महिला बेचविखनः क्षेत्र र प्रयोजन फैलिंदै

काठमाडौँ, साउन १४-

विगतमा नेपाली महिलाको बेचबिखन भारतका कोठीहरूमा यौन शोषणका लागि हुन्थ्यो । अहिले भने बेचबिखनको क्षेत्र र प्रयोजन फैलिँदै गएको छ । विश्वका विभिन्न देशमा विविध स्वरूपमा मानिसको बेचबिखन हुने गरेको छ । भारतमा बेचिने प्रवृत्ति अहिले खाडी मुलुक र अफ्रिकी मुलुकमा फैलिएको छ । दक्षिण एसियाकै श्रीलङ्का, माल्दिभ्सलगायत देशमा समेत यौन शोषणका लागि महिलालाई पु¥याइएका जानकारी प्रहरीमा आउने गरेको छ ।  होटल तथा रेस्टुराँहरूमा रोजगारी दिने प्रलोभनमा पारी नेपाली महिलालाई बाध्यात्मक श्रम र यौन शोषणका लागि ती देशमा पु¥याइने गरेको पाइन्छ । नेपाल सरकारले मानव बेचबिखनलाई रोक्ने कार्यलाई उच्च प्राथमिकतामा राखे पनि परिणाम भने आशलाग्दो आएको देखिँदैन ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलियाले यौनदासीका रूपमा भारतमा बेचिने प्रवृत्ति अहिले खाडी मुलुक र अफ्रिकी मुलुकमा फैलिएको बताए । उनले भने, “दक्षिण एसियाकै श्रीलङ्का, माल्दिभ्सलगायत देशमा समेत महिला यौन शोषणका लागि पु¥याइएका सूचनाहरू आउने गरेका छन् ।नेपाल प्रहरीमा आर्थिक वर्ष २०७५/७६ मा मात्र १९० मुद्दा दर्ता भएका छन् । २०७४/७५ मा जम्मा ३०५ वटा बेचबिखन र ओसारपसारका मुद्दा दर्ता भएका थिए ।

औषधोपचार, लोभलालच, विवाह, आफन्त भेटाउने, धाकधम्की, ललाइफकाई, जागिरको प्रलोभन, विदेश घुम्नेजस्ता बहानामा मानव बेचबिखन र ओसारपसार हुने गरेको भनाइ प्रहरीको छ । यस्ता घटनाका अधिकांश प्रभावित भने बालक र पुरुषभन्दा बालिका र महिला हुने गरेको तथ्याङ्क छ ।

कमी आएन बेचबिखन

यौन व्यवसाय र शोषणका लागि महिला बेचबिखनको अवस्थामा पनि कुनै कमी नआएको शक्ति समूहका कानुनी तथा तालिम संयोजक दिलीप कोइराला बताउँछन् । केन्या, तान्जानिया, जापान, चीन, कोरियालगायत देशमा चेलीबेटीको ओसारपसार हुने गरेको उनले बताए । रोजगारीकै लागि भनी गएका महिलाले पनि यौन शोषण भोग्नु परेको छ । त्यस्तै दुबई, कतारजस्ता खाडी मुलुकमा लगिने चेलीबेटीलाई पनि अघोषित रूपमा यौन व्यवसायमा लगाइएको पाइएको छ । चीनमा बच्चा जन्माइदिन र जापानमा श्रममा लगाई आम्दानी खान नेपाली चेलीबेटी पु¥याइने घटना पनि पाइएको कोइरालाले बताए । 

उद्धार गरिएका चेलीबेटीको दिगो पुनस्र्थापना समस्या पनि जटिल भएको भनाइ विभिन्न सङ्घसंस्थाको छ । पुनस्र्थापनाको तथ्याङ्क धेरै भए पनि उनीहरू पुनः बेचबिखनमा परेका घटनाको सङ्ख्या पनि धेरै रहेको उनको भनाइ छ । उनीहरू पुनः बेचबिखनमा नपरून् र सम्मानित जीवन बाँच्न सकून् भन्नका लागि सरकारले पुनस्र्थापनाको मापदण्ड बनाउनुपर्ने उनको सुझाव छ ।

नेपाल हुँदै ओसारपसार

ओसारपसार गर्नेको सङ्गठिन जालोले नेपाललाई ट्रान्जिटको रूपमा प्रयोग गर्ने गरेको पाइएको एसपी थपलियाले बताए । बङ्गलादेश, भारत, पाकिस्तान, अफगानिस्तानलगायत देशका मानिस सीधै ओसारपसार गर्न नसकेपछि विभिन्न बाटो खोज्ने क्रममा नेपाललाई पनि बाटो बनाउने गरेको जानकारी प्रहरीले दिएको छ ।

संयोजक कोइरालाका अनुसार नेपालमै पनि विभिन्न देशका चेलीबेटी शोषणका लागि ओसारपसार गरिएका छन् । उनले भने, “ठमेलमै पनि यहाँ विभिन्न देशका केटी उपलब्ध छन्भनी विज्ञापन गरी यौन व्यवसाय गरिरहेको पाइएको थियो ।

उद्धारमा चुनौती

आधुनिक सञ्चार प्रविधिले अनुसन्धानमा एकातिर सजिलो बनाएको छ भने अर्कातिर जटिलता पनि थपिएको भनाइ प्रहरीको छ । फेसबुक, भाइबरमार्फत हुने अपराधको प्रमाण जुटाउन प्रहरीलाई गाह्रो हुने गरेको एसपी थपलिया बताउँछन् । अर्कोतिर विदेशमा बसेर मानव बेचबिखन र अपराध गर्नेहरूलाई समातेर ल्याउन विभिन्न कानुन, सन्धि, वैदेशिक सम्बन्ध लगायतका जटिलताका कारणका कठिनाइ रहेको उनको भनाइ छ ।

त्यस्तै बेचबिखनमा परेका व्यक्तिको उद्धारका लागि सरकारको निश्चित कार्यविधि नभएकाले उद्धार हुन नसक्ने र लामो समय लाग्ने गरेको संयोजक कोइरालाको भनाइ छ । यसरी लामो समय विदेशकै सेल्टरमा बस्नुपर्दा कतिपय भाग्ने अनि आत्महत्या गर्ने गरेको उनले बताए ।

बेचबिखनविरुद्ध सरकारी प्रयास

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६५ हाल कार्यान्वयनमा छ । ऐनले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानुनबमोजिम बाहेक मानिसको अङ्ग झिक्ने, वेश्यागमन गर्ने कार्यलाई नेपालको कानुनले बेचबिखन भनेको छ ।

मानिसको किनबेचमा संलग्नलाई बढीमा बीस वर्ष कैद र दुई लाख रुपियाँ जरिवाना हुने व्यवस्था ऐनले गरेको छ । यो कानुनको महत्वपूर्ण पक्ष उजुरीको कुनै हदम्याद तोकिएको छैन र जोसुकैले पनि उजुरी गर्न सक्छ । नेपाल सरकारले २०७५ जेठ २६ गते निर्णय गरी नेपाल प्रहरीअन्तर्गत मानव बेचबिखन अनुसन्धान ब्युरो गठन गरेको छ । ब्युरो स्थापना भएपछि मात्र २५१ जनालाई भारत, केन्या, लिबिया, कुवेत, किर्गिस्तान, इराकलगायतका देशबाट उद्धार गरिएको छ । यो समाचार गोरखापत्रमा शान्ति लामाले लेखेकी हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: