काठमाडौं, फागुन ३-
वैदेशिक रोजगारीमा गएका कामदारको मुत्यु र अंगभंग हुने क्रम बढेको छ । नेपालबाट कमाउनका लागि विदेश जाने र त्यहाँ पुगेर यस्तो अवस्थामा पुग्नु विडम्बनाको कुरा हो । पछिल्लो आर्थिक वर्ष ०७२र७३ को तथ्यांक हेर्ने हो भने दैनिक वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये दुई जनाको मृत्यु हुने गरेको छ, योसँगै अंगभंग हुने क्रम बढेको छ । यो तथ्यांक श्रमस्वीकृति लिएर गएका कामदारको मात्र हो ।
श्रमस्वीकृति नलिईकन जानेहरू अझ धेरै जोखिममा देखिएका छन् । यसले के देखाउँछ भने वैदेशिक रोजगारीमा जोखिम बढ्दै गएको छ । कामको खोजीमा बिदेसिएका नेपालीले ल्याएको रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा पुर्याएको योगदानलाई सकारात्मक मानिरहँदा हरेक दिन विमानस्थलमा उत्रिने शवका बाकससँगै देशमा भित्रिने वियोगान्तक पीडा र काम गर्न नसक्ने गरी नेपाल फर्कनेहरूको अवस्थाले समग्र सामाजिक संरचनाकै व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न गरेको छ ।
हुन त सरकारले वैदेशिक रोजगारमा जाने कामदारका लागि कल्याणकारी कोष, श्रम स्वीकृति र बिमाको व्यवस्था अनिवार्य गरेको छ, तर त्यसको प्रभावकारिता कमजोर हुँदा बिदेसिएका कामदारको सुरक्षामा प्रश्न उब्जिएको छ ।
सरकारी योजनाहरूले निकै राम्रो व्यवस्था गरेको भए पनि श्रमिककेन्द्रित सुरक्षाका ठोस कार्यक्रम सञ्चालन हुन नसक्दा आप्रवासी कामदारहरू जोखिममा परेका हुन् । जबसम्म विदेशमा नेपालीले ज्यान गुमाउनुपर्ने वा अंगभंग हुनुपर्ने कारक तŒवहरूको पहिचानका लागि सरकारले अध्ययन गरेर लक्षित कार्यक्रम ल्याउन सक्दैन, त्यो बेलासम्म वैदेशिक रोजगारीको नाममा अझ धेरै नेपाली पीडित भइरहनुपर्ने अवस्था आउँछ ।
वैदेशिक रोजगारीमा गएर मृत्युवरण र घाइते हुनेहरूको अवस्था र कारकबारे विश्लेषण गर्दा धेरै कारण भेटिन्छन् । यसको मुख्य कारण वैदेशिक रोजगारीमा गएका नेपालीले सुरक्षाबारे उचित परामर्श र उपाय अपनाउन नसक्नु हो ।
वैदेशिक रोजगारीमा जानेहरूका लागि सरकारले विशेष सुरक्षासम्बन्धी तालिम दिएर पठाउनुपर्छ । रेमिट्यान्सको रकमबाट अर्थतन्त्रलाई टेवा पु¥याएको भनेर चर्चा गर्ने सरकारले यसका लागि विदेश भासिएको व्यक्तिगत सुरक्षा र व्यावसायिक सुरक्षामा पनि विशेष ध्यान दिनु आवश्यक छ ।
यसका लागि विशेष तालिमको व्यवस्था गर्नुपर्छ । वैदेशिक रोजगारीमा जानेहरूले पनि आफूलाई कसरी सुरक्षित हुने भन्नेबारे विशेष ख्याल गर्नु आवश्यक छ । उनीहरूले काम गर्ने क्रममा लगाउनुपर्ने हेल्मेट, हार्नेस आदि नलगाएका कारण पनि ज्यान गुमाएका उदाहरणहरू छन् ।
यसकारण उनीहरूको व्यक्तिगत सुरक्षाका लागि श्रममध्यस्थकर्ता कम्पनीहरूले समेत सचेतना सामग्री तयार पार्नुपर्छ । वैदेशिक रोजगारीमा गएका नेपालीले प्रवासमा धेरै संघसंस्था स्थापना भएर विभिन्न कार्य गर्दै आएका छन्, यसका अतिरिक्त गैरआवासीय नेपाली संगठनले पनि केही काम गर्दै आएको छ, तर पनि अझै सुरक्षित आप्रवासन प्रवद्र्धन हुन सकेको छैन ।
बिदेसिएका नेपालीको हकहितका लागि सक्रिय हुने निकायहरूको ध्यान पनि वैदेशिक रोजगारीमा गएर मृत्यु भएका र अंगभंग भएका नेपालीको सुरक्षा र उद्धारमा केन्द्रित गर्नुपर्ने बेला भइसकेको छ ।
आन्तरिक रोजगारी प्रवद्र्धन गर्न नसकिइरहेको अहिलेको अवस्था वैदेशिक रोजगारीलाई व्यवस्थित र व्यावसायिक बनाएर बढीभन्दा बढी सुरक्षित बनाउनु सरकारको प्रमुख दायित्व त हो नै । नेपालका निजी क्षेत्रहरू, जो वैदेशिक रोजगारीमा नेपालीले पठाउने कार्यमा सहभागी छन्, उनीहरूले समेत यस विषयमा ध्यान दिनु आवश्यक छ ।
वैदेशिक रोजगारीमा संलग्न सरकारदेखि सबै सरोकारवाला निकायहरूले साझा पहल कदम गरेर यस क्षेत्रमा देखिँदै गएको असुरक्षाको अवस्था हटाउन पहल गर्नुपर्छ । मृत्यु भएर वा अंगभंग भएर फर्केका नेपाली वा तिनका परिवारलाई क्षतिपूर्ति दिँदैमा सरकारको दायित्व सकिँदैन, यो त केवल पीडामा राहत दिने एक व्यवस्था मात्र हो ।
अहिलेको क्षतिपूर्तिको रकम पनि अझै कम छ, त्यो पाउन पनि पीडित र तिनका परिवारले निकै लामो सास्ती खेप्नुपर्छ । यसर्थ, सरकारले सुरक्षित आप्रवासको नीति बनाउन ढिलाइ गर्नु हुँदैन ।
कारोवारबाट