तरकारी खेतीले राम्रो आम्दानी 

सिन्धुपाल्चोक, बैशाख १९-

चौतारा साँगाचोकगढी नगरपालिका–४ स्थित कुबिन्डेकी दूधलक्ष्मी श्रेष्ठ (४३) गाउँकै अब्बल कृषकमा गनिन्छिन् । घरभन्दा धेरै तलको बेसी खेतमा परम्परागत खेती गर्दै आएकी उनले तीन वर्षदेखि व्यावसायिक कृषि खेतीमा हात हालिन् ।

उनले गहुँ, कोदो, मकैलाई छाडेर अहिले सिजनअनुसारको गोलभेंडा, काँक्रा, प्याज, लसुनलगायतको तरकारी उत्पादनमा जोड दिँदै आएकी छन् । तरकारी खेती गर्ने बेलामा उनलाई कुनै प्राविधिक ज्ञान थिएन ।

बिना तालिम र सीपमै व्यावसायिक तरकारी खेतीमा होमिएकी उनले समय र भाग्यले साथ दिँदा घाटा बेहोर्नु परेन । अहिले केही तालिम पाएपछि झनै व्यवसायिक बन्न हौसिएकी उनी गाउँकै सफल मात्रै हैन अगुवा नमुना कृषकसमेत बनेर गाउँलेलाई दंग तुल्याएकी छन् । “पहिला केही थाहा थिएन, बेर्ना उमार्ने, पानी हाल्ने र पाकेपछि टिप्ने मात्रै गर्थें,” उनले विगत सम्झँदै भनिन्, “तर धेरै फरक रहेछ, अहिले तालिम लिएपछि धेरै बुझ्ने भएकी छु ।” 

चौतारामा भएको पाँच दिने तालिमबाट रोगव्याधी, विषादी प्रयोग, जैविक मल प्रयोगलगायतका सीप पाएपछि दूधलक्ष्मी अझै खेती गर्न हौसिएकी छन् । तालिमअघि अर्गानिक खेती, रोगव्याधी, विषादी प्रयोग, जैविक मल बनाउने र प्रयोग गर्नेबारे केही थाहा नभएको उनले बताइन् । तालिमले व्यवसाय वृद्धि गर्न र बढीभन्दा बढी नाफा कमाउन हिम्मत दिएको उनी सुनाउँछिन् ।

उनले एउटा बारीकै पाटामा उत्पादन भएको तरकारीबाट यो वर्ष झन्डै एक लाख रुपैयाँ आम्दानी गरिन् । प्याजको बेर्ना मात्रै ७ हजार रुपैयाँको बिक्री गरेको उनी बताउँछिन् । “अब खेती विस्तार गर्छु,” उनले भनिन्, “तालिममा धेरै सैद्धान्तिकका साथै प्रयोगात्मक ज्ञान सिकेकाले थप केही गर्छु जस्तो लागेको छ ।” तरकारी खेतीका लागि उनलाई पानीको समस्या थियो । अहिले एक सामाजिक संस्थाको पहलमा झन्डै ६ किलोमिटर टाढाबाट पाइप लगाएर घरमै निजी धारा जोडेकी छन् ।

दूधलक्ष्मीलाई साथी संस्थाले ७ हजार ५ सय रुपैयाँ बराबरको बेर्ना सहयोग गरेको थियो । “बेर्नासँगै टनेल पनि पाएकी छु,” उनले भनिन्, “अब त आम्दानी दोब्बर÷तेब्बरसम्म गर्नसक्छु भन्ने हिम्मत पलाएको छ ।”

बर्खायाममा तरकारी खेती गर्न निकै कठिन हुने उनको अनुभव छ । “यो वर्ष भने ढुक्क छु, चाहेको तरकारी लगाउन सक्छु,” उनले कारण खुलाउँदै भनिन्, “संस्थाले टनेल दिएको छ, ठूलो पानी टनेलले रोक्दा विरुवा मर्दैनन्, फल  झर्दैनन् ।” गाउँकै मेहनती र हिम्मतवाली कृषक भएकैले उनलाई जिल्ला कृषि विकास कार्यालयले नमूना अगुवा कृषकका रुपमा छनोट गरेको छ । उनको एकल प्रयासले गरेको तरकारी खेतीले घर खर्च धान्ने मात्रै हैन, दुई छोरी र एक छोरालाई प्रमाणपत्र तहसम्म अध्ययन गराउन सकेकी छन् ।

दूधलक्ष्मीजस्तै यूएन वुमेनको सहयोग र साथी संस्थाको समन्वयमा जिल्लामा २० गृहिणीले व्यावसायिक तरकारी खेती गरिरहेका छन् ।

कारोवारबाट 

यो पनि पढ्नुहोस् 

आमाको मनले भन्छः कि त छोरो परदेशमा जेल पर्यो की त ठूलै विरामी (भिडियो)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: