नेपालमा ३३ किलो सुन तस्करी गर्ने ८ मध्ये ६ जना नेपाली दुवईमा बस्ने

काठमाडौं, फागुन १९– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुस २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको ३३ किलो ५ सय ७७ ग्राम ४० मिलिग्राम सुनको मुख्य मालिक पहिचान गरेको छ । उच्च स्रोतका अनुसार दुबईबाट सुन किनेर नेपाल पठाउने काममा संग्लन ८ जनाको पहिचान भइसकेको छ । जसमा दुबई बसेर व्यापार गरिरहेका ६ नेपाली र नेपालमै बसेर व्यवसाय गरिरहेका दुई भारतीय नागरिक छन् । जसमध्ये गुल्मी स्थायी ठेगाना भएका रोशन भुसाल र काभ्रे स्थायी ठेगाना भएका हरिशरण खडका रहेको स्रोतको दाबी छ । नेपालमा रहेका भारतीय व्यापारी भने तस्करीको सुन बुझ्ने र भारत पठाउने काममा सक्रिय थिए ।

स्रोतका अनुसार सुन बरामद भएलगत्तै नेपालमै रहेका भुसाल दुबई उडेका थिए । भुसाल र खडकालगायत ४ नेपालीलाई कसरी नेपाल फर्काउने भन्नेबारे सीआईबीले अनुसन्धान थालिरहेको छ । १५ वर्षअघिसम्म काठमाडौंमा सामान्य टेम्पो चालक रहेका भुसाल कसरी रातारात करोडपति भए भन्नेमा सीआईबीकै अनुसन्धान अधिकारीहरू छक्क परेका छन् ।

स्रोतका अनुसार दुबईमा बस्ने र बारम्बार नेपाल आउजाउ गरिरहने भुसाल रेस्टुरेन्ट, सुन पसल र हुन्डीको कारोबारमा संग्लन छन् । सुन तस्करीबाटै आर्जेको रकमले व्यवसाय विस्तार गरेका भुसालका नाममा सामाखुसी क्षेत्रमा मात्रै झन्डै आधा दर्जन घर छन् । सीआईबीका एक उच्च अनुसन्धान अधिकारीले भने, ‘भुसालको फैलिँदो अर्थ साम्राज्य देखेर हामी पनि चकित पर्‍यौं ।’

ब्युरोले मंगलबार मात्रै वैभवी लक्ष्मी गोल्ड एन्ड सिल्भर सुनचाँदी पसलका ५ सञ्चालकमध्ये राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ, नारायण श्रेष्ठलाई पक्राउ गरेको छ । एक सञ्चालक भने फरार छन् । स्रोतका अनुसार दुबईबाट तस्करीमा आएको सुन दरबारमार्गमा रहेको दरबार रोधी घरबाट किनेर ल्याउने गरेको देखिन्छ । प्रहरीले यसअघि नै उक्त रोधी घरका सञ्चालकसमेत रहेका सुनका रिसिभर रामहरि कार्कीलाई काभ्रेको पनौतीबाट पक्राउ गरिसकेको थियो । स्रोत भन्छ, ‘वैभवीमा आउने अधिकांश सुन रोधीघरमार्फतै आउँथ्यो ।

ब्युरोले तस्करीको संगठित अपराधमा संग्लन ३१ जनाको नामठेगानासहितको विस्तृत जानकारी तयार पारेको छ । ब्युरोले अहिलेसम्म पक्राउ परेका भन्सार अधिकृत, एसएसपी, सुनका भरिया, सुन पसलका सञ्चालकसहित १२ अभियुक्तलाई सरकारी वकिलको कार्यालयमा बुझाएपछि पत्रकार सम्मेलन गरी सबैको नाम सार्वजनिक गर्ने तयारीमा छ । नाम खुलेका अन्य १९ जना भने फरार छन् ।

संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाएकाले प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अधिकार पाएको थियो । आगामी सोमबार ६० दिने उक्त म्याद सकिँदै छ । ब्युरोले संगठित अपराध ऐन, अख्तियार दुरुपयोग, सम्पत्ति शुद्धीकरणलगायत मुद्दा चलाएर अभियुक्तहरूलाई जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गर्ने अन्तिम तयारी गरिसकेको छ ।

सरकारी प्रक्रियाअनुसार १ किलो सुन ल्याउँदा ४ लाख २० हजार रुपैयाँ राजस्व तिर्नुपर्छ । विमानस्थलबाहिर बरामद सुनको बजार मूल्य करिब १५ करोड रुपैयाँबराबरको थियो । ब्युरोका अनुसार यही तस्करीको सञ्जालले यसअघि पनि बारम्बार अवैध सुन ओसारिरहेको थियो ।
कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: