आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षण सम्वन्धी अन्तराष्ट्रिय सम्मेलन आज सुरु हुँदै

काठमाडौं, कात्तिक २६-

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा नेपालमा आजदेखि आप्रवासी कामदारको मानव अधिकार संरक्षण सम्वन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलनमा राष्ट्रिय मानव अधिकार संस्थाहरुको विश्वव्यापी सञ्जालका प्रमुख सहित २५ भन्दा बढी मुलुकका मानव अधिकार आयोगका प्रतिनिधिहरु, सरकारी प्रतिनिधिहरुका साथै गैरसरकारी संस्था तथा ट्रेड यूनियनहरुका प्रतिनिधि सहभागि हुनेछन् ।

सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनबाट हुनेछ । सम्मेलनमा सहभागि हुन माल्दिभ्स, कतार, कुवेत, मलेसिया, मंगोलिया, केन्या, दक्षिण अफ्रिका, बहराइन, साउदी अरेविया लगायतका मुलुकहरुबाट पनि प्रतिनिधिहरु आउने तय भएको आयोगले जनाएको छ । यसैगरी सो सम्मेलनमा नेपालबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायत विभिन्न सरकारी निकायहरु, वैदेशिक रोजगार व्यवसायीहरु, आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणमा क्रियाशिल गैरसरकारी संस्थाहरुका प्रतिनिधिहरु, विज्ञ गरी ४५ जना सहभागि हुने आयोगले जनाएको छ ।

तीनदिनसम्म चल्ने सम्मेलनमा ५ वटा मुख्य विषयहरुमा छलफल हुने छन्  । सम्मेलनमा आप्रवासी कामदारहरूको व्यवस्थापन तथा आप्रवासी कामदारहरुको अधिकार, स्वच्छ एवं जिम्मेवार भर्ना प्रक्रियाको प्रोत्साहन, अनियमित आप्रवासनका विषयहरु, आप्रवासी कामदारको न्यायमा पहुँचको सुनिश्चितता तथा आप्रवासी कामदारहरुको मानवअधिकार रक्षामा विभिन्न मुलुकका मानव अधिकार आयोगहरुवीच समन्वय लगायतका विषयहरूमा छलफल हुने आयोगले जनाएको छ ।

यसैगरी सम्मेलनबाट आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणमा दक्षिण एशिया तथा एशिया प्रशान्त क्षेत्रका उत्पत्ति मुलुकहरु, बाटोमा पर्ने मुलुकहरु र गन्तव्य मुलुकहरुमा देखिएका चुनौतिहरु, स्वच्छ र जिम्मेवार भर्ना प्रकेया, अनियमित आप्रवासनलाई सम्वोधन गर्ने साझा सवाल तथा न्यायमा पहुँचको सुनिश्चितताका सम्भावना सम्वन्धमा कार्ययोजना तयार गरी आगामी दिनमा सामुहिक प्रयास मार्फत अगाडी बढ्ने अपेक्षा गरिएको आयोगका सदस्य पाठकले जानकारी दिए । 

सम्मेलनको निश्कर्षका रुपमा काठमाडौं घोषणा पत्र जारी हुने आयोगका सदस्य सुदीप पाठकले जानकारी दिए । सदस्य पाठकका अनुसार सो घोषणा पत्रको कार्यान्वयनको कार्ययोजना समेत बनाइने छ । सम्मेलन आप्रवासी कामदारहरुको अधिकार संरक्षणका लागि एउटा महत्वपूर्ण कार्यक्रम हुने भन्दै यसलाई अन्य मुलुकहरुले आगामी बर्षमा निरन्तरता दिने अपेक्षा राखेको सदस्य पाठकले बताए । 

सम्मेलनका क्रममा समग्र आप्रवासी कामदारहरूको अधिकार संरक्षणका सन्दर्भमा अन्तरदेशीय राष्ट्रिय मानव अधिकार संस्थाहरूबिच सहयोग आदान प्रदान, अन्तरदेशीय सरकारी तथा गैरसरकारी संस्थाहरूबिच संवाद र सहकार्यबाट समाधानका उयायहरु खोजिने अपेक्षा गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: