
काठमाडौं, भदौ १६-
हरेक बर्ष भदौ १६ आउँछ, जान्छ । यो स्वभाविक हो । तर विसं २०६१ सालको भदौ १६ भनें न त्यसरी आयो न त त्यसरी सहजै गयो । अर्थात वैदेशिक रोजगारको क्षेत्रमा त्यो दिन एउटा दुःखद दिनका रुपमा रह्यो ।
काठमाडौंमा एकाएक ताण्डव मच्चियो । वैदेशिक रोजगार व्यवसायीका कयौं कार्यालयहरु जलाइए । ति कार्यालयसँगै थुप्रै व्यक्तिका कागजात जले, पासपोर्ट जले र जले उनीहरुका सपनाहरु । यसको जरो भनें यहाँ नभई ईराकमा बगरेले खसी रेटे झैं रोजगारीका लागि पुगेका १२ जना नेपाली युवाको घाँटी रेटेर हत्या गर्नु र सो भिडियो ईण्टरनेटमा सार्वजनिक हुनुथियो ।
भनिन्छ नी, ‘रिस खा आफू, बुद्धि खा अर्को’ । हामी नेपाली यो मामिलामा अधिकाँश घटनामा पहिलो पक्षका हिमायति छौं । चाहे ऋतिक रोशनले भनेको भनिएको कुनै हल्ला होस् वा स्वजनहरु परदेशमा मारिएको घटनामा होस्, आफ्नै घर भत्काउन अघि सरेका छौं । यस घटनामा पनि काठमाडौंमा प्रदर्शित व्यवहार स्वीकार्य थिएन ।
हो, कुनै नेपालीको त्यसरी घाँटी सेरिएको देख्दा हरकोहि नेपालीको मनमा गहिरो चोट पर्नु स्वाभाविक हो । त्यसले आवेग, आक्रोश जन्माउनु पनि अस्वभाविक होइन । तर आक्रोश र आवेग पोख्ने ठाउँ काठमाडौंमा सञ्चालित वैदेशिक रोजगार व्यवसायीका कम्पनीहरु र मस्जीदहरु बनाईनु कदापी स्वीकार्य विषय होइन । यसमा संयमता जरुरी थियो ।
अहिले लाखौं नेपाली विदेशमा श्रमरत छन् । झण्डै २५ लाख नेपाली हाल विदेशमा श्रमरत रहेको अनुमान गरिन्छ । त्यसमध्ये कतिपय अत्यन्त जोखिम हुँदा हुँदै पनि नियमनकारी निकायको आँखा छल्दै गैरकानूनी बाटोबाट वा आर्थिक लेनदेन गरी जोखिम मोलेर जोखिमपूर्ण ठाउँमा काम गर्न पुगिरहेकै छन् । ईराक, सिरिया वा अफगानिस्तानका जोखिमपूर्ण क्षेत्रमा रोजगारीका लागि पुगेका उनीहरुको जीवन खुकुरीको धारमा अडिएको छ ।
कुनै अमानविय घटनाले जन्माएको आक्रोश र अनियन्त्रीत भीडले मच्चाएको ताण्डव ईतिहास भइसकेको छ । तर ईतिहासबाट पाठ सिक्ने हो । त्यसका लागि ज्यानको जोखिम मोलेर द्धन्दग्रस्त मुलुक जानेहरु र नियमनकारी निकाय सवै चनाखो र सचेत हुनै पर्दछ ।
हाम्रो चाहना फेरी अर्को भदौ १६ ननिम्तियोस् भन्ने नै हो ।
यो पनि पढ्नुहोस्
हामीले विर्सेका छैनौं, हामी खोजिरहने छौं