खाडी तथा मलेसियाबाट आउनेहरु अनिवार्य ५ दिन होटलमा बस्नुपर्ने, यस्तो छ विदेशबाट फर्किनेले पालना गर्नुपर्ने मापदण्ड

कोभिड-१९ को संक्रमण बढेपछि केहि समय रोकिएको अन्तराष्ट्रिय उडान केहि मुलुकका लागि खुलेको छ । कतार, चीन तथा टर्कीमा सिमित उडान खोलेको नेपालले केहि समयभित्रै खाडीका अन्य मुलुकहरुमा पनि उडान खोल्ने तयारी थालेको छ ।

नियमित उडान सुरु भएपनि विदेशबाट आउनेहरुले भनें विभिन्न मापदण्ड पुरा गरेको हुनु पर्ने व्यवस्था सरकारले गरेको छ । मन्त्रीपरिषदले जारी गरेको मापदण्ड अनुसार कोभिड नेगेटिभ भएको पिसीआर रिपोर्ट साथमा हुनुपर्ने, होटल बुकिङ गरेको हुनुपर्ने लगायतको व्यवस्था छ ।

यसैगरी खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरु स्वदेश फर्किंदा ५ दिन अनिवार्य रुपमा होटल क्वारेण्टिनमा बसेर पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि थप १० दिन होम क्वारेटिनमा बस्नेगरी घर जान अनुमति दिने व्यवस्था गरिएको छ ।

थप जानकारीका लागि पढ्नुहोस् मन्त्रीपरिषदले जारी गरेको मापदण्डको पूर्ण पाठ

नेपाली तथा विदेशी नागरिका आउँदा पालना गर्नुपर्ने मापदण्ड, २०७८

कोभिड १९ को नयाँ भेरियन्ट सङ्क्रमण नियन्त्रण र रोकथाममा प्रतिकूल असर नपर्ने गरी नेपाल आउने नेपाली तथा विदेशी नागरिकहरुको आवागमनलाई व्यवस्थित गर्न नेपाल सरकार मन्त्रिपरिषद्बाट विभिन्न मितिमा गरिएका निर्णयहरु र स्वीकृत मापदण्डहरु समेतका आधारमा नेपाल सरकार मन्त्रिपरिषद्ले यो मापदण्ड जारी गरेको छ।

१. नेपाल आउने यात्रुका लागि नेपाल सरकारले गरेको क्वारेन्टिन सम्बन्धी व्यवस्था

१. पछिल्लो ७२ घण्टाको फोटो एवं बारकोड/QR Code सहितको पि.सी. आर रिपोर्टमा कोभिड नेगेटिभ रहेका र यसै मापदण्डको प्रकरण २ मा उल्लेखित अवस्थाबाहेकका यात्रुहरुले १० दिनको होटल बुकिङ्ग गरेको प्रमाणका आधारमा मात्र हवाई उडानबाट नेपाल आउन अनुमति प्रदान गर्ने । हवाई उडान मार्फत विदेशबाट नेपाल आउने यात्रुहरुले नेपाल आइसकेपछि आफ्नै खर्चमा अनिवार्य १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने ।

२. १० दिन होटल क्वारेन्टिन पश्चात् कोरोनाको संकेत एवं लक्षण देखिएका व्यक्तिहरुले पि. सी. आर. परीक्षण गर्नुपर्ने, पि.सी. आर. परीक्षण गर्दा कोभिड रिपोर्ट पोजेटिभ आएमा कम्तीमा १० दिन कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (CCMC) से तोकेको आईसोलेसन सेन्टर वा तोकिएको अस्पताल वा होटल आईसोलेसनमा अनिवार्य बस्नुपर्ने ।

३. १० दिन होटल क्वारेन्टिन पश्चात् कोरोनाको संकेत एवं लक्षण नदेखिएका र संकेत एवं लक्षण देखिएकोमा परीक्षण गर्दा कोभिड रिपोर्ट नेगेटिभ आएका व्यक्तिहरुलाई आफ्नो गन्तव्यस्थानसम्म जान अनुमति दिने ।

४. हवाई उडानबाट नेपाल आएकाहरुलाई क्वारेन्टिनका लागि होटलसम्म लैजाने, सम्बन्धित यात्रुहरु १० दिनको होटल क्वारेन्टिनमा बसे/नबसेको अनुगमन गर्ने, होटल क्वारेन्टिनमा बसेका व्यक्तिहरू बिरामी भएमा उपचारको व्यवस्था गर्ने, १० दिनको क्वारेन्टिन पूरा गरेका व्यक्तिहरुलाई गन्तव्य स्थानसम्म जान सहजीकरण गर्ने र तोकिएको स्वास्थ्य मापदण्ड पालना नगर्ने होटल संचालक वा यात्रुलाई कोभिड -१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम तोकिएको अधिकारी समक्ष कारवारीका लागि सिफारिस गर्ने लगायतका कार्यहरू CCMC ले गर्ने ।

५. होटल क्वारेण्टिनको लागि होटलको सूचीकरण पर्यटन विभागको समन्वयमा नेपाल पर्यटन बोर्डले गर्ने ।

६. सुन्धारा, ठमेल, गोंगबु र कलंकी क्षेत्रमा रहेका घना बस्तीलाई ध्यानमा राखी उक्त क्षेत्रमा कोभिड संक्रमणको सम्भावनालाई नियन्त्रण गर्न यी क्षेत्रमा रहेका होटलहरुलाई क्वारेण्टिन होटलको रुपमा सूचीकृत नगर्ने ।

२. विशेष आवश्यकता रहेकाहरुको हकमा विशेष व्यवस्था

१. आफ्नो धर्म, रिति, परम्परा अनुसार आफन्तको अन्तिम संस्कार काज-क्रियामा सहभागी हुन विदेशबाट नेपाल आउने व्यक्तिको हकमा स्थानीय तहको सिफारिसका आधारमा कम्तीमा १० दिनसम्म अनिवार्य होम क्वारेन्टिनमा बस्ने गरी घर गन्तव्यमा जान अनुमति दिइने । क्वारेन्टिनमा रहँदाको समयमा आफ्नै खर्चमा एघारौ दिनमा पि.सि. आर. परिक्षण गर्ने ।

२. दीर्घ विरामी, शारीरिक रुपमा अशक्त विरामी सँगै आएका कुरुवा (हेरालु) को हकमा अस्पतालबाट घटना पुष्टि हुने कागजात र स्थानीय तहको सिफारिसका आधारमा कम्तिमा १० दिन होम क्यारेन्टिनमा बस्ने गरी घर / गन्तव्यमा जान अनुमति दिइने ।  होम क्वारेन्टिनमा रहँदाको समयमा आफ्नै खर्चमा अनिवार्य रुपमा चौथो र एघारौ दिनमा पि.सि. आर. परिक्षण गर्ने उल्लेखित कार्यको अनुगमन सम्बन्धित स्थानीय तहले गर्ने ।

३. ७५ वर्ष माथिका जेष्ठ नागरिक, ५ वर्ष भन्दा मुनिका नाबालक र नाबालकसंगै आएका निजका आमा र बाबुको हकमा स्थानीय तहको सिफारिसका आधारमा कम्तिमा १० दिन होम क्वारेन्टिनमा बस्ने गरी घर / गन्तव्यमा जान अनुमति दिइने । देशपरदेश होम क्यारेन्टिनमा रहँदाको समयमा आफ्नो खर्चमा अनिवार्य रुपमा चौथो र एघारौं दिनमा पि.सि. आर. परिक्षण गर्ने । उल्लेखित कार्यहरुको अनुगमन सम्बन्धित स्थानीय तहले गर्ने ।

४. नेपाल आउने कूटनीतिक नियोगका पदाधिकारीहरू, कर्मचारीहरु र उनीहरुका परिवारका सदस्यहरुको हकमा सम्बन्धित नियोगको सिफारिसका आधारमा नियोगले तोकेको वासस्थानमा अनिवार्य १० दिन क्वारेन्टाइन बस्ने गरी गन्तव्यमा जान अनुमति दिइने ।  क्वारेन्टिनमा रहँदाको समयमा आफ्नै खर्चमा अनिवार्य रूपमा चौथो र एघारौ दिनमा पि.सि. आर. परिक्षण गर्ने ।

५. नेपालमा कोभिड नियन्त्रण सम्बन्धी कार्यमा खटिन आउने विदेशमा काम गरी रहेका स्वास्थ्यकर्मी स्वास्थ्यसम्बन्धी अध्ययन पूरा गरेका वा अध्ययन गरिरहेका नेपालीहरुको हकमा स्वास्थ्य मन्त्रालयको सिफारिसका आधारमा स्वास्थ्य मन्त्रालयले तोको वासस्थानमा अनिवार्य १० दिन क्वारेण्टिनमा बस्ने गरी गन्तव्यमा जान अनुमति दिइने ।  क्वारेण्टिन रहेको खर्चमा अनिवार्य रुपमा चौथो र एघारौ दिनमा पि.सि.आर. परिक्षण गर्ने । उल्लेखित कार्यहरुको अनुगमन स्वास्थ्य मन्त्रालयले गर्ने ।

६. सरकारी काममा विदेश गएका कर्मचारीहरुको हकमा सम्बन्धित कार्यालयको सिफारिसका आधारमा कम्तिमा १० दिन होम क्यारेन्टिनमा बस्ने गरी घर / गन्तव्यमा जान अ नु मति दिने, क्वारेन्टिनमा रहँदाको समयमा आफ्नै खर्चमा अनिवार्य रुपमा चौथो र एघारौ दिनमा पि.सि. आर. परिक्षण गर्ने । उल्लेखित कार्यहरुको अनुगमन सिफारिस गर्ने कार्यालयले गर्ने ।

७. सुरक्षा निकायका पदाधिकारी/कर्मचारीको हकमा सम्बन्धित सुरक्षा निकायको सिफारिसका आधारमा कम्तिमा १० दिन होम क्वारेण्टिनमा बस्ने गरी घर गन्तव्यमा जान अनुमति दिइने । क्वारेन्टिनमा रहँदाको समयमा आफ्नै खर्चमा अनिवार्य रुपमा चौथो र एघारौ दिनमा पि.सि. आर. परिक्षण गर्ने । उल्लेखित कार्यहरुको अनुगमन सिफारिस गर्ने सुरक्षा निकायले गर्ने ।

८. खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरुको हकमा ५ दिन अनिवार्य होटल क्वारेन्टिन बसी पि.सि. आर. परिक्षण नेगेटिभ आएपछि थप १० दिन होम क्यारेन्टिनमा वस्नेगरी घर गन्तव्यमा जान अनुमति दिने ।

९. एकाघरपरिवारका कुनै सदस्य अस्पतालको आ.सि.यु / भेन्टिलेटरमा उपचारार्थ भर्ना भएका तर हेरचाह गर्ने कोही नभएकाको हकमा अस्पतालबाट घटना पुष्टि हुने कागजात तथा सम्बन्धित स्थानीय तहको सिफारिस पेश हुन आएमा अस्पताल/घर/गन्तव्यमा जान अनुमति दिइने ।

३. यात्रुको व्यवस्थापन सम्बन्धमा

१. विमानस्थलमा आगमन हुने यात्रुहरुको स्वास्थ्य सम्बन्धी कागजातको परीक्षण स्वास्थ्य मन्त्रालयको टोलीले गर्ने ।

२. होम क्वारेन्टिन बस्ने गरी वा होटल क्वारेन्टिन पूरा गरी घर गन्तव्यमा जान खोज्ने सबैलाई घर गन्तव्यतर्फ प्रस्थानको लागि स्थानीय प्रशासनले आवश्यक सहजीकरण गर्ने ।

४. होटल क्वारेन्टिन अवधिको व्यवस्थापन जिम्मेवारी

१. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृत उडान मार्फत नेपाल आउने यात्रुहरुले पर्यटन विभागमा दर्ता भएका तीन, चार र पाँच तारे होटलहरुमा पनि होटल क्वारेन्टिनको लागि बुकिङ गर्न सक्ने ।

२. होटल क्वारेन्टिनका लागि तोकिएका सबै होटलहरुले नेपाल सरकारले जारी गरेका स्वास्थ मापदण्डको पूर्ण पालना गर्नुपर्ने र नगरिएको पाईएमा कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही हुने ।

३. होटल क्वारेन्टिनमा रहनेहरु तोकिएको अवधि तोकिएको होटलमा रहेको सुनिश्चितता सम्बन्धित होटलले गर्ने ।

४. कुनै होटल क्वारेन्टिनमा रहँदा स्वास्थ्य मापदण्ड र अनुशासन पालना नगरेमा सम्बन्धितः होटलले स्थानीय प्रहरी प्रशासनलाई तुरुन्त जानकारी गराउनुपर्ने र त्यस्तो व्यक्तिलाई कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही हुने ।

५. क्वारेन्टिन अवधि सकिएपछि पि.सि.आर परीक्षणको रिपोर्टका आधारमा यात्रुलाई सम्बन्धित होटलले रिलिज फर्म (क्वारेन्टिन छाड्ने अनुमति फाराम) भर्न लगाउनुको साथै CCMC लाई अनिवार्य जानकारी गराएपछि मात्र गन्तव्य तर्फ प्रस्थान गर्न दिने ।

५. होम क्वारेन्टिनमा बस्नेगरी पठाईएका व्यक्तिको निगरानी सम्बन्धी व्यवस्था

१. विभिन्न कारणले होम क्वारेन्टिनमा बस्ने गरी पठाईएका व्यक्तिले स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्ने छु भनी तोकिएको ढाँचाको स्वः घोषणा फाराम अनिवार्य भर्नुपर्नेछ । देशपरदेश सो फारामसंग सम्बन्धित व्यवस्थापकीय कार्यहरु CCMC ले गर्ने ।

२. मापदण्डको पूर्ण पालना नगरिएको पाईएमा कोभिड- १९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही हुने ।

३. होम क्वारेन्टिनमा बस्ने गरी पठाइएका व्यक्तिको निगरानी सम्बन्धित वडा कार्यालयले गर्नुपर्नेछ। सोको अधावधिक विवरण सम्बन्धित जिल्ला कोभिड संकट समन्वय केन्द्र (DCCMC लाई उपलब्ध गराउनुपर्ने ।

४. विदेशबाट आएका नेपाली नागरिकहरू / विदेशीहरुका हकमा संकट व्यवस्थापन केन्द्र ICCMC) ले एप्स (Apps) बनाई विमानस्थलमा नै प्रविष्टि गरी निगरानी गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

६. अन्य

१. उपरोक्त मापदण्ड पालना नगर्नेलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारवाही हुने ।

२. यस मापदण्ड कार्यान्वयनका सम्बन्धमा कुनै दुविधा भएमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णय अन्तिम हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय