
स्याङ्जा, भदौ २६-
पुतलीबजार नगरपालिका–३ का दुईजना युवा विदेश छाडेर व्यावसायिक भैँसीपालनमा होमिएका छन् । आठ वर्ष मलेसिया बसेका नवराज हमाल र सात वर्ष जापान बसेका सुरेश रेग्मीले गाउँमा केही गर्छौं भनेर भैँसीपालनमा होमिएको बताएका छन् ।
सानोमा घरमा कृषि पेशामा काम गरेको र यसैमा राम्रो देखेपछि भैँसीपालमा लागेको उनीहरूले बताएका छन् । दुई युवाले दुई महिना पहिला गाउँमा स्याङ्जा एग्रो एन्ड रिसर्च सेन्टर प्रालि खोलेर व्यावसायिक भैँसीपालनमा लागेका हुन् ।
एग्रोका लागि १७ रोपनी र घाँसका लागि ६० रोपनी गरी कुल ७७ रोपनी जग्गा भाडामा लिएर भैँसीपालनमा लागेको सञ्चालक हमालले बताए । उनले तीनवटा गोठ बनाएर एकैचोटी ५२ वटा दुहुना भैँसी किनेर व्यवसायको सुरुवात गरेको बताए । दुईवटा गोठमा २६/२६ भैँसी राखिएको बताउँदै हमालले एक गोठमा ४२ वटा पाडापाडी राखिएको बताए ।
पहिलो चरणमा गोठ, वासस्थान, भैँसीका साथ साथै अन्य सामग्री खरिदमा दुई करोड खर्चिएको बताउँदै हमालले हरेक चार/चार महिनामा ५०–५० दुहुना भैँसी थप्दै जाने बताए ।
अहिले हरेक दिन ४ सय ५० लिटर दूध रहेको बताउँदै हमालले तीन वर्षभित्र चार हजार लिटर दूध बजारमा बेच्ने लक्ष्य लिएको बताए । हरेक चार महिनामा ५० भैँसी थप्दा तीन वर्षमा पाँच सय पुग्ने बताउँदै हमालले त्यसपश्चात आफ्नै फार्मबाट उत्पादन भएका पाडीबाट माउ भैँसी बन्ने योजना सुनाए । यहाँ भैँसीको दूधको लागि बजार राम्रो रहेको बताउँदै सञ्चालक सुरेश रेग्मीले यहाँ दुई हजार लिटरको माग रहेको बताए ।
बिहान ६ बजे फार्मबाट दूध बाडखोला र स्याङ्जाको बजारमा पुर्याउने बताउँदै रेग्मीले दुई सय लिटर त फार्मबाटै बेच्नेगरेको जानकारी दिए । तीन वर्ष पश्चात मागभन्दा बढी दूध आफ्नो फार्ममा हुने बताउँदै रेग्मीले बढी भएको दूधलाई डेरी निर्माण गरी दही, पनिर, छुर्पी, घिउ लगायतका सामग्री बनाएर बजारमा बेच्ने योजना रहेको जानकारी दिए । उनले रौतहट र नवलपरासीबाट एक लाख ५० हजारदेखि दुई लाख २५ हजारमा अर्ना जातका भैँसी ल्याएको बताउँदै तीन वर्ष पछाडि समस्या टर्ने बताए ।
हमालले पाँच वर्षभित्र १७ करोड लगानी गर्ने लक्ष्य लिएकोमा आफूसँग रहेको रकम सकिन लागेकाले बैङ्किङ प्रक्रियामा जान लागेको बताए ।
विदेशमा गएर दुःख पाएको बताउँदै रेग्मीले परिवारसँग बसेर स्वदेशमा काम गर्दा धेरै सन्तुष्टि मिलेको बताए । विदेशमा जत्तिकै मेहेनत र परिश्रम स्वदेशमै कृषि तथा पशुपालनमा लगाउन सकियो भने विदेश नै स्वदेश हुने रेग्मीको भनाइ छ । भैँसीका लागि दानाको समस्या नरहे पनि परालको समस्या रहेको बताउँदै रेग्मीले तराईबाट पराल ल्याउँदा खर्च बढी हुने बताए । पाँच वर्षभित्र दुई युवाले स्याङ्जामै पहिलो स्तरीय होटल र उत्पादित दूधलाई अन्य जिल्लामा पुर्याउने गरी दुग्ध कम्पनी खोल्ने बताए । गोरखापत्रबाट
यो पनि पढ्नुहोस् बैदेशिक रोजगारमा अनलाइन प्रणाली कसलाई के फाइदा ? (हेर्नुहोस् ईन्फोग्राफिक्समा)