वैैदेशिक रोजगारमा जानेहरुलाई जोन्सन एण्ड जोन्सनको खोप

सरकारले सोमवार देखि कोरोना भाइरस विरुद्दको जोन्सन एण्ड जोन्सनको खोप लगाउन सुरु गरेको छ । अमेरिकाले अनुदानमा उपलव्ध गराएको सो खोप सोमवार देखि लगाउन सुरु गरिएको हो । खोप बुधवारसम्म लगाउने कार्यक्रम छ । खोप पुगेका सवै जिल्लाहरुमा खोप दिइने यस अगाडी नै स्वास्थ्य मन्त्रालयले जनाई सकेको छ ।

वैदेशिक रोजगारमा जाने अनुमति लिएकाहरुले पनि सो खोप लिन पाउने र बाँसवारी स्थित शहिद गंगालाल अस्पतालमा खोप सुरु भइसकेको आफूले जानकारी पाएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (नाफिया) का महासचिव सुजित कुमार श्रेष्ठले बताए ।

काठमाडौं पोष्टका अनुसार स्वास्थ्य मन्त्रालयको खोप शाखा प्रमुख डा. झलक गौतमका अनुसार रोजगारीका लागि विदेश जानेहरुले राहदानी तथा भिषाको प्रति खोप केन्द्रमा देखाएर खोप लगाउन पाउँछन् । “वैदेशिक रोजगारमा जाने सवैलाई जोन्सन एण्ड जोन्सनको खोप दिइएको होइन” गौतमलाई उधृत गर्दै काठमाडौं पोष्टको समाचारमा लेखिएको छ, “जुन देशले खोपलाई अनिवार्य बनाएका छन् र जोन्सन एण्ड जोन्सनको खोपलाई मान्यता दिएका छन्, ति मुलुकमा रोजगारीका लागि जानेहरुलाई यो खोप दिइएको छ ।” यस विषयमा थप स्पष्ट हुन देशपरदेशले सम्पर्क गर्दा गौतमसँग सम्पर्क हुन सकेन । यस विषयमा श्रमिकका बीचमा भनें निक्कै अन्यौल देखिएको छ । कसरी र कहाँ खोप लगाउने भन्ने बारेमा उनीहरु जानकार छैनन् ।

नाफियाका महासचिव श्रेष्ठका अनुसार यसबीचमा कतार तथा साउदी अरेवियाबाट बढी माग आएको छ । ९८ हजार व्यक्तिका लागि पूर्व स्वीकृति निस्किएको र झण्डै ४० देखि ५० हजारले खोप लगाउन सक्ने अनुमान गरिएको उनले बताए ।

एक मात्रा मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोपको विषयमा यस अगाडी केहि अन्यौल समेत देखिएको थियो । तुलनात्मक रुपमा कम सफलता दर रहेको सो खोपका कारण दुर्लभ रुपमा नसा सम्वन्धि समस्या देखिन सक्ने समाचार सार्वजनिक भएपछि अन्यौल बढेको थियो । तर पनि नेपाल सरकारले भनें सो खोप लगाउने निर्णय गरेको छ ।

यसअगाडी वैदेशिक रोजगारमा जानेहरुलाई चिनिया कम्पनीद्दारा उत्पादित भेरोसेल खोप दिइने भनिएपनि वैदेशिक रोजगार व्यवसायीहरुल भनें यसमा असन्तुष्टि जनाएका थिए । कतिपय मुलुकले भेरोसेललाई मान्यता नदिएको तथा पहिलो मात्रा लगाएपछि अर्को मात्रा लगाउन झण्डै एक महिना पर्खिनु पर्ने भएका कारण कतिपयको रोजगारीको यात्रा ढिलो हुने भएका कारण समस्या पर्ने उनीहरुको गुनासो थियो । जोन्सन एण्ड जोन्सनको खोपलाई धेरै मुलुकले मान्यता दिएको र एक मात्रा मात्र लगाए हुने भएका कारण सो खोप वैदेशिक रोजगारमा जान चाहनेहरुका लागि उपयुक्त हुने व्यवसायहरुको भनाई थियो । सोही अनुरुप श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलयले पनि आवश्यक समन्वय गर्ने काम गरेको थियो ।

साउदी अरेविया, कुवेत, ओमानले भेरोसेललाई मान्यता दिएका छैनन । कतारले पनि भेरोसेललाई शर्तसहित अनुमति दिएको छ । ति मुलुक नेपाली श्रमिक रोजगारीमा लागि जाने मध्ये मुख्य गन्तव्यमा पर्दछन् । तर अर्कातर्फ संयुक्त अरव ईमिरेट्स (युएई) र बहराइनले भनें जोन्सन एण्ड जोन्सनको खोपलाई मान्यता दिएका छैनन् ।

जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ बर्षको उमेर समूहका व्यक्ति, पूर्ण र अति अपाङ्गता भएकाहरु, नेपालमा बसोवास गरिरहेका शरणार्थी, यस अगाडीको खोप अभियानमा खोप लगाउन छुटेका स्वास्थ्यकर्मी तथा सरसफाईकर्मीलाई दिईंदैछ । आज सुरु भएको खोप कार्यक्रम साउन ६ गतेसम्म चल्नेछ ।  अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत उपलव्ध गराएको जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप गत असार २८ गते काठमाडौ आइपुगेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय