अनलाइन प्रणाली सुरु, नक्कली मागपत्र र ठगि रोक्ने अपेक्षा 

काठमाडौं, असोज १५-

श्रम मन्त्रालयले बैदेशिक रोजगार सुचना व्यवस्थापन प्रणालीको औपचारिक सुरुवात गरेको छ । मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीले यसको उद्घाटन गरेका छन् । यसअघि श्रम मन्त्री गोकर्ण विष्टले असोज १५ गतेभित्रै अनलाइन प्रणाली सुरु हुने पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए ।

अनलाइन प्रणालीले राजदुतावासहरुले मागपत्र जाँचबुझका सम्बन्धमा निर्वाह गर्नुपर्ने भूमिकालाई सहज तुल्याउने, अध्यागमन विभाग¸ पासपोर्ट विभाग र कन्सुलर सेवा विभागबाट आवश्यकता अनुसारको विवरण प्राप्त गर्न सकिने गरी अद्यावधिक गरिएको मन्त्रालयले जनाएको छ ।

यो प्रणाली सञ्चालन पश्चात वैदेशिक रोजगार विभाग¸ वैदेशिक रोजगार व्यवसायी¸ अभिमुखीकरण तालिम प्रदायक संस्था¸ स्वास्थ्य परीक्षण गर्ने संस्था¸ बैंक तथा वीमा कम्पनीएवं सीपमूलक तालिम प्रदायक संस्थाहरुको कार्यप्रणाली प्रभावकारी हुनुका साथै वैदेशिक रोजगारसंग सम्बन्धित सूचनाको सहज पहुँच र प्राप्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

राजदुतावासहरुले यस प्रणालीको प्रयोग गरी गन्तव्य मुलुकका रोजगारदाताहरुबाट प्राप्त हुने मागपत्रको विवरण प्रविष्टि गरी जाँचबुझ गर्न सक्ने भएका कारण यसबाट नक्कली मागपत्र ल्याई नेपाली कामदारहरुलाई विदेश पुर्‌याएर अलपत्र पार्ने र ठगी गर्नेहरु निरुत्साहित हुने विश्वास लिईएको छ । यस प्रणाली मार्फतगन्तव्य देशका रोजगारदाताहरुको वास्तविक र पूर्ण विवरण प्रविष्टि हुने भएकोलेतोकिए बमोजिमको सेवा सुविधा नदिने रोजगारदातालाई कालोसूचीमा राख्न समेत सहज हुने  श्रम मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार राजदुतावासमा विवरण प्रविष्टि र रुजु गर्ने कामको निम्ति दुई जना कर्मचारीहरुलाई यो प्रणाली सञ्चालनमा जिम्मेवार बनाउने व्यवस्था समेत गरिएको छ ।

वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेश जाने नेपालीहरुको मात्र तथ्याङ्क रहने गरेको तर स्वदेश फर्किने कामदारहरुको विवरण उपलब्ध नहुने गरेको वर्तमान अवस्थाको अन्त्य गर्नका निम्ति अध्यागमन विभागको अनलाइन प्रणालीसंग यो प्रणालीलाई जोडेर वैदेशिक रोजगारबाट फर्किने कामदारहरुको विवरण समेत सहज रुपमा प्राप्त गर्न सकिने व्यवस्था मिलाईएको छ । यसबाट विदेशी भूमिमा कति नेपालीहरु काम गरिरहेका छन् भन्ने विवरण समेत सहज रुपमा प्राप्त गर्न सकिनेछ । श्रम स्वीकृति प्राप्त कामदार नेपालमै रहे नरहेको विवरण प्राप्त गर्न, विभिन्न नीति तथा कार्यक्रमहरुको तर्जुमाका निम्ति आवश्यक तथ्याङ्क तथा सूचना संकलन गर्न र कामदारहरुको सम्पूर्ण विवरण सहितको प्रतिवेदन तयार पार्न समेत यो प्रणालीबाट सहयोग पुग्ने विश्वास गरिएको छ ।

यस प्रणालीको पूर्ण कार्यान्वयन पश्चात आप्रवासी कामदारहरुले अनलाइनबाट नै श्रम स्वीकृतिको फाराम भर्न र पेश गर्न सक्ने, श्रम स्वीकृतिका चरणहरुको प्रगतिस्थिति अनलाइनबाट नै थाहा पाउन सक्ने, आफ्नो श्रम स्वीकृति भए नभएको कुरा तथा पूर्व स्वीकृतिको विवरण मोबाइल, एसएमएस, वेबसाइट र एपबाटै जानकारी लिन सक्ने तथा विभागमा दर्ता भएका उजुरीहरुको अवस्थाका बारे पनि जानकारी प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ ।

यो पनि पढ्नुहोस् हो, रोकिनै पर्दछ भिजिट भिसाको नाममा हुने मानव तस्करी 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: