
साउदी अरबका पत्रकार जमाल खसोग्गीको हत्या गर्न साउदी युवराज मोहम्मद बिन सलमानले निर्देशन दिएको अमेरिकाले दाबी गरेको छ । अमेरिकी गुप्तचर एजेन्सी ‘सीआईए’ को एक प्रतिवेदनमा निर्वासनमा रहेका पत्रकार खसोग्गीलाई पक्रिन वा मार्नलाई युवराज सलमानले अनुमति दिएको उल्लेख छ ।
खसोग्गी हत्याबारे अनेक आशंका गरिए पनि सार्वजनिक रूपमा अमेरिकाले पहिलोपटक आफ्नो भनाइ बाहिर ल्याएको हो । तर सीआईएलाई त्यसबेलै घटनाको भित्री रहस्यबारे जानकारी रहेको मानिँदै आएको थियो । ‘हाम्रो आकलन छ कि युवराज सलमानले इन्तानबुल अप्रेसनका लागि अनुमति दिएका थिए, जसको उद्देश्य पत्रकार खसोग्गीलाई पक्रिनु या मार्नु थियो,’ प्रतिवेदनमा भनिएको छ ।
साउदी राजसंस्थाको कट्टर आलोचक मानिने खसोग्गीको सन् २०१८ अक्टोबर २० मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो ।
आफ्नी टर्किस प्रेमिका हतिज जेंगिजसँग विवाह गर्न आवश्यक कागजात लिन उनी दूतावास पुगेका थिए । उनी दूतावास छिरेको सीसीटीभी फुटेजमा देखिए पनि बाहिर निस्किएको भने देखिएको थिएन ।
युवराज सलमानले भने उक्त आरोपको खण्डन गर्दै आएका छन् । सन् २०१९ मा उनले साउदी नेताको रूपमा खसोग्गी हत्याको आफूले जिम्मेवारी लिने तर आफूले निर्देशन नदिएको बताएका थिए । ‘साउदीका कुनै एक नागरिकमाथि आफ्नै अधिकारीहरूबाट यस्तो अपराध हुन्छ भने एक नेताको रूपमा मैले जिम्मेवारी लिनुपर्छ,’ उनले भनेका थिए । शनिबार साउदी विदेश मन्त्रालयले समेत विज्ञप्तिमार्फत सीआईएको दाबीलाई खारेज गरेको छ ।