कोभिडका बीच सेवा, तर छैन व्यक्तिगत सुरक्षाका साधन

दक्षिण एसियाका महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफूहरुले गरिरहेको कामको पहिचान र सम्मान गर्न तथा महामारीको समयमा सुरक्षाका लागि व्यक्तिगत सुरक्षाका साधनहरु उपलव्ध गराउन माग गरेका छन् । उनीहरुले जोखिमपूर्ण क्षेत्रको काममा संलग्न हुनुपर्ने आफूहरु न्यूनतम पारिश्रमिक तथा व्यक्तिगत सुरक्षाका उपकरणहरु विना नै कार्यक्षेत्रमा खटिनु परेको गुनासो गरे ।

पव्लिक सर्भिस ईण्टरनेशनल (पिएसआई) तथा विभिन्न देशका यूनियनहरुले शुक्रवार आयोजित एक भर्चुअल कार्यक्रमबीच स्वास्थ्य क्षेत्रमा कार्यरत श्रमिकको कामको पहिचान गर्न, नीति निर्माण तहमा उनीहरुको सामुहिक आवाज पुर्याउन, व्यवसायजन्य स्वास्थ्य सुरक्षाको ग्यारेण्टी गर्न, कामको सम्मान गर्न, स्वास्थ्य क्षेत्रमा स्वयंसेविको रुपमा कार्यरतहरुलाई ध्यान दिन माग गरे ।

पिएसआईले भर्चुअल रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाल, भारत तथा पाकिस्तानमा स्वास्थ्य स्वयंसेविकाको रुपमा कार्यरतहरुले आफ्नो अनुभव सुनाउँदै असुरक्षित काम गर्ने वातावरणका कारण थुप्रै आफ्ना सहकर्मीहरु कोभिड-१९ को संक्रमणको चपेटामा परेको बताए । उनीहरुले स्वस्थ्य स्वयंसेवी भएर काम गर्दाका चुनौतिका बारेमा चर्चा गर्दै महामारीले आफूहरुको कामलाई अझ चुनौतिपूर्ण बनाएको तर सरकारले आफूहरुको कामलाई कुनै सम्मान नगरेको धारणा राखे ।

सो अवसरमा नेपाल स्वास्थ्य स्वयंसेवि संघ (नेभा) की उपाध्यक्ष गीता थिङले नेपालमा मातृ मृत्युदर तथा बाल मृत्युदर घटाउन कसरी धेरै टाढा टाढासम्म पुगेर स्वास्थ्य स्वयंसेविकाहरुले सेवा दिए भनेर स्मरण गरिन् । यद्यपी सरकारले उनीहरुलाई स्वायंसेवकको रुपमा मात्र लिने गरेको उनको भनाई थियो । सरकारले धेरै जिम्मेवारी दिएपनि काम अनुसार पारिश्रमिक नदिएको थिङको भनाई थियो । आफूहरुले आफ्नै खर्चमा समेत कतिपय ठाउँमा जानुपर्ने बाध्यता रहेको भन्दै उनले आफूहरुलेसमुदायलाई सेवा दिन पहिचान नै बनाईसकेको धारणा राखिन् ।

यसैगरी स्वास्थ्य स्वयंसेवि संगठन (हेभोन) की कोषाध्यक्ष ज्योत्सना शाक्यले कसरी स्वास्थ्य स्वयंसेविकाहरुले कोभिड-१९ का बारेमा समुदायस्तरमा सचेतना फैलाउन काम गरे भन्ने बारेमा प्रकाश पारिन् । बन्दाबन्दी सुरु हुनु अगाडी नै आफूहरुले माईक मार्फत कोभिडको महामारी तथा त्यसबाट बच्नका लागि मास्क लगाउने, एकआपसमा भौतिक दुरी कायम गर्ने लगायतका उपायका विषयमा ग्रामिण तहमा जानकारी पुर्याउने काम गरेको उनको भनाई थियो ।

पत्रकार सम्मेलनमा भारतमा महिला स्वास्थ्य स्वयंसेविका रुपमा कार्यरत यमुना टेकामले आफ्ना कतिपय सहकर्र्मीहरु मास्क विना नै जोखिमपूर्ण क्षेत्रमा काम गर्न बाध्य पारिएका कारण कोभिड १९ को संक्रमणमा परेको बताइन् । जव सरकारले घरमै बस्न आव्हान गरिरहेको थियो, हाम्रो परिवारले पनि हामीलाई घर बाहिर नजान दवाव दिएको थियो यमुनाले भनिन्, तर स्थानीय प्रशासनले हामीलाई काममा जान बाध्य पारेको थियो । उनले आफूहरुले कोभिड-१९ को जोखिमका विच काम गर्नुपरिरहेका कारण आफूहरुले पनि व्यक्तिगत सुरक्षाका साधनहरु पाउनु पर्ने र तलव सुविधा पाउनु पर्ने माग गरिन् ।

यसैगरी पाकिस्तानमा स्वास्थ्य स्वयंसेविका रुपमा कार्यरत हलिमा जालक्वारैनले पाकिस्तानमा आम नागरिकले आफूहरुले गरिरहेको कामलाई उनीहरुको सुरक्षाका लागि गरिरहेको रुपमा बुझ्ने गरेको बताइन् । धेरै मानिसहरु कोभिड-१९ को त्रासका कारण काममा जान नसकिरहेको समयमा पनि स्वास्थ्य स्वयंसेविहरु सेवाका लागि मैदानमा खटिएको तर व्यक्तिगत सुरक्षाका साधनहरु समेत पाउन नसकेको उनको भनाई थियो । उनले २२ जनाभन्दा बढी आफ्ना सहकर्मीहरु कोभिड १९ को संक्रमणमा परेको बताइन् । पाकिस्तान दक्षिण एसियामा एउटा मात्र त्यस्तो मुलुक हो जहाँ स्वास्थ्य स्वयंसेविलाई न्यूनतम तलव दिने गरिन्छ । यद्यपी यसका लागि श्रमिकले लामो लडाई लड्नु परेको थियो ।

पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघको स्वास्थ्य अधिकार सम्वन्धि स्पेशल र्यापोर्टर आनन्द ग्रोवरले प्राथमिक स्वास्थ्य सुधारको क्षेत्रमा स्वास्थ्य स्वयंसेविहरुले पुर्याएको योगदानको विशेष महत्व रहेको बताए । उनले महिला स्वास्थ्य स्वयंसेविहरुले गरेको कामको धेरै महत्व भएपनि उनीहरु महिला भएकै कारण भेदभावमा पारिएको धारणा राखे ।

यसैगरी पिएसआईकी महासचिव रोसा पाभनेलीले स्वास्थ्य स्वयंसेविहरुले विशेषगरी टाढाका गाउँहरुमा तथा सिमान्तकृत समुदायलाई सेवा दिने गरेको धारणा राखिन् । तसर्थ उनीहरुलाई तालिम दिन, उनीहरुको पहिचान गरी सम्मान दिन आवश्यक रहेको उनको भनाई थियो ।

नेपालमा महिला स्वास्थ्य स्वयंसेविका भनेर कृयाशिल भएजस्तै भारत तथा पाकिस्तानमा पनि ठूलो संख्यामा महिलाहरु स्वास्थ्य स्वयंसेवीको रुपमा कार्यरत छन् । उनीहरुले ग्रामिण क्षेत्रको स्वास्थ्य अवस्था सुदृढिकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदानका कारण नै नेपालमा शिशु मृत्युदर तथा बाल मृत्युदर घटाउन उल्लेख्य सफलता मिलेको अन्तराष्ट्रिय निकायहरुले समेत भन्दै आएका छन् । नेपाल सरकारले पनि स्वास्थ्य स्वयंसेविकाहरुको योगदानको समय समयमा प्रशंसा गरेपनि उनीहरुले उचित सम्मान र पारिश्रमिक पाउन सकेका छैनन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय