गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५-

कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको पुलको भूमिका सुरु गरेको छ । यसले घर बनाउने र ठेकेदार दुवै पक्षलाई फाइदा भएको छ । सँगसँगै यूनियन र यूनियनमा आवद्ध श्रमिकलाई पनि फाइदा भएको छ ।

सो नगरपालिकामा कसैले घर बनाउने भएमा सुरुमा त्रिपक्षिय सम्झौता हुन्छ घरधनी, ठेकेदार र यूनियनबीच । सो सम्झौतापत्रमा काम कहिले सुरु गरेर कहिले सक्ने, कति काम गर्ने, पेश्की लिए नलिएको, कुन मितिमा बाँकी भुक्तानी दिने, ठेकेदारको तर्फबाट ढिलो भएमा वा घरधनीका तर्फबाट ढिलो भएमा कुन रुपमा क्षतिपुर्ति तिर्ने भन्ने लेखिएको हुन्छ । यूनियनको नियम छ ठेकेदार वा घरधनी जसको तर्फबाट ढिलो भएपनि अर्को पक्षलाई दैनिक १ हजार हर्जाना तिर्ने । 

त्रिपक्षिय सम्झौताको एउटा ठूलो फाइदा हो दुर्घटना भएमा गर्ने सहयोगको । सम्झौता बमोजिम घर निर्माणको क्रममा कुनै दुर्घटना भई श्रमिकलाई चोटपटक लागेमा उपचार खर्चको कुल रकम मध्ये २५ प्रतिशत घरधनीले, २५ प्रतिशत ठेकेदारले, २५ प्रतिशत यूनियनले र २५ प्रतिशत स्वयं श्रमिकले व्यहोर्ने सहमति हुन्छ । एक बर्षको बीचमा ५ जना निर्माण श्रमिकले यस्तो सुविधा पाएको क्यूपेक नेपा, कैलालीकी कोषाध्यक्ष अप्सरा कुस्मी बताउँछिन् ।

निर्माण क्षेत्रको यूनियनको अगुवाईमा गरिएको यस कामले समयमै घर निर्माणको काम सक्न घरधनी र ठेकेदार दुवै पक्षलाई बाध्य बनाउने गरेको छ जसका कारण दुवै पक्षले लाभ पाएका छन् । यसले यूनियनको आम्दानीमा पनि बृद्धि भएको छ । हरेक घर निर्माणको सम्झौता गर्दा जगसम्म मात्र निर्माण गर्ने भएमा ५ सय ५०, लिण्टलसम्म निर्माण गर्ने भएमा १ हजार ५० तथा पूरा घर निर्माण गर्ने भएमा १ हजार ५ सय घरधनीले यूनियनलाई शुल्क तिर्नुपर्दछ । यसैगरी ठेकेदारका तर्फबाट थप १ सय शुल्क लिइन्छ । यसवापत समयमा घर निर्माणको काम सक्ने जिम्मा लिन्छ यूनियनले ।

यूनियनका तर्फबाट राम्रो काम गर्ने ठेकेदारलाई पनि प्रोत्साहित गर्ने गरिएको कुस्मी बताउँछिन् । उनका अनुसार यूनियनले राम्रो काम गर्नेलाई हेल्मेट, ज्याकेट, झोला दिएर प्रोत्साहित गरिएको छ । साथै एक बर्षभित्रमा यूनियनको कोषमा झण्डै डेढ लाख रकम थपिएको छ । यो कतिपय अवस्थामा श्रमिकले स्वयंसेवकका रुपमा काम गरेर समेत जोडेको रकम हो ।

श्रमिकका सन्तानलाई छात्रबृत्तिको पहल

जिफन्ट, कैलालीले गौरीगंगा नगरपालिकामा अर्को एउटा अभियान सुरु गरेको छ छोराछोरीलाई पढाउन मुस्किल परिरहेका श्रमिकका सन्तान पढाउने व्यवस्था मिलाउने । यसका लागि यूनियनले नामावली संकलन गरी अतिआवश्यक देखिएका २० जनाको नामावली नगरपालिकामा बुझाइएको छ । नगरपालिकाले उनीहरुको कापी, किताव, झोला, स्कूल ड्रेस लगायत सहयोग गर्ने वचन दिएको छ । यसले सो वापतको रकम जम्मा गरी सन्तानलाई विद्यालय पठाउन नसक्ने अवस्थाका श्रमिकका छोराछोरी शिक्षाबाट वञ्चित हुनु नपर्ने अपेक्षा छ ।  

यो पनि पढ्नुहोस् नेपालमा व्याजको मिटर र कतारमा दुःखको चक्र उसैगरी घुमिरह्यो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: