परदेशमा सहकारी, कति सहज, कति असहज ?

यूएई, मंसीर २२

पछिल्लो समय वैदेशिक रोजगारीका लागि यूएई आएका नेपालीहरूबीच सहकारी अभियान लोकप्रिय छ । एकै क्षेत्रबाट आएका युवाहरूले स्थापना गरेका सामाजिक संस्थामार्फत सुरु गरिएको बचत अभियानलाई पछिल्ला केही वर्षदेखि सहकारीको रूपमा विकास गर्न थालिएको हो ।

यस्ता सहकारीका सदस्यहरू बीचैमा वैदेशिक रोजगारी त्यागेर नेपाल फर्कनुपर्ने भएमा त्यस्ता संस्थाले सदस्यको सहकारीमा रहेको रकम फिर्ता गर्ने गरेका छन् । यूएईमा पाँच वर्ष अघिदेखि यो अभियान सुरु भएको हो । पाँच वर्षअघि सुरु भएका झरना बचत तथा ऋण सहकारी संस्था, द नेसनल युवा बचत तथा ऋण कोषलगायत सहकारी अहिले पनि सञ्चालनमा छन् ।

कानुनी प्रतिकुलता 

यूएईमा स्थापना भएका यस्ता सहकारी स्थानीय कानुनअनुसार दर्ता हुन भने पाउँदैनन् । दर्ता नभएका संस्थाको रकम स्थानीय बैंकले बचतको रूपमा स्विकार गर्दैनन् । व्यक्तिगत खातामा राख्न पनि स्रोत खुलाउनुपर्ने भएकाले सहज छैन । स्थानीय कानुनअनुसार यसरी रकम संकलन गर्न पनि सजिलो नरहेको सहकारी अभियानकर्मी पौडेल बताउँछन् ।

धेरैजसो यस्ता सहकारीको मासिक बैठक बरदुबईको अल गुबईबा मेट्रो स्टेशननजिकै रहेको पार्कमा हुने गरेको छ । अल ऐन, शारजहाँलगायत स्थानमा पनि पार्क वा रेष्टुरेन्टमा भेला भएर बचत संकलन गर्ने तथा ऋण लगानी गर्ने गरिएको छ । पार्कमै बैठक गर्ने र मासिक बचत संकलन गर्ने चलन रहेको कालिगण्डकी बहुउद्धेश्यीय सहकारी संस्था झपेन्द्र आचार्यले जानकारी दिए ।

प्रहरी वा गुप्तचरहरूले थाहा पाएमा यस्ता अभियानका अगुवाहरूलाई समस्या पर्ने भएकाले अब भने बचत संकलन र ऋण लगानीको काम पार्कमा नगर्ने गरी वैकल्पिक उपाए खोजिन थालिएको उनले बताए ।

संकलन भएको रकम धेरै भएपछि सदस्यहरूमै फिर्ता गर्नुपर्ने अवस्था रहेको उनले सुनाए । आफूहरूले सञ्चालन गर्दै आएको ब्राइट फ्युचर बचत तथा ऋण सहकारी संस्थाले दुई वर्षमा संकलन भएको ५० हजार दिराम अर्थात् झण्डै १५ लाख रुपैयाँ सदस्यहरूमै फिर्ता गरेको सहकारी अभियानकर्मी कृष्ण पौडेलले बताए ।

आगामी दिनमा यसरी सदस्यमै फिर्ता गर्नुभन्दा सामुहिक लगानी गर्ने सोच रहेको उनको भनाइ छ । सामुहिक लगानी हुने भएमा मासिक बचतको रकम पनि वृद्धि हुने सम्भावना रहेको उनले बताए ।

व्यवस्थित बनाउने पहल

यूएईमा सहकारी अभियानको प्रवद्र्धन गर्नेहरू नेपालमा छँदा सहकारी अभियानमा संलग्न रहेका व्यक्ति भए पनि सबै सहकारीमा सहकारीसम्बन्धी ज्ञान भएका मानिस छैनन् । सहकारीको संख्या धेरै हुँदै जाँदा कुनै एक सहकारीमा समस्या देखिएमा अन्य सहकारीको पनि विश्वसनीयतामा समस्या पर्ने तथा अन्य जटिलता समेत आउन सक्ने भन्दै त्यसलाई व्यवस्थित बनाउने पहल पनि यूएईमा सुरु भएको छ ।

ब्राइट फ्युचर बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्ण पौडेल र प्रवासी हातेमालो बचत तथा ऋण सहकारी संस्थाका सुत्रमणि राईको पहलमा यूएईमा छरिएर रहेका सहकारीका प्रतिनिधिको भेलासमेत भएको थियो । १४ सहकारीका २८ जना प्रतिनिधिको भेलाले नेपालीहरूले सञ्चालन गरेका स्थानीय सहकारीको व्यवस्थित तथा दिगो विकासका लागि नेपाली सहकारी संघ यूएईसमेत गठन गरेको थियो ।

कृष्ण पौडेलको संयोजकत्वमा गठन भएको संघमा सुत्रमणि राई सहसंयोजक रहेका छन् ।

तदर्थ समितिमार्फत यूएईमा नेपालीहरूले सञ्चालन गर्दै आएका सहकारीलाई व्यवस्थित बनाउन सहकारी विधि तथा लेखासम्बन्धी तालिम सञ्चालन गर्ने, नेपालको सहकारी बोर्ड, सहकारी विभाग, सहकारी संघलगायतका संस्था तथा निकायसँगको सहकार्यमा काम गर्ने योजना रहेको समितिका संयोजक पौडेलले जानकारी दिए ।

पौडेलले अहिले सदस्यहरूले नै घर खर्चका लागि ऋण लिने प्रचलन रहे पनि यसलाई नेपालमा सामूहिक लगानीका लागि समेत प्रयोग गर्न सकिने सम्भावना रहेको बताए ।

सामाजिक सहयोग पनि

यूएईमा रहेका सहकारीका सदस्यले मासिक बचतमा एक सय दिराम संकलन गर्ने चलन रहे पनि हरेक सहकारीले एकदेखि पाँच दिरामसम्म अतिरिक्त संकलन गर्ने गरेका छन् । यसरी संकलन हुने रकमबाट नेपालमा हुने विभिन्न प्राकृतिक विपत्तिहरूमा सहयोग गर्ने गरिएको अभियानकर्मीहरू बताउँछन् ।

चुनौति

यूएईमा दर्ता नभएका संस्थालाई गतिविधि गर्न र अनुमति नलिई कुनै पनि कार्यक्रम गरेमा ठूलो जरिवानासहितको कारबाही गरिने चेतावनीयुक्त समाचार स्थानीय पत्रिकामा आएपछि यूएईमा नेपाली संघसंस्थाले गर्ने गतिविधि नियन्त्रित भएका छन् । यसको असर सहकारी अभियानमा पनि परेको छ ।

सहकारीले बचत तथा ऋण लगानी गर्ने भएकाले यो स्थानीय रूपमा अवैधानिक भएकाले गतिविधि गर्न थप चुनौतीको महसुस भएको संघका संयोजक पौडेलले जानकारी दिए । नेपालमा बचत तथा ऋण सहकारी संघ, सहकारी बोर्डलगायतसँग छलफल भए पनि यहाँको स्थानीय जटिलताले पछिल्ला दिनमा बचत नियमित भए पनि कठिनाइ महसुस भइरहेको उनले बताए ।

यो समाचार कारोवार दैनिकमा भूपराज बस्यालले लेखेका हुन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: