कोरोनाका कारण विदेशमा कोहि नेपाली अलपत्र भए खवर गर्नुः श्रम मन्त्रालय

वैदेशिक रोजगारका क्रममा विदेशमा रहेका र कोभिड-१९ का कारण समस्यामा परेर स्वदेश फर्किनु पर्ने अवस्थाका नेपालीको उद्दारका लागि बजेटको खाँचो नभएको श्रम सचिव तोयम रायाले बताएका छन् । उनले रकमको कुनै खाँचो नभएको र गन्तव्य मुलुक स्थित नेपाली दूतावासहरुलाई यससम्वन्धि जानकारी पठाइएको भन्दै अझै पनि कोहि उद्दारमा छुटेको भएमा नाम पठाउन आग्रह गरे ।

विगत ६ महिनामा मन्त्रालयले गरेका कामको जानकारी गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा श्रम सचिव रायाले उद्दारका लागि वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग हुने र सो रकम वैदेशिक रोजगारमा गएकाहरुले नै जम्मा गरेको रकम भएको, सो रकम खर्च गर्न ऐन, नियमावलीले एउटा सीमा तोकेको भन्दै सोही ऐनमा आधारित रहेर बनाइएको उद्दार सम्वन्धि निर्देशिका केहि कडा भएको आफूहरुलाई पनि लागेको बताए । श्रम मन्त्रालयले ढिलो गरी धेरै अप्ठ्यारा प्रावधान सहित तयार पारेको कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्दार गरी स्वदेश फिर्ता गर्ने सम्वन्धि निर्देशिका २०७७ कै कारण विदेशमा रोजगारी गुमाएका तथा अलपत्र परेकाहरुको उद्दारमा सरकारी मद्दत पुगेको थिएन । उद्दारमा अलमल गरेको सरकारको सो समयमा चर्को अलोचना भएको थियो ।

मन्त्रालयका अनुसार कोभिड-१९ का कारण समस्यामा परेर स्वदेश फर्किनुपर्ने अवस्थाका मध्ये १ सय ८७ जनाको उद्दार सरकारी खर्चमा भएको छ । यसका लागि मलेसिया, कतार, साउदी अरब, संयुक्त अरव ईमिरेट्स (युएई), बहराइन लगायतका मुलुकहरुमा १ करोड ४५ लाख रकम पेश्की पठाइएको मन्त्रालयले जनाएको छ । निर्देशिकाको अप्ठ्यारो प्रावधानकै कारण दूतावासहरुले सरकारी खर्चमा उद्दारका लागि रकम माग गरेका थिएनन् । संकटको समयमा पनि थोरै संख्यामा मात्र नेपालीको उद्दार गरिएको विषयमा सोधिएको प्रश्नमा सचिव रायाले उद्दारको विषय थोरै वा धेरै भनेर संख्यामा हेर्न नमिल्ने तर्क गरे । उनले रकमको अभाव नभएपनि जथाभावी खर्च गर्न ऐन अनुसार नै नमिल्ने भन्दै बचाउ गरे ।

यसअघि श्रम मन्त्री गौरीशंकर चौधरीले वैदेशिक रोजगारीको सिलसिलामा कोभिढ १९ लगायतका कारण समस्यामा परी फर्किएका नेपाली श्रमिकलाई सामाजिक एवं आर्थिक पुनर्एकिकरण गर्ने उद्देश्यले वैदेशिक रोजगार बोर्ड सचिवालयबाट तयार पारिएको पुनर्एकिकरण कार्यविधि (सञ्चालन तथा व्यवस्थापन), २०७७ मन्त्रालयबाट स्वीकृतिको चरणमा रहेको बताएका थिए । उनले वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले मन्त्रालयले काम सुरु गरिसकेको बताए । वैदेशिक रोजगारमा जानेहरु तथा श्रम स्वीकृति नविकरण गर्नेहरुलाई अनलाइन मार्फत नै सवै काम हुनेगरी काम भइरहेको पनि उनको भनाई थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय