स्वदेशमा नै मजदुर अभाव 

काठमाडौं, चैत्र १०- 

अधिकांश निकासीजन्य उद्योगमा मजदुर अभाव छ । देशको निर्यात व्यापार घट्दै जाँदा मजदुर अभावले निकासीजन्य उद्योग थप समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली वस्तु महँगो हुनुमा मजदुर अभाव, बन्द हड्ताल र नाकाबन्दी कारक हुन् । एकातिर देशबाट बाहिरिने जनसंख्या बढिरहेको छ भने अर्कोतिर नेपालमै रोजगारीका अवसर हुँदाहुँदै पनि उद्योगले मजदुर पाउन सकेका छैनन् ।

नेपाली वस्तु अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा १८ प्रतिशतको हाराहारीमा महँगो पर्छ । उद्योग मन्त्री नवीन्द्रराज जोशीले आगामी १० वर्षमा रोजगारीका लागि नेपाली युवा विदेश जान नपर्ने बताएका छन् । देशमै औद्योगिकरण गरी रोजगारी सिर्जना गर्ने लक्ष्य मन्त्री जोशीको छ ।

युवाहरू विदेश जाने क्रम बढेपछि उनले देशमै राजगारी सिर्जना गर्न र औद्योगिक विकास गर्न लगानीमैत्री वातावरण बनाउनुपर्ने बताएका छन् । चालू वर्षको बजेटले निजी क्षेत्रको सहयोगमा ४ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ ।

एकातिर मजदुर अभाव हुँदा सरकारले रोजगारीको सिर्जनाको दायरा भने बढाएको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सरकारले ४ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिँदा के आधारले पु¥याउने, कुन उद्योगलाई प्राथमिकता दिने र केके रणनीति लिने भन्ने विषयमा प्रष्ट हुुनु आवश्यक भएको बताए ।

“रोजगारी बढाउन औद्योगिक गतिविधि बढ्नुपर्छ,” उनले भने, “भएका उद्योगहरू बन्द हुँदै गएको अवस्थामा कुनै लक्षित प्राथमिक कार्यक्रमबिना सम्भव छैन ।” सञ्चालित उद्योगमा पर्याप्त दक्ष जनशक्ति अभावले उत्पादनमा समस्या देखिएको छ ।

निजी क्षेत्रले निकासीजन्य उद्योगलाई १० प्रतिशत नगद अनुदान दिन सरकारसँग माग गरेको थियो । नगद अनुदानले प्रतिस्पर्धामा नेपाली वस्तु केही सस्तो पर्न जाने व्यवसायीहरूले बताएका छन् । 

नेपाल तयारी पोशाक संघका अध्यक्ष चण्डीप्रसाद अर्यालले अधिकांश उद्योगमा मजदुर अभाव रहेकोले महिला नै बढी सक्रिय हुँदै आएको बताएका छन् । प्रतिस्पर्धी मुलुकको तुलनामा नेपालका मजदुर महँगो भएको र उत्पादकत्व समेत कम भएको उनको भनाइ छ ।

उद्योगी व्यवसायीले एकातिर बैंकबाट लिएको ऋण पनि तिर्नुपर्ने बाध्यता छ भने अर्कोतिर व्यवसायमा नै सुधार हुने आशयले बन्द हुने अवस्थामा भएका उद्योगहरू पनि बाध्यताले चलिराखेको उनले बताए । “उद्योगीहरू अहिलेको व्यापार हेरी सन्तुष्ट हुन सक्ने अवस्था छैन,” उनले भने, “हामीले भनेको जस्तो मजदुर पाएका छैनौँ, एयरपोर्ट जाँदा देशको अवस्था कस्तो छ भन्ने प्रष्ट हुन्छ ।”

रेमिट्यान्सबाट देश धेरै समय चल्न नसक्ने भन्दै उनले सरकारको ध्यान स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताउँछन् । नेपालबाट निर्यात हुने सामग्रीमध्ये तयारी पोशाक पर्याप्त सम्भावना भएको क्षेत्र हो । “नीतिगत सुधारले समग्र देशको व्यापारमै वृद्धि हुन सक्छ भने नियामक निकायमा बस्नेहरूले त्यता ध्यान दिनु जरुरी छ,” उनले भने । अहिले जति पनि उच्च सीप खाले काममा भारतीय नागरिक संलग्न छन् । 

विभिन्न समयमा भएका राजनीतिक आन्दोलन, सरकारको अस्थिरता तथा उदासिनताले हेटौंडा टेक्सटाइल, बालाजु कपडा उद्योग, विराटनगर जुट मिल, बुटवलको धागो कारखाना, चुरोट कारखानालगायत उद्योगहरू बन्द भएका छन् ।

यी क्षेत्रमा रोजगारी पाएका मजदुरहरूले पनि मजदुरी गुमाउनुका साथै यो क्षेत्रमा लाग्ने धेरैजसो मानिसहरू विदेशिन बाध्य भएका छन् । विदेशमा काम जस्तोसुकै काम गर्न पनि तयार हुने तर नेपालमा काम गर्न इच्छुक नहुँदा पनि उद्योगले मजदुर नपाएका हुन् ।

कारोवारबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: