रञ्जना लम्साल, कावासोती, फागुन २-
आफैं बैदेशिक रोजगारीमा जान वा श्रीमान, अथवा छोराछोरीलाई विदेश पठाउन कसलाई रहर हुन्छ र ? त्यो पनि झण्डै ५० डिग्रीको तातोमा खतरा मोलेर काम गर्न । अझ बैदेशिक रोजगारीमा जानुपूर्व नेपालमा भनेअनुसारको काम, दाम नहुँदा पनि अनी समयमा खान, सुत्न नपाएपनि दिनहुँ ठूलो संख्यामा नेपाली बैदेशिक रोजगारीमा जान बाध्य छन् । तर योजना बनाएर काम गरेमा स्वदेशमा नै अवशर सिर्जना हुनसक्छ भन्ने उदारहण पनि छन् हाम्रै समाजमा ।
३० बर्षिय पूर्ण बहादुर पुन हुप्सेकोट गाउँपालिका वडा नं. १ का बासिन्दा हुन् । उनले पटक पटक गरी ८ बर्ष विदेशमा विताए । पछिल्लो पटक एक छोरी तथा श्रीमति निरु पुनलाई छोडेर उनी १५ महिना अगाडी वैदेशिक रोजगारीका क्रममा साउदी अरव गएका थिए । सम्पत्तीको नाममा ५ कठ्ठा जग्गा भएका पुन परिवारका लागि बैदेशिक रोजगार कहिल्यै नसकिने चक्र जस्तै भयो । त्यसबाट कसरी छुटकारा मिल्छ भन्ने उपाय पनि देखिरहेका थिएनन् पुन परिवारले ।
पूर्णले विदेशमा कमाएर पठाएको रकम घर खर्चमै ठिक्क थियो । खानलाउन र छोरी पढाउन पुगिरहेको बैदेशिक रोजगारले त्यसभन्दा धेरै उपलव्धी हुन पनि सकेको थिएन । त्यहि समयमा गाउँमा सुरु भयो वित्तिय साक्षरताको कक्षा । सामीको सहयोगमा हकोडेफ, नवलपरासीले सो कक्षा बैदेशिक रोजगारमा रहेकाहरुका परिवारका सदस्यहरुलाई लक्षित गरेर सञ्चालन गरेको थियो । निरु पुन पनि सो कक्षामा सहभागी भईन् ।
वैदेशिक रोजगारवाट आउने रकम(विप्रेषण)लाई लाभदायक क्षेत्रमा लगानी गर्न सिकाउने मुख्य लक्ष्य थियो वित्तीय साक्षरता कक्षाको । साथै परिवारको आम्दानीका थप श्रोतहरुको पहिचान गरी वैदेशिक रोजगारीमा परिवारिक सदस्यहरुको पटक पटक जाने परम्परामा परिवर्तन गर्नु पनि यसको अर्को उद्धेश्य थियो । यहि कुरामा केन्द्रीत भएर कक्षामा छलफल भए, त्यहि अनुसारको वातावरण बन्दै गयो ।
यसले निरुलाई आफैं केहि गर्नुपर्छ भन्ने हुटहुटी जगाइदियो । कक्षामा सिकेका कुरा व्यवहारमा उतार्ने अठोट गरिन उनले । सिकाईका क्रममा सिकेका दैनिक हिसाव किताव राख्ने, वित्तीय लक्ष्य तथा योजना बनाउने र व्यवसायिक योजना वनाई काम गर्ने तथा भविष्यमा श्रीमानलाई नेपालमै बोलाएर संगै व्यवसाय गर्ने योजना बनाइन् उनले र काम पनि सुरु गरिन् । आफुले लिएको कक्षा र आफ्नो योजनाको विषयमा विदेशमा भएका श्रीमानलाई सुनाईन् । श्रीमानको सहमति र वित्तीय साक्षरता सहजकर्ताको सल्लाह अनुसार उनले कुखुरापालन व्यवसाय शुरु गरिन् ।
योजना अनुसार उनले ३ पटक विदेशबाट आएको मध्ये केही रकम वचत गरी शुरुमा ५० हजार ३ सय लगानी गरेर ६ सय कुखुराको चल्ला खरिद गरी कुखुरापालन व्यवसाय शुरु गरिन् । पहिलो चरणको कुखुरा विक्री गरी दोश्रो चरणमा पुनः ६ सय चल्ला हालिन् । दुई चरणको कुखुरा विक्री गर्दा १ लाख ५ हजार खर्च कटाएर नाफा भयो । श्रीमतिले गरेको काम र प्रगति देखेपछि साउदीमा रहेका पूर्णलाई अव नेपालमा नै केहि गर्न सकिने रहेछ भन्ने आत्मविश्वास पलायो । अनी उनी पनि नेपाल फर्किए । अहिले उनीहरु दुवैजना मिलेर कुखुरा पालनलाई विस्तार गर्दैछन् ।
व्यवसाय सुरु गरेपछि केहि वचत पनि सुरु भएको छ । निरुले अहिले स्थानीय तीनवटा सहकारी संस्थामा मासिक रुपमा वचत गर्दछिन् । साथै दैनिक हिसावकिताव राख्ने काम निरन्तर रुपमा गरिरहेकी छिन् । उनी यसले वचत गर्न सहयोग भएको बताउँछिन् ।
पूर्ण अव विदेश नजाने र दम्पति दुवै मिलेर नेपालमै आफ्नो जग्गामा खोरको क्षमता वढाई व्यवसायलाई अझ बढाउने योजनामा छन् । पछिल्लोपटक उनीहरुले १ हजार चल्ला हालेका छन् । उनको घरमा अहिले ब्रोईलर मात्र होईन, सानो एकाईमा भएपनि व्यवसायिक रुपमा स्थानीय जातका कुखुरा पनि छन् । अहिले उनीहरुले ३० वटा स्थानीय कुखुरा पालेका छन् । त्यसलाई पनि वढाउँदै लैजाने योजना छ उनीहरुको ।
यो पनि पढ्नुहोस् मलेसियामा तलवबाट लेभी काट्ने समस्याः यस्तो छ पछिल्लो अवस्था