आप्रवासी कामदारहरुको अधिकार संरक्षण सम्वन्धि अन्तराष्ट्रिय सम्मेलन नेपालमा हुने

काठमाडौं, साउन ५-

राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारहरुको अधिकार संरक्षण सम्वन्धि अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ । आगामी कात्तिक २६ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुने सम्मेलनमा विश्वका ३० देशका ९० जना अन्तराष्ट्रिय प्रतिनिधिहरु सहभागि हुनेछन् ।

सम्मेलनका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले सो सम्मेलनमा ३० देशका २४ राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षहरु, सदस्यहरु, अन्तराष्ट्रिय विज्ञहरु, सरकारका प्रतिनिहरु लगायत सहभागि हुने जानकारी दिए । उनले तीन दिनसम्म चल्ने सो सम्मेलनले काठमाडौं घोषणा पत्र जारी गर्ने र सो घोषणपत्रलाई कार्यान्वयन गर्न कार्ययोजना समेत निर्माण गर्ने योजना रहेको बताए ।

पछिल्ला केहि बर्षयता आप्रवासी कामदारहरुको अधिकारका सम्वन्धमा चासोका साथ काम गर्दै आएको आयोगले सम्मेलनका दौरान आप्रवासी कामदारहरुको अधिकार संरक्षणका विषयमा गहन छलफल, टिप्पणी र सवै सरोकारवालाहरुबाट यस विषयमा गरिने प्रतिवद्धता र समस्या समाधानका लागि मार्ग प्रसस्त हुने अपेक्षा गरेको छ ।

सम्मेलनका बारेमा बोल्दै सम्मेलन तयारी समितिका संयोजक समेत रहेका आयोगका सदस्य सुदीप पाठकले हाल विश्वव्यापी रुपमा श्रम आप्रवासन एउटा महत्वपूर्ण विषय बनेको र कामदार पठाउने मुलुकका रुपमा नेपालका लागि यो निक्कै महत्वको विषय भएको बताए । उनले बैदेशिक रोजगारमा कामदार पठाउने मुलुक, यात्राको क्रममा बीचमा पर्ने मुलुकहरु तथा गन्तव्य मुलुकहरुका प्रतिनिधिहरु बसेर गरिने छलफल महत्वपूर्ण हुने बताए ।

 

सदस्य पाठकले सो सम्मेलनमा खाडीका मुलुकहरु जहाँ राष्ट्रिय मानव अधिकार आयोगहरु रहेका छन् ति मुलुकका आयोगले तथा आयोग नभएका मुलुकबाट सरकारी प्रतिनिधिले सहभागिता जनाउने जानकारी दिए । उनले ५० हजार भन्दा धेरै नेपाली कार्यरत मुलुकको प्रतिनिधित्व सम्मेलनमा गराउने गरी तयारी भइरहेको जनाए ।  

सम्मेलनमा विज्ञहरुले कार्यपत्रहरु प्रस्तुत गर्नेछन् । त्यसका लागि आयोगले खुल्ला आवेदन सुरु गरेको छ ।

यसअघि सन् २०१२ मा राष्ट्रिय मानवअधिकार आयोगले आप्रवासी कामदारहरुको अधिकार सम्वन्धि सम्मेलन गरेको थियो । त्यसयता लामो समयसम्म आप्रवासी कामदारका विषयमा खासै उल्लेख्य काम नगरेको आयोगले विगत २-३ बर्षयता चासोका साथ यस विषयमा अनुसन्धान, छलफलहरु गर्दै आएको छ ।       

यो पनि पढ्नुहोस्: बैंक खाता अनिवार्य, नभए कारवाही: मन्त्री विष्ट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: