त्रिभुवन विश्वविद्यालयमा नयाँ विषयः लेवर स्टडीज

काठमाडौंसाउन १२

त्रिभुवन विश्वविद्यालयमा अव लेवर स्टडीज(श्रम अध्ययन) को पठनपाठन सुरु हुने भएको छ । सो विषयको अध्यनपन सुरु गर्ने निर्णय त्रिभुवन विश्वविद्यालयले गरिसकेको छ । नयाँ विषयका रुपमा लेवर स्टडीजको पढाई सुरु हुने भएपछि त्यसको पाठ्यक्रमको तयारी पनि सुरु भएको छ ।

नेपालमा लेवर स्टडीजको पढाईका लागि विगत केहि समययता प्रयत्न गर्दै आएको  नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) अन्तगर्तको ट्रेड यूनियन पोलिसी ईन्स्टिच्यूट(टुपी)ले प्रस्तावित पाठ्यक्रमका विषयमा छलफल आयोजना ग¥यो । ललितपुरको गोदावरीमा आयोजित सो छलफलमा त्रिभुवन विश्वविद्यालयका विभिन्न विषय र संकायका प्राध्यापकहरु सहभागि थिए ।

कार्यक्रमको औपचारिक सत्रमा प्रमुख अतिथिका रुपमा बोल्दै त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा. शिवलाल भुषालले विगतमा समाजशास्त्र, अर्थशास्त्र लगायतमा श्रम अध्ययनसँग सम्वन्धित केहि विषय समेटिएको भएपनि समग्रमा नसमेटिएको भन्दै नयाँ विषय सुरु हुनु खुशीको कुरा भएको बताए । उनले बजारको माग, विद्यार्थीको रुचिले यस विषयको भविष्य निर्धारण हुने भन्दै जिफन्टले यस विषयलाई समेट्न झक्झक्याएको हुनले आगामी दिनमा पनि अग्रसरता लिइरहने अपेक्षा प्रकट गरे ।

सो अवसरमा बोल्दै त्रिभुवन विश्वविद्यालयकी रेक्टर प्रा.डा. सुधा त्रिपाठीले नेपाल अगाडी बढ्न नसक्नुको एउटा कारण श्रम प्रतिको सम्मान नहुनु रहेको भन्दै यस विषयको पढाईले विद्यार्थी मार्फत राम्रो सन्देश दिन सकिने बताइन् । उनले काम गर्ने मान्छे सानो र काम नगर्ने ठूलो भन्ने मानसिकतामा आमुल परिवर्तन आवश्यक रहेको र त्यसो गर्न सकिएमा मात्र मुलुकको विकास सम्भव हुने धारणा राखिन्  । उनले लेवर स्टडीजको पढाई राज्यमा साँस्कृतिक परिवर्तनको माध्यम बन्न सक्ने भन्दै विश्वविद्यालयले यसलाई कसरी अगाडी बढाउँछ भनेर जिफन्टले पनि निरन्तर सचेत र सतर्क भएर हेरिरहन  आवश्यक रहेको बताइन् ।

कार्यक्रममा ट्रेड यूनियन पोलिसी ईन्स्टिच्यूट(टुपी) की प्रमुख विन्दा पाण्डेले श्रमको सम्मानका लागि प्राज्ञिक क्षेत्रबाट पनि छलफल आवश्यक रहेको बताइन् । उनले जर्मनी, फिलिपिन्स, ब्राजिल, भारत लगायतका मुलुकहरुमा लेवर स्टडीजको अध्यापन हुने गरेको भन्दै नेपालमा पनि यो आवश्यक देखेर प्रयास गरिएको जानकारी गराइन् ।

छलफलमा त्रिभुवन विश्वविद्यालय, विभिन्न अन्य क्याम्पसहरुमा प्राध्यापनमा संलग्न व्यक्तिहरु, श्रम क्षेत्रका विज्ञहरु र जिफन्टका पदाधिकारीहरुले प्रस्तावित पाठ्यक्रममा आफ्नो धारणा राखेका थिए । सहभागिका सुझाव बमोजिम परिमार्जन गरी पाठ्यक्रमलाई अन्तिम रुप दिइनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: