३६ हजार आठ सय) पाउन बाँकी रकम नपाएको दावी गरेका छन् । अन्य मुलुकहरुमा साउदी अरबबाट फर्केकाहरुले आफूहरुले नेरु १८ लाख ४४ हजार ५ सय बरावर रकम पाउन बाँकी रहेको दावी गरेका छन् । बहराइनबाट फर्केका १ सय ३४ जनाले आफूहरुले १५ लाख ५४ हजार भन्दा बढी रकम नपाएको बताएको पिएनसीसीले जनाएको छ ।

पिएनसीसीको तथ्याङ्क अनुसार अध्ययनमा समेटिएका कुल ७ सय ३० जना मध्ये ३ सय ६२ जना कतारबाट फर्किएकाहरु रहेका छन् । यसैगरी साउदी अरबबाट फर्किएका १ सय ५७ जना छन् भनें बहराइनबाट फर्केका १ सय ३४ जना, मलेसियाबाट फर्केका ५८ जना, संयुक्त अरब ईमिरेट्स (युएई) बाट फर्केका १७ जना तथा कुवेतबाट फर्केका दुईजना छन् ।

ज्याला ठगिमा परेका ७ सय ३० जना मध्ये सवैभन्दा धेरै निर्माण क्षेत्रमा काम गरेर फर्केकाहरु रहेको प्रवासी नेपाली समन्वय समितिका महासचिव अञ्जन पोखरेलले बताए । कुल ठगिमा परेका मध्ये ३९ प्रतिशत सो क्षेत्रमा काम गरेर फर्केकाहरु रहेका छन् । यसैगरी सेवा क्षेत्रमा काम गरेर फर्केकाहरु २२ प्रतिशत रहेका छन् । अन्य उत्पादन, घरेलु श्रमिक लगायतमा काम गरेर फर्केका रहेको पिएनसीसीले जनाएको छ ।

यसरी ज्याला ठगिमा परेकाहरु मध्ये ६ सय ९८ जना पुरुष तथा ३२ जना महिला रहेको सो संस्थाले जनाएको छ । कागजातविहिन रुपमा बसेका काम गरेका श्रमिकले आफूले पाउनु पर्ने रकम नपाएको विषयमा कतै उजुरी गर्न नसकेको समेत जनाइएको छ । उनीहरुसँग प्रमाण नहुने भएका कारण समस्या परेको हो । स्वदेश फर्किसकेका श्रमिकलाई आफ्नो पारिश्रमिक ठगिएका विषयमा अव प्रमाण संकलन गर्न समस्या हुने समेत महासचिव पोखरेलले बताए ।

महासचिव पोखरेलले संक्रमणकालिन न्यायको संयन्त्र स्थापित गरेर गुनासो सुनुवाई, अन्यायमा परेकाहरुलाई न्याय प्रदान गर्न माग गरे । स्वदेश फर्केका र आफ्नो ज्याला ठगि भएको प्रमाण दिनसक्ने श्रमिकलाई उनीहरुले पाउनुपर्ने रकम दिलाउन राज्यले पहल गर्नुपर्ने उनको भनाई छ । नेपाल एक्लैले नसके कोलम्बो प्रोसेस, अवुधावी डायलग जस्ता मञ्चहरु मार्फत यो आवाज उठाउनु पर्ने यस क्षेत्रमा कार्यरत अधिकारकर्मीहरुको सुझाव छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले ज्याला ठगिमा परेका नेपाली श्रमिकलाई उनीहरुले पाउनु पर्ने रकम दिलाउन मन्त्रालयले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा दूतावास मार्फत पहल गर्ने वचन दिए । “कोभिडको समयमा हाम्रा नेपालीको ज्यान बचाउन हाम्रो पहिलो दायित्व हो”, पिएनसीसीले आयोजना गरेको छलफलमा बोल्दै सचिव गौतमले भने, “अव दोश्रो चरणमा हामीले त्यसरी गुमेको ज्याला दिलाउनु पर्दछ ।” यसका लागि सरकारी तहमा कुराकानी गर्ने उनको भनाई थियो ।

सचिव गौतमले यसमा वैदेशिक रोजगार व्यवसायी पनि उत्तिकै जिम्मेवार रहेको धारणा राखे । “विदेशका कम्पनीसँग सम्पर्क गराइदिने, रोजगारीमा संलग्न गर्ने काममा व्यवसायीहरु संलग्न हुन्छन्” सचिव गौतमले भने, “त्यसैले गुमेको ज्याला दिलाउन पहल गर्ने प्रथम दायित्व पनि वैदेशिक रोजगार व्यवसायीको हुन्छ ।”

प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले एकातिर विदेशमा काम गरेको ज्याला समेत रोजगारदाताले नदिई फिर्ता हुनु परेको अवस्थामा नेपाली झण्डावाहक विमान कम्पनीले नै चार गुणासम्म धेरै रकम भाडा वापत असुली गरेर अन्याय गरेको बताए । उनले कुन कम्पनीले ज्याला ठगि गरेको छ भन्ने जानकारी मन्त्रालय तथा अन्य सरकारी निकायहरुलाई उपलव्ध गराउन आफ्नो संस्था तयार रहेको भन्दै त्यस्ता कम्पनीहरुलाई कालोसूचिमा राख्न र अन्तराष्ट्रिय स्तरमा लविङ गरेर ठगिएको रकम दिलाउन पहल गर्न सरकारसँग अनुरोध गरे ।

कोभिड-१९ का समयमा विदेशी श्रमिकको भइरहेको ज्याला ठगिका विषयमा माइग्रेण्ट फोरम ईन एसिया, सोलिडारिटी सेण्टर लगायतले विश्वव्यापी रुपमा अध्ययन अनुसन्धान, प्रमाण संकलन तथा पीडितलाई न्याय दिलाउन अभियान चलाइरहेका छन् । ज्याला ठगिका विषयमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम) ले पनि संक्षिप्त अध्ययन गरेको छ । उसका सदस्य संस्थाहरुबाट प्राप्त तथ्याङ्क विश्लेषण गरिएको सो सञ्जालका अध्यक्ष अशोक रानाले देशपरदेशलाई बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: