मलेशियाको रोजगारी खोल्नु पर्ने माग सहित संसदमा प्रस्ताव दर्ता

 

काठमाडौं, जेठ २१-

नेपाली काँग्रेसकी साँसद डिला संग्रौलाले मलेशियाको रोजगारी नखुल्नुको कारण माग्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छन् । विपक्षि नेपाली काँग्रेसकी छायाँ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री संग्रौलाले लाखौं नेपाली युवाको गन्तव्यको रुपमा रहेको मलेशियामा कूटनीतिक माध्यमद्वारा नेपाली कामदारको हकहित सुरक्षित हुने गरी जति सक्दो चाँडो रोजगार खुला गर्न माग गर्दै प्रस्ताव दर्ता गराएकी हुन् ।

मलेशियाको रोजगारीका क्रममा स्वास्थ्य परिक्षण, अभिमुखिकरण, मागपत्र प्रमाणिकरण गर्ने क्रममा पैसाको चलखेल नियन्त्रण गर्न नसकेको आरोप समेत सरकारलाई लगाएकी छन् । यसैगरी  श्रमिकसँग लिने सेवा शुल्कमा पारदर्शी हुन नसक्दा श्रमिक ठगीने क्रम बढदै गईरहेको प्रस्तावमा उल्लेख छ ।

प्रस्तावमा मलेसिया जान चाहने युवाहरुको मेडिकल जाँच गर्ने संस्थाको छनोट गर्दा मलेसिया तथा नेपालका बिचौलियाको चलखेल नियन्त्रण गर्न सरकार पूर्ण रुपमा असफल भएको समेत उल्लेख छ । संसदमा दर्ता गराइएको प्रस्तावमा साँसदहरु राम बहादुर विष्ट र देव प्रसाद तिमिल्सिनाले समर्थन गरेका छन् । प्रस्तावमा मिति भनें २०७५ साल नै लेखिएको छ भनें मन्त्रालयलको नाम समेत अशुद्ध रहेको छ ।

हेर्नुहोस् संग्रौलाले संसदमा दर्ता गरेको सार्वजनिक महत्वको प्रस्ताव 

श्री सचिव,

प्रतिनिधि सभा । 

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७१ बमोजिम देहायको जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न सूचना दिएको छु । 

जरुरी सार्वजनिक महत्वको प्रस्ताव: 

नेपालको अहिलेको मूल समस्या नै रोजगारी रहेको छ । लाखौं बेरोजगार युवाहरुलाई रोजगारको व्यवस्था गर्न वर्तमान सरकारले सक्षमता हासिल गर्न सकेको छैन । नेपाल भित्रै नेपाली युवाहरुलाई रोजगारीको प्रबन्ध गर्नु राज्यको मूल दायित्व हो । देश भित्र रोजगारी अभावमा लाखौं युवाहरु रोजगारीको लागि विदेशीन वाध्य भएका छन् । नेपालको एक प्रमुख रोजगार गन्तव्य मलेसियाको वैदेशिक रोजगारी रोकिएसँगै लाखौं नेपाली युवा रोजगारीका लागि मलेसिया जानबाट वन्चित भएका छन् ।  झन्डै पाँच लाखभन्दा धेरै नेपाली कार्यरत रहेको र बर्षेनी दशौँ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिने मुलुकमा कामदार पठाउन रोकिएपछि त्यहाँ नेपालीका लागि रोजगारीको अवसर खुम्चँदै गएको छ र मलेसियाली रोजगारदाताहरू विकल्प खोज्न थालेका छन् । गत वर्ष कार्तिक १२ मा दुई देशबीच पहिलो पटक श्रम सम्झौता भए पनि सरकारले अहिलेसम्म औपचारिक रुपमा नेपाली कामदार पठाउने काम शुरु गर्न सकेको छैन । हजारौं मजदूरहरुलाई ठगी गर्ने कम्पनीहरु विरुद्ध कुनै कारबाही भएको छैन । १० हजार भरपाई दिएर २ लाख रुपैयासम्म लिने एजेन्सीलाई पनि सरकारले नियन्त्रण गर्न सकेको छैन । गत वर्षको आठ महिनामा ७७ हजार बढी युवा मलेसिया गएका थिए भने यस वर्षको सोही अवधिमा मलेसिया जाने नेपाली युवाको संख्या तीन हजार भन्दा कम छ । 

छलफल गर्नु पर्नाको कारण: 

१. लाखौं नेपाली युवाहरुको गन्तव्यको रुपमा रहेको मलेसियामा कूटनीतिक माध्यमद्वारा नेपाली कामदारको हकहित सुरक्षित हुने गरी जति सक्दो चांडो रोजगार खुला गर्न । 

२. मलेसियाको रोजगारीका क्रममा स्वास्थ्य परीक्षण, अभिमुखिकरण, मागपत्र प्रमाणिकरण गर्ने क्रममा पैसाको चलखेल नियन्त्रण गर्न नसकेको र श्रमिकसँग लिने सेवा शुल्कमा पारदर्शी हुन नसक्दा श्रमिक ठगीने क्रम बढदै गईरहेको छ । मलेसिया जान चाहने युवाहरुको मेडिकल जांच गर्ने संस्थाको छनोट गर्दा मलेसिया तथा नेपालका बिचौलियाको चलखेल नियन्त्रण गर्न सरकार पूर्ण रुपमा असफल भएको छ । यसको प्रमाणका लागि मलेसियासँग शून्य लागतमा श्रम सम्झौता भएपनि ७ महिनासम्म पनि मेडिकल गर्ने संस्था सूचिकरण र छनोट गर्न नसक्दा रोजगारी खुल्न सकेको छैन । 

३. वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार गत वर्षको १ साउनदेखि यसवर्ष २ जेठसम्म मलेसियामा  १९४ जना कामदारले ज्यान गुमाइसकेका छन् भने ६७ जना गम्भीर रूपमा अंगभंग भएका छन्ल । वैदेशिक रोजगारीका क्रममा गत आर्थिक वर्षमा सबै मुलुकमा गरी ८२१ जना कामदारको मृत्यु भएको थियो । त्यसैले नेपालीहरुलाई विदेश जानु अघि सुरक्षाको विषयमा व्याबहारिक जानकारी दिने व्यवस्था शुरु गर्नुका नेपाली दूतावासहरूलाई परिचालन गरी  नेपालीहरुको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन । 

४. वैदेशिक रोजगार क्षेत्रमा देखिएको अव्यवस्था, विकृति र विसंगति हटाइ वैदेशिक रोजगारक्षेत्रलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउन ।  

सम्बन्धित मन्त्रालय: श्रम, समाज कल्याण तथा सामाजिक सुरक्षा 

प्रस्तावक

हस्ताक्षर:

नाम, थर: डिला संग्रौला पंत

क्रम संख्याः ७२

मिति ः २०७५।०२।१६ 

समर्थक

१.    हस्ताक्षर:

नाम, थर: रामबहादुर बिष्ट

क्रम संख्याः १९४ 

२.    हस्ताक्षर:

नाम, थर: देव प्रसाद तिमिल्सिना

क्रम संख्याः ८८

मिति ः २०७५।०२।२१ 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: