कतारमा आप्रवासी घरेलु श्रमिकमाथि यौन दुव्र्यवहार र शोषणः एम्नेष्टि

एम्नेस्टी इन्टरनेसनलको एउटा नयाँ प्रतिवेदनले अत्यधिक कामको बोझ, विश्रामको अभाव, दुव्र्यवहार र अपमानजनक व्यवहारका कारण कतारमा कार्यरत आप्रवासी घरेलु श्रमिकहरू विक्षिप्त हुने अवस्थामा धकेलिएको निश्कर्ष निकालेको छ ।

आवासीय घरेलु श्रमिकको रूपमा कतारमा कार्यरत १ सय ५ जना महिलाहरूसँग गरेको कुराकानीका आधारमा एम्नेष्टिले सो निश्कर्ष निकालेको हो । सो संस्थाले विज्ञप्ती जारी गर्दै कतार सरकारले श्रमिकको अवस्था सुधार्ने उद्देश्यले प्रयासहरू गरेपनि अझै पनि उनीहरूको अधिकारको उल्लंघन भइरहेको जनाएको छ । विज्ञप्तीमा केही महिलाहरूले त आफूहरू यौन दुव्र्यवहार जस्तो गम्भीर अपराधको शिकार भएको समेत बताएको जनाइएको छ ।

सन् २०१७ मा कतारले घरेलु श्रमिक ऐन लागू गरेको थियो जसले काम गर्ने दैनिक समयसीमा तोक्नुका साथै अनिवार्य दैनिक विश्राम, हप्ताको एक दिन विदा र तलवी विदाको व्यवस्था गरेको थियो । तीन वर्ष बितिसक्दा पनि एम्नेष्टीले सम्पर्क गरेका १ सय ५ जना मध्ये ९० जना महिलाले नियमित रूपमा प्रति दिन १४ घण्टा भन्दा धेरै काम गरेको जनाएका थिए । यसैगरी ८९ जनाले नियमित रूपमा हप्ताको सातै दिन काम गरेको र ८७ जनाले त उनीहरूको रोजगारदाताले आफ्नो राहदानीसमेत जफत गरेको बताएको जनाइएको छ ।

कुराकानी गरिएका मध्ये आधाजसो महिलाले दैनिक १८ घण्टा भन्दा धेरै काम गरेको र सबैले एक दिन पनि कहिल्यै विदा नपाएको बताएको विज्ञप्तीमा उल्लेख छ । केहीले उचित पारिश्रमिक नपाएको र ४० जना महिलाले त आफूलाई अपमान गरिएको, झापड हानिएको र थुकिएको समेत जनाएको उल्लेख छ । एक महिलाले आफूलाई “कुकुर सरह” व्यवहार गरेको बताएको एम्नेष्टिले उल्लेख गरेको छ ।

“सन् २०१७ मा ल्याइएको घरेलु श्रमिक ऐन कतारमा श्रमिकअधिकार संरक्षणको सवालमा भएको एउटा अग्रगामी कदम थियो । तर दुखद् कुरा के छ भने हामीले कुरा गरेको महिलाका अनुभवहरूले यी सुधारहरूलाई ठीकसँग कार्यान्वयन वा लागू नगरिएको स्पष्ट भएको छ” एम्नेष्टीका आर्थिक, सामाजिक न्याय शाखाका प्रमुख स्टिभ कक्बर्नले भनेका छन् ।

“घरेलु श्रमिकहरूले हामीलाई दिनको औसत १६ घण्टासम्म र हप्तैभरी काम गरेको सुनाए जुन कानुनले निर्धारण गरेको भन्दा धेरै हो । लगभग सबैको राहदानी रोजगारदाताले जफत गरेका थिए र अन्यले भने आफ्नो पारिश्रमिक नपाएको र आफूलाई क्रुर आक्रमण र अपमानको शिकार बनाइएको विवरण दिएका छन् । यो समग्र अवस्थाले कतारमा रोजगारदाताले घरेलु श्रमिकलाई मानिस भन्दा वस्तुको रूपमा व्यवहार गर्न पाउने प्रणाली विद्यमान रहेको चित्रण गर्दछ” विज्ञप्तीमा जनाइएको छ ।

कतारमा लगभग १ लाख ७३ हजार घरेलु आप्रवासी श्रमिकहरू छन् । एम्नेस्टी इन्टरनेसनलले अन्तर्वार्ता लिएका केही महिलाहरू अझै उनीहरूको काममा थिए । केही भने काम छाडिसकेका भएपनि कतारमै बसिरहेका थिए र अन्य श्रमिकहरू भने आफ्नो देश फर्किसकेका थिए । श्रमिक महिलाहरूले विवरण दिएका रोजगारदाताहरू पनि विभिन्न देशबाट आएका थिए । पहिचानको गोपनीयताका लागि सबैको नाम परिवर्तन गरिएको एम्नेष्टिले जनाएको छ ।

कतारले हालका वर्षहरूमा आप्रवासी श्रमिकहरूको काम गर्ने अवस्था सुधारका लागि धेरै पहलहरू गरेको छ । घरेलु श्रमिक र उनीहरूका रोजगारदाताका लागि सचेतना अभियान शुरू गरेको छ र घर बाहिर बस्ने घरेलु श्रमिकका लागि एउटा पाईलट कार्यक्रम लागू गरेको छ ।

यसैगरी पछिल्लो समय कतारले न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ र काम परिवर्तन गर्न वा देश छोड्नका लागि रोजगारदाताको अनुमति पेश गर्नु पर्ने आवश्यकतालाई अन्त्य गरेको छ । यी नयाँ कानुनी परिवर्तनहरूले श्रमिकलाई शोषणकारी रोजगारदाताहरूबाट उम्कन सजिलो बनाउन सक्ने भएतापनि सुरक्षाको सुदृढीकरण र कानुन कार्यान्वयनको सुनिश्चितताका लागि अतिरिक्त उपायहरूबिना यिनले उल्लेखनीय रूपमा दुव्र्यवहार नघट्ला र घरेलु श्रमिकको अवस्थामा पनि सुधार नआउला भन्ने एम्नेष्टिको ठहर छ ।

विज्ञप्तीमा घरेलु श्रमिकहरूले भोगेका दुव्र्यवहार मध्ये बिना विश्राम लामो समयसम्म काम गर्नुपर्ने कुरा सवैभन्दा धेरै देखिएको साझा समस्या रहेको उल्लेख छ । उनीहरूको करारपत्रअनुसार घरेलु श्रमिकहरूले धेरैमा १० घण्टा र हप्ताको ६ दिन मात्र काम गर्नु पर्ने र यो अन्तराष्ट्रिय श्रम सङ्गठनले निर्धारण गरेको भन्दा पनि उच्च मापदण्ड हो । तर एम्नेष्टीले कुराकानी गरेका प्रायः महिलाहरूले यो भन्दा धेरै नै बढी समय काम गरिरहेका थिए र उनीहरूले दिनको औसत १६ घण्टा काम गर्थे जुन हप्तामा १ सय १२ घण्टा हुन पुग्दछ । तर उनीहरूलाई अतिरिक्त समय काम गरेकोमा कुनै पारिश्रमिक नदिइएको पाईएको एम्नेष्टिको ठहर छ ।

अन्तर्वार्ता गरिएका मध्ये कम्तीमा २३ जना महिलाले काम गर्दा आफूलाई पर्याप्त खान नदिएको र भोकै रहनुपरेको बताएका थिए । कतिपयले कोचाकोच भरिएको कोठामा सुत्नुपरेको, केहीले त भुईंमा र एयर कन्डिसन नभएको कोठामा सुतेको पनि बताएको विज्ञप्तीमा जनाइएको छ । यसैगरी कुराकानी गरिएका ४० जना महिलाहरूले आफूहरू शाब्दिक र शारीरिक दुव्र्यवहारमा परेको र प्रायले अपमानजनक व्यवहार, चिच्याएर गरिएको गालिगलौच र अन्य अपमानहरू सहनु परेको उल्लेख छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय