मजदुरलाई सिद्रा बनाउने रोजगारदाता चाहिन्नः श्रेष्ठ

काठमाडौं,बैशाख १७- 

संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र(जेटीयूसीसी) का अध्यक्ष बिनोद श्रेष्ठले मजदुरलाई सिद्रा बनाउने उद्योग मुलुकमा आवश्यक नभएको बताएका छन् । आफ्नो उद्योग, प्रतिष्ठानमा काम गर्ने श्रमिकलाई खान लाउन पुग्ने ज्याला दिन नसक्ने हो भनें त्यस्तो उद्योग, प्रतिष्ठान आवश्यक नभएको उनले बताए ।

जेटीयूसीसीद्धारा मे दिवस, २०१९ को पूर्वसन्ध्यामा बैशाख १६ गते आयोजित पत्रकार सम्मेलनमा जिफन्टका अध्यक्ष समेत रहेका श्रेष्ठले नेपालको ट्रेड यूनियन आन्दोलनले अझै पनि विश्राम लिने बेला नभएको बताए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई असफल बनाउन र श्रमिकलाई शोषण कायम राख्न रोजगारदाताहरु उद्यत रहेको तर्क समेत गरे । उनले रोजगारदाताले विगतदेखि नै सरकारलाई बुझाउने, व्यक्तिगत हिसावकितव राख्ने र श्रमिकलाई देखाउने गरी तीनवटा खाता राख्दै आएको भन्दै सामाजिक सुरक्षा कार्यक्रमले त्यो बदमासी रोक्ने भएपछि केहि रोजगारदाता आत्तिएको बताए ।

अध्यक्ष श्रेष्ठले जतिसुकै राम्रो कानून बनेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेमा त्यसले कुनै परिवर्तन नहुने भन्दै बनाइएका कानूनलाई प्रभावकारी रुपमा लागु गर्न सरकारलाई पनि आग्रह गरे । त्यसका लागि श्रमिकले सदैव साथ दिने भन्दै मे दिवस लगत्तै देशव्यापी रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका बारेमा जानकारी गराउन अभियान सञ्चालन गरिने जानकारी दिए । सरकारले अगाडी सारेको समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक बनाउन श्रमिकलाई प्राथमिकता दिइनु पर्ने भन्दै अध्यक्ष श्रेष्ठले यसअघि स्वीकार गरिसकेको सामाजिक सुरक्षाको विषयबाट पछि नहट्न रोजगारदाताहरुलाई पनि आग्रह गरे । उनले जति धेरै सामाजिक सुरक्षा उति धेरै श्रम लचकता भन्ने आफूहरुको नारा नै रहेको भन्दै त्यसलाई नविर्सन पनि रोजगारदाताहरुलाई सचेत गराए ।

अध्यक्ष श्रेष्ठले राज्यका निकायहरुमा श्रमिक वर्गको १० प्रतिशत प्रतिनिधित्वको काम अझै पुरा नभएको भन्दै त्यसका लागि ट्रेड यूनियनहरुले एउटै मञ्चबाट आवाज उठाइरहेको बताए । उनले यसका लागि जेटीयूसीसीले भविष्यमा पनि निरन्तर आवाज उठाइरहने बताए । यसैगरी स्थानीय तहमा श्रमिक पञ्जिकरणको मुद्धालाई पनि जेटीयूसीसीले प्राथमिकताका साथ उठाउने जानकारी गराए ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष श्रेष्ठले चीया वगानका श्रमिक अहिले पनि न्यूनतम ज्याला नपाएर आन्दोलित भइरहेको अवस्थामा न्यूनतम ज्याला दिन्न भनेर कसैले पनि भन्न नपाउने बताए । उनले केहि चिया उद्योगीहरु न्यूनतम ज्याला कार्यान्वयन गर्न तयार भएपनि कार्टेलिङका कारण उनीहरुले पनि खुलेर बोल्न नसकेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल ट्रेड यूनियन काँग्रेसका अध्यक्ष पुश्कर आचार्यले नेपालमा बसेर नेपालको कानून मान्दिन भन्ने छुट कसैलाई नभएको बताए । उनले यसअघि रोजगारदाताहरुको समेत सहमतिमा लागु गरिएको न्यूनतम ज्याला कार्यान्वयन गर्दिन भन्नु बेइमानी भएको धारणा राखे । सरकारले घोषणा गरेको न्यूनतम ज्याला र सामाजिक सुरक्षा लागु गर्नुपर्छ भन्ने आफ्नो यूनियनको माग रहेको आचार्यको भनाई थियो ।

संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र(जेटीयूसीसी) नेपालका क्रियाशिल ९ वटा ट्रेड यूनियनहरुको छाता संगठन हो । यसबर्षको मे दिवस संयुक्त रुपमा ट्रेड यूनियनहरुले जेटीयूसीसीको आयोजनामा नै मनाउने तयारी गरेका छन् । मे दिवसको अवसरमा काठमाडौंमा आयोजना हुने सभालाई प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि लगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । यस बर्ष ट्रेड यूनियनहरुले मे दिवसको नारा सवै श्रमिक र रोजगारदाताहरुलाई आव्हान, सामाजिक सुरक्षामा सूचिकरण हाम्रो अभियान भन्ने तय गरेका छन् ।

यो पनि पढ्नुहोस् मेनपावर व्यवसायीको मागः विदेशमा अवैधानिक हुन रोकौ, बीचमै फर्किए कामदारले क्षतिपूर्ति तिर्नुपर्छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: