काठमाडौं, असार २४-
धनुषाका रोशन परमानी रोजगारीका लागि कतार पुगे । मदिना खलिफा ओभरसीज मार्फत अल करिम कम्पनीका रोजगारीका लागि पुगेका उनलाई नेपालमा एजेण्टले मासिक १८ सय रियाल(नेरु ५४ हजार) तलव हुने बताउका थिए । त्यसैले १ लाख १० हजार दिन नाईनास्ती पनि गरेनन् । सयकडा ९ व्याज तिर्नेगरी लिएको ऋणको पैसा बुझाएर उनी उत्रिए कतार ।
तर कतार पुगेपछिको कथा फरक भयो । सो कम्पनीका मुदिर(व्यवस्थापक) कपिलवस्तुका एक नेपाली अलकरिम मुसलमान थिए जुन कम्पनीले अन्य कम्पनीहरुलाई ज्यालादारीमा कामदार पठाउँथ्यो जुन आम रुपमा सप्लाई कम्पनी भनेर चिनिन्छन् ।
केहिसमय खालीहात बसेपछि जसोतसो काम सुरु भयो डिसेम्वर ५, २०१८ देखि । अढाई महिना काम गर्दा पनि तलव हात पर्ने सुरसार भनें भएन । तलव माग्दा पैसा छैन भन्न थाल्यो मुदिरले । अनी सुरु भयो झगडा । धेरैपटक झगडा परेपछि कहिले १० रियाल त कहिले ५० रियाल गर्दै मुस्किलले खान पुग्ने पैसाको जोहो भयो । यता लिएको ऋणको व्याजको मिटर घुमिरह्यो, उता कतारम रोशनको दुःखको चक्र उसैगरी घुमिरह्यो ।
तलव नदिने भए स्वदेश फर्काईदेउ भन्दा उल्टै आफैं टिकट काटेर जाने भए जा भन्ने जवाफ पाउँथे उनले । रोशनसहित ११ जना काम गर्ने सो कम्पनीमा केहि सीप नचलेपछि रोशन लगायत ४ जनाले मुद्धा हाले लेवर कोर्टमा आफूलाई अन्याय परेको भन्दै । अदालतले तीन महिना पर्खिन भन्यो तर यसबीचमा कुनै जवाफ पाएनन् उनीहरुले ।
हारगुहार माग्दै उनीहरु दोहास्थीत नेपाली दूतावास पनि कयौंपटक पुगे । “दूतावासले मुदिरलाई कुटपीट गरेर गाडीमा हालेर लिएर दूतावास आउन भन्यो” रोशन भन्छन् “हामी त्यहाँ झगडा, लफडा गर्न त गएको होइन, कसरी त्यसो गर्न सक्थ्यौं ?”
कम्पनीले न काम, न तलव दिने भएपछि अन्ततः रोशन ९ महिनापश्चात नेपाल आईपुगेका छन् । आफन्तसँग सापटी लिएको पैसाले टिकट काटेर नेपाल फर्केका उनलाई अहिले ऋण चुक्ता कसरी गर्ने भन्ने चिन्ता छ ।
रोशन काम गर्ने सोही कम्पनीमा उस्तै हण्डर खेपेर फर्केका कपिलवस्तुका हविव जलाहालाई आफू रोजगारीका लागि विदेश जाँदा आफन्तसँग लिएको १ लाख ३० हजार अव कसरी तिर्ने भन्ने चिन्ता परेको छ ।
बैदेशिक रोजगारमा एउटा काममा भनेर पठाउने, अर्कै काम लगाउने तथा तलव नदिने समस्या चर्को छ । काम, तलव फरक परेर फर्केका अर्का पात्र हुन् सर्लाहीको ब्रम्हपुरीका सोमन साह रौनियार । मासिक १ हजार तलव र २ सय खाना खर्च हुने शर्तमा पसलको काममा भनेर साउदी पुगेका सोमनलाई काम दिइयो मजरा(कृषि) मा । पहिले कहिल्यै नगरेको काम गर्न सक्दिन भन्दा पनि सुख पाएनन् उनले । ३८ महिनासम्म ईकामा(परिचयपत्र) समेत नबनाई काममा लगाइएका उनी साउदीको अलहत्ता भन्ने ठाउँमा थिए । काम गर्ने समयको ठेगान नहुने र नियमित तलव नपाउने उनी पनि ठूलै रकम नपाई घर फर्किन बाध्य भए ।
बैदेशिक रोजगारमा समस्यामा परेकाहरुलाई उद्धार गर्दै आएको संस्था प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) का अनुसार सन् २०१८ मा मात्र यसरी श्रम सम्झौता विपरित भएको भन्दै ४ सय २९ जनाले सो संस्थामा निवेदन दिएका थिए । त्यसमध्ये ३ सय ७६ वटा निवेदन समाधान गरिएको र ४४ वटा प्रकृयामा रहेको सो संस्थाले जनाएको छ ।
पिएनसीसीका सामी परियोजना संयोजक गोविन्द भट्टराईका अनुसार सम्झौता पत्रसँग सम्वन्धीत मुद्धाहरुमा धेरैजसो पारिश्रमिक नपाएका, स्वदेश फर्किन समस्या भएका, फरक काम तथा पारिश्रमिक हुने, काम नै नपाउने वा फरक पाउने लगायत हुने गरेको छ । भट्टराईले कामदारले वैदेशिक रोजगारमा जानुपूर्व करारनामा विस्तृत रुपमा हेर्ने तथा कम्पनीको बारेमा जानकारी लिनु अ ावश्यक रहेको बताए । उनले समस्या समाधानका लागि गन्तव्य मुलुकमा दुतावास, श्रम अदालत, मानव अधिकार आयोग लगायतका निकायसँग सहयोग लिनुपर्ने आवश्यकता पनि औंल्याए ।
पिएनसीसीका अध्यक्ष कुल प्रसाद कार्कीले दूतावास मार्फत मागपत्र प्रमाणिकरण सुरु गरिएपछि श्रम सम्झौता विपरित काम गर्ने कम्पनीहरुमा कामदार पठाउने क्रम कम भएको जानकारी पाएको भन्दै श्रम सम्झौता विपरितको कार्यलाई निरुत्साहित गर्न सरकारले सञ्चालनमा ल्याएको अनलाईन प्रणालीलाई अझ प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।