बैंकले पत्याएनन् विदेशबाट फर्केका युवालाई

 

काठमाडौं, साउन २३-

बैदेशिक रोजगारबाट फर्केकाहरुलाई स्वदेशमा नै उद्यमी बनाउने उद्देश्यले सरकारले अगाडी सारेको सहुलियतपूर्ण ऋणको योजनालाई बैंकहरुले असहयोग गरेका छन् । सरकारले ऋणमा सहुलियत तथा कर्जा सुरक्षणको व्यवस्था गरेपनि बैंकहरुले ऋण लगानीमा भनें आनाकानी गर्ने कायमै छ ।

बैदेशिक रोजगारबाट फर्केकाहरुको संस्था रिटर्नी माइग्रेण्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले बैंकहरु यो ऋण दिन ईच्छुक नै नभएको बताएका छन् । उनले अधिकाँश बैंकहरुले यस्तो ऋण माग गर्दै जाने बैदेशिक रोजगारबाट फर्केका व्यक्तिको फाइल नै लिन नमान्ने र लिइहालेमा पनि ऋण दिन तत्पर नहुने बताए । उनले सहुलियतपूर्ण ऋणको कार्यविधिमा यदि ऋण दिन नमिल्ने भएमा के कति कारणले ऋण दिन नसकिने हो त्यसको लिखित जवाफ २१ दिन भित्रमा दिनुपर्ने व्यवस्था भएपनि कुनै पनि बैंकले त्यसो गर्न नमाने बताए । युवा परिषद तथा रिटर्नी माइग्रेण्ट नेपालद्दारा आयोजित कार्यक्रममा अधिकारीले भने सरकारले ठूलो आशा देखायो तर कार्यविधिले त्यसलाई खुम्च्याउने काम गर्यो र बैंकहरुले अझ निराश बनाउने काम गरे ।

तर बैकर्स एसोशिएसन नेपालका अध्यक्ष ज्ञानेन्द्र ढुँगानाले भनें कुनै पनि बैंकले आँखा चिम्लेर लगानी नगर्ने भन्दै ऋण लिन आउनेले के कुरामा कर्जा लगानी हुन्छ र त्यो कर्जा कसरी तिर्ने योजना छ भन्ने मुख्य रुपमा हेर्ने बताए । उनले विदेशमा गरेको काममा नै नेपालमा लगानी गर्नुपर्ने, कर्जा नउठेमा कर्जा सुरक्षण निगमबाट साढे ५ बर्ष पश्चात मात्र वीमाको रकम पाइने लगायत विषयले बैंकहरुलाई समस्या परेको तर्क गरे । उनले कार्यविधि संशोधन गरेर यसमा सहजता ल्याउने हो भनें बैंकहरु ऋण लगानी गर्न तत्पर नै रहेको बताए । सुरुवाती दिनमा केहि अन्यौल रहेको र बैंकहरुले आफ्ना सवै शाखा कार्यालयहरुमा सुचना समेत नपठाइसकेको अवस्थामा ऋण लिन गएकाहरुलाई कर्मचारीले उचित जवाफ दिन नसकेको हुने भन्दै अव त्यस्तो कुनै अन्यौल नरहेको तर्क गरे ।

यसअघि युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनारले सरकारले युवालाई स्वदेशमा नै उद्यमी बनाउने उद्देश्यले अगाडी सारेको कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सवै प्रतिवद्ध हुनुपर्ने बताए । उनले कार्यविधिमा कुनै कुरा नमिलेको भएमा संशोधन मार्फत मिलाउन पहल गर्ने भन्दै बैंकहरुलाई ढुक्क भएर ऋण प्रवाह गर्न आग्रह गरे ।

मन्त्री सुनारले विकास र समृद्दिको लक्ष्य हासिल गर्ने एउटा कार्यक्रमका रुपमा लिइएको कार्यक्रमलाई सफल बनाउन युवालाई परिचालित गर्नुपर्ने आवश्यकता औंल्याए । उनले विदेशमा श्रम गरेका नेपालीले केवल पुँजी मात्र कमाएको नभई हासिल गरेको ज्ञान र सीपलाई पनि मुलुकभित्रै लगानी गर्ने वातावरण निर्माण गर्न सरकारले चाहेको बताए । तर ठूलो अपेक्षाका साथ सरकारले अगाडी सारेको कार्यक्रममा हालसम्म ५० जनाले समेत ऋण प्राप्त गर्न नसकेको सुन्दा आफूलाई दुःख लागेको र यो लज्जाको विषय भएको बताए ।

कार्यक्रममा बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले यसअघि बोर्डमा संकलित १८ हजार भन्दा धेरै निवेदन श्रम मन्त्रालय मार्फत अर्थ मन्त्रालय तथा राष्ट्र बैंकमा पनि पठाइएको र वाणिज्य बैंकहरुसँग पनि छलफल गरिएको जानकारी दिए । उनले स्वदेशमा नै काम गर्छु भनेर आउने युवालाई प्रोत्साहित गर्नुपर्ने भन्दै यसमा बोर्डले समन्वय मात्र गरेको प्रष्ट्याए ।

कार्यकारी निर्देशक श्रेष्ठले वाणिज्य बैंकहरुले ऋण प्रवाह गरेर आफ्नै देशमा उद्यमी हुन्छु भन्ने चाहना राख्नेहरुलाई प्रोत्साहित गर्नुपर्ने भन्दै कुनै समस्या भएको भएमा सहजिकरणका लागि सरकारी निकाय तयार रहेको धारणा राखे । आवश्यक कागजात पुगेका तथा कर्जा पाउन योग्यहरुलाई ऋण नरोक्न उनले बैंकहरुलाई आग्रह गरे ।

यसैगरी राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुँगेलले अर्थ मन्त्रालयले सहुलियपूर्ण व्याजदरको ऋण १६ हजार भन्दा धेरैले पाएको बताइरहेपनि बैदेशिक रोजगारबाट फर्केकाहरुले भनें अत्यन्तै न्यून व्यक्तिले मात्र ऋण पाएको बताए । उनले बैंकलाई परेको अप्ठ्यारो स्पष्ट गर्न आग्रह गर्दै त्यसलाई सुल्झाउन परिषदले समन्वयकारी भूमिका खेल्ने बताए । बैंकलाई डुवाउन आफूहरु पनि उद्दत नरहेको भन्दै ऋण लिएपछि तिर्नु पर्छ भन्ने भावनाको विकास गर्न परिषदले युवाका लागि वित्तिय साक्षरता तालिमहरु सञ्चालन गरिरहेको जानकारी गराए ।    

समस्या सीप प्रमाणिकरण

बैदेशिक रोजगारबाट फर्केकाहरुलाई प्रवाह गरिने सहुलियपूर्ण ऋणमा सीप प्रमाणिकरणको विषय मुख्य समस्या देखिएको छ । विदेशमा काम गरेर फर्केका मध्ये अधिकाँशसँग ति मुलुकमा गरेको कामको सीप झल्कने प्रमाणपत्रको अभाव एउटा समस्या हो । यसैगरी कतिपयले बैदेशिक रोजगारमा रहँदा सप्लाई कम्पनी मार्फत रोजगारीमा रहँदा भिन्न भिन्न काम गरेको र त्यसरी काम गरेकाहरुसँग पनि सीपको प्रमाणपत्रको अभाव देखिएको छ । त्यसैले कार्यविधिमा सो विषय संशोधन गरिनुपर्ने यस क्षेत्रका जानकारहरुको भनाई छ ।

अर्कातर्फ विदेशमा जुन काम गरेको हो नेपालमा पनि त्यहि काममा मात्र ऋण प्रवाह गर्न पाइने कार्यविधिको व्यवस्थाले पनि समस्या सिर्जना गरेको छ । विदेशमा सेक्यूरिटी गार्डको काम गरेका लाखौं व्यक्तिले नेपालमा के त्यहि उद्यम गर्न सम्भव छ ? रिटर्नी माइग्रेण्ट नेपालका अध्यक्ष अधिकारीले प्रश्न गरे त्यसरी सेक्यूरिटी गार्डको काम गरेर फर्केकाहरुले त्यहि योग्यताका आधारमा नेपालमा सो प्रकृतिको कम्पनी समेत खोल्न नपाउने व्यवस्था छ । भूतपूर्व सैनिक वा भूतपूर्व प्रहरीले मात्र त्यस्तो कम्पनी सञ्चालन गर्न पाउने कानूनी अवस्थाका वीच सहुलियतपूर्ण कर्जा सम्वन्धी कार्यविधिले समस्या खडा गरेको उनको भनाई छ ।

बैंकर्स एसोशिएसनका अध्यक्ष ढुँगानाले पनि विदेशमा चलाएको गाडी नेपालमा नहुने वा विदेशमा लेवरको काम गरेर फर्केको व्यक्तिलाई कुनै एदमका लागि ऋण प्रवाह गर्न कार्यविधिले नै रोकेको भन्दै त्यसमा संशोधन हुनुपर्ने बताए ।

छलफलमा बैदेशिक रोजगारीमा गएर फर्केका ३२ जिल्लाका प्रतिनिधिहरु सहभागि थिए । उनीहरुले सो ऋणलाई सहज रुपमा प्रवाह गरी स्वदेशमा नै उद्यम गर्ने र पुनः बैदेशिक रोजगारमा जानु नपर्ने अवस्था निर्माण गरिदिन आग्रह गरेका थिए । 

यो पनि पढ्नुहोस् ईदको छुट्टीमा नगर्नु यी काम

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: