फ्रिभिसामा नपठाउने हो भनें अव शुन्य लागत लागु हुन्छः मन्त्री गुरुङ

काठमाडौं, माघ ८- श्रम तथा रोजगारमन्त्री सुर्यमान गुुरुङ्ले वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित बनाउने काम भइरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङ्ले श्रम मन्त्रालय अत्यन्तै समस्याग्रस्त मन्त्रालय भएको उल्लेख गर्दै उनले भने,‘मन्त्रालय नै समस्याग्रस्त मन्त्रालय रहेछ, म आउने वित्तिकै यसको सूधारको लागि उल्लेख्य कामहरु भैरहेका छन्, यसको नीतिगत सूधारका लागि मैले निरन्तर काम गरिरहेको छु ।’ 

उनले अहिले सबै कामहरु अनलाईनमार्फत सुरु गर्न लागिएको र छिट्टै कार्यान्वयनमा आउने समेत विश्वास दिलाए । मन्त्री गुरुङ्ले भने,‘श्रम तथा रोजगार क्षेत्रलाई सुधार गर्नको लागि नयाँ र व्यवस्थित् ढंगले अघि बढाउनेगरि कामहरु भैरहेका छन्, मेरो नेतृत्वमा पारदर्शी कामहरु भैरहेका छन् ।’

उनले आफूले कहिल्यैपनि गलत काम नगरेको र यो उमेरमा आएर आफूलाई गलत गर्नुपर्ने केही कारण नै नभएको समेत जिकिर गरे । अहिले मन्त्रीले धमाधम नयाँ म्यानपावरहरु दर्ता गराईरहेको छ भनेर गलत प्रचार गरिएकोप्रति दुःख व्यक्त गर्दै उनले भने,‘मैले किन गलत काम गर्नुपर्यो र ?’

उनले फ्रि–भिसा, फ्रि–टिकटको नाममा पनि अहिले गलत कामहरु भैरहेको समेत चिन्ता व्यक्त गरे । उनले अघि थपे,‘स्वयम् जाने मान्छेहरुले ढाँट्छन्, ठूलो रकम तिरेर जान्छन् तर कति तिर्नुभयो भनेर सोध्दा दश हजार भन्छन्, अब कि त यसलाई शुन्यमै झानुपर्छ ।’ 

उनले रेमिट्यान्सले जीवनस्तर उकास्छ भन्ने कुरामा आफूलाई कुनै विश्वास नभएको समेत धारणा राखे। मन्त्री गुरुङ्ले थपे,‘विदेशिनु हाम्रो लागि बाध्यता पनि हो ।’ उनले धमिलिएको र गाँजिएको वातावरण सपार्ने काममा आफू लागिपरिरहेको समेत जानकारी दिए ।

त्यस्तै उनले आफू मन्त्री भएपछि प्रतिबन्ध लगाईएको अफगानिस्तानमा रोजगारीको लागि पूनः सूचारु गरेको समेत बताए । गुरुङ्ले थपे,‘मैले क्याविनेटबाटै यो निर्णय गराएको हुँ, काठमाडौंस्थित् अमेरिकी र बेलायती राजदुतहरुले मसँग बारम्बार आग्रह गरेपछि हामीलेपनि शर्तहरु राख्यौं, हाम्रो शर्त उहाँहरुले मान्नुभएपछि यो खुलाईएको हो ।’

मन्त्री गुरुङ्ले अहिलेसम्म १ सय १० वटा देशमा नेपालबाट रोजगारीका लागि जाने गरेको समेत जानकारी दिए । उनले श्रमको लागि नयाँ गन्तव्यमा कतार, युएई, ईजराय, जापान, दक्षिण कोरिया र बहराईनसँग सम्झौता भैसकेको र साउदी अरब, जोर्डन, लेवनन, मलेसिया र कुवेतसँग सम्झौता हुने प्रक्रियामा रहेको समेत जानकारी दिए ।  

श्रम तथा रोजगार मन्त्रालयका सह–सचिव महेश्वर न्यौपानेले मन्त्रालयले आन्तरिक तथा वैदेशिक दुवै स्तरमा श्रम तथा रोजगारको व्यवस्थापन गरिरहेको जनाए । रोजगारको लागि स्थानीय र जिल्ला तहमा पनि तालिम केन्द्रको व्यवस्थापन गरिरहेको उनको भनाई थियो । 

उनले श्रम ऐन संसदमा टेबुल भएको जानकारी दिए । वैदेशिक रोजगार ऐन आवश्यक परिमार्जन गर्नेबारेमापनि कामहरु अघि बढेको र रोजगार नीति २०७१ भर्खरै आएकोले त्यसको कार्यान्वयनमा लैजाने बारेमा जोड दिईरहेको उनले जानकारी दिए । 

कार्यक्रममा श्रम विभागका महानिर्देशक शत्रुघ्न प्रसाद पुडासैनीले विभागले अहिले श्रम स्विकृति, ट्रेड युनियन दर्ता, गठन र नविकरण, र बाल श्रमसम्बन्धी समुच्च रुपमा ध्यान पुर्याएर काम गरिरहेको जानकारी दिए । उनले भने,‘नेपालको त अर्थतन्त्रको मेरुदण्ड नै रेमिट्यान्स हो, यसलाई व्यवस्थित गर्नुपर्छ ।’

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले विभागले अहिले समन्वयात्मक भूमिका निर्वाह गरिरहेको बताउँदै भने,‘हामीले अहिले समन्वयात्मक भूमिका निर्वाह गरिरहेका छौं ।’ 

उनले नेपालबाट अहिले वैदेशिक रोजगारीमा संस्थागत्, व्यक्तिगत र एकचोटि गएर आएकाहरु पूनः जाने गरिरहेको अवस्थाको जानकारी दिँदै भने,‘अहिले झण्डै ४० लाख नेपालीहरु वैदेशिक रोजगारीमा छन्, यसलाई व्यवस्थित बनाउने कामहरु भैरहेका छन् ।’

वैदेशिक रोजगारीमा व्यापक ठगीका कुराहरु आईरहेको उल्लेख गर्दै भने,‘अहिले ठगी गर्नेहरुको संख्या बढ्दो छ, लिखत भएका पीडितहरुलाई हामीले न्याय दिने हरदम प्रयासहरु गरिरहेका छौं, न्यायधिकरणमा मुद्दा नै हामीले दर्ता गराएका छौं, अहिलेसम्म करिब ४ सय मुद्दा दायर  गरेका छौं ।’ उनले ठगीलाई विशेष अपराधको रुपमा ऐनले नै निर्दिष्ट गरेको समेत जानकारी दिए । 

उनले विभागले नीतिगत रुपमा सुधारको लागि कामहरु गरिरहेको बताए । उनका अनुसार मन्त्रीको निर्देशनमा गत पुस ३ गतेबाट अनलाईन सेवा सुरु गरिएको छ । उनले थपे,‘अब १० दिनभित्र पूर्ण रुपमा सेवा प्रारम्भ गर्छौं ।’

उनले वैदेशिक रोजगार ऐन २०६४ लाई समयसापेक्ष बनाउनको लागि पनि विभागले काम गरिरहेको जनाए। उनले थपे,‘मन्त्रीज्यूको ध्यान पनि नीतिग रुपमा सुधार गर्नमै केन्द्रित छ ।’

कारोवारबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: