प्रोटोकलमा हस्ताक्षरसँगै ईजरायलको रोजगारी खुल्ला, ईजरायली नागरिक सरह सुविधा पाउने

ईजरायलमा केयर गिभरका रुपमा काम गर्नेगरी ५ सय नेपाली पठाउने गरी नेपाल र ईजारायलबीच प्रोटोकलमा हस्ताक्षर भएको छ । विहिवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहाल तथा नेपालका लागि ईजरायली राजदूत खनान गोडेरले हस्ताक्षर गरे । नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि सो ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार ५ सय नेपालीले ईजरायलमा केयर गिभरको रुपमा रोजगारी प्राप्त गर्नेछन् । सो रोजगारीमा दुई देशका सरकारी निकायबीचका संलग्नतामा श्रमिक पठाइनेछ । यसमा कुनै पनि नीजि क्षेत्रलाई समावेश गरिएको छैन । यसअगाडी ईजरायलमा नेपालीलाई रोजगारीका लागि केयरगिभर लगायतमा खुल्ला भएपनि नीजि क्षेत्रबाट श्रमिक पठाउँदा चर्को रकम असुलिएका कारण ईजरायलले नेपाली श्रमिक लिन रोकेको थियो । लामो प्रयत्नपछि नेपाल र ईजरायलबीच सरकारी तहबाट नै श्रमिक आदानप्रदान गर्नेगरी सम्झौता भएको छ । सोही सम्झौतालाई कार्यान्वयन गर्नेगरी प्रोटोकलमा हस्ताक्षर भएको हो ।

सो अवरमा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी केयरगिभरको रुपमा नेपाली श्रमिकका लागि रोजगारी खुल्ला गरेकोमा ईजरायललाई धन्यवाद दिंदै कृषि क्षेत्रको रोजगारीमा पनि नेपालीलाई अवसर दिन आग्रह गरे । उनले नेपालीले ईजरायलमा गएर कृषि क्षेत्रको सीप र ज्ञान हासिल गरेर स्वदेश फर्केर नेपालमा पनि कृषि क्षेत्रको विकासका लागि काम गर्ने धारणा राखे । उनले केयरगिभरमा रोजगारी खुल्ला हुनु पहिलो चरणको काम भएको भन्दै प्रविधिको क्षेत्रमा पनि दक्ष नेपालीका लागि ईजरायल अवसर हुने भन्दै त्यसका लागि पनि नेपाल ईच्छुक रहेको बताए ।

सो अवसरमा बोल्दै नेपालका लागि ईजरायली राजदूत खनान गोडेरले ईजरायलमा रोजगारीका लागि जाने नेपाली श्रमिकले ईजरायली नागरिकले सरह सेवा सुविधा प्राप्त गर्ने बताए । उनले पहिलो चरणमा नेपाली श्रमिक केयर गिभरको रुपमा काम गर्न जाने भन्दै कुमार र गणेशको कथाको सन्दर्भ निकालेर आमाबाबुको सेवा गर्ने गणेश विजयी भए झैं ईजरायलमा पनि बाबुआमाको सेवामा जानेहरुले त्यहि रुपमा काम गर्ने विश्वास व्यक्त गरे । उनले लामो समय देखि रोकिएको नेपाली श्रमिक ईजरायल जाने प्रकृया सुरु हुन लागेको भन्दै कोभिड १९ को महामारीका बीचमा पनि दुवै देशका सरकारी अधिकारीहरुले निरन्तर प्रयत्न गरेर प्रोटोकलमा हस्ताक्षर गर्ने अवस्थामा पुग्न सफलता मिलेको बताए ।

सो अवसरमा विभागका महानिर्देशक कुमार दहालले दुई देशको सरकारी तहबाट नै श्रमिक आदानप्रदान गर्नेगरी गरिएको सम्झौता कार्यान्वयनका लागि विभागले अनलाइन मार्फत आवेदन दिने प्रकृयालाई पारदर्शी रुपमा अवलम्वन गर्ने र त्यो नेपाली र अंग्रेजी दुवै भाषामा हुने बताए । यसैगरी सम्झौता कार्यान्वयनका लागि विभागले आवश्यक अन्य तयारीहरु पनि सुरु गर्ने जानकारी दिए ।
ईजरायलमा हाल दुई हजार ५ सयको हाराहारी केयरगिभर कार्यरत छन् । आकर्षक तलव तथा आप्रवासी श्रमिकको अधिकारको ग्यारेण्टी गरिएको मुलुक ईजरायलको रोजगारी नेपालीका लागि आकर्षक मानिन्छ । इजरायलको श्रम कानून निकै नै श्रमिकमैत्री भएकाले तुलनात्मक हिसाबले अन्य देशभन्दा कम समस्या आउने गरेको छ ।

गत असोज १४ गते नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’मा हस्ताक्षर भएको थियो । सम्झौतामा नेपालका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य र इजरालयका तर्फबाट त्यहाँका परराष्ट्रमन्त्री गावी अस्खेनाजीले हस्ताक्षर गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय