
यूएई- हास्यब्यङ्य कलाकार मनोज गजुरेल सहितको सिस्नोपानी समुहका कलाकारहरुले युएईका बिभिन्न लेबर क्याम्पहरुमा आफ्नो प्रस्तुती दिएका छन । टोलीमा हास्यकवि टंक आचार्य र योग गुरु डा. राजु अधिकारी रहेका थिए ।
एनआरएन युएईको आयोजना झापाली समाज, यूएई लगायत बिभिन्न संघसंस्थाहरुको सहयोगमा सिस्नोपानी नेपालको प्रस्तुति ‘दुई थोपा हाँसो’को चौथो तथा अन्तिम प्रदर्शन ३० मे का दिन अजमानमा सम्पन्न भयो ।
सिस्नोपानीले दुबईको जेबलअली पार्को मार्केट छेउको क्यूबीजी लेबर क्याम्पमा २६ मे विहिबारका दिन आफ्नो पहिलो कार्यक्रम गरेको थियो । त्यसैगरी २७ मे शुक्रबारका दिन दिउसोको समयमा रसअलखेमाको अल घेलमा अवस्थित हिरा ईन्डस्ट्रिजको लेबर क्याम्पमा र साँझमा दुबईको इम्रिल क्याम्पमा यसअघि कार्यक्रमको आयोजना गरिएको थियो । गत ३० मे सोमबार बेलुकी अजमानको टास कम्पनीमा चौथो तथा अन्तिम कार्यक्रमको गर्दै कार्यक्रम समापन गरिएको थियो ।
व्यंग्य कवि टंक आचार्यले समसामयिक प्रस्तुतिलाई सहभागी दर्शकहरुले मन पराएका थिए भने कलाकार मनोज गजुरेलको प्रस्तुतिले अधिकांश दर्शकहरु पेट मिचीमिची हाँसेका थिए । योगगुरु डा. राजु अधिकारीले स्वस्थ्य जीवनयापनका लागि उपयोगी योगका साधनाबारे प्रशिक्षण दिएका थिए ।
अजमानमा भएको कार्यक्रमको चौथो तथा अन्तिम दिन नेपाली समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, एनआरएनका सल्लाहकार सालिक सुवेदी, झापाली समाजका कार्यवाहक अध्यक्ष मोहन शिवाकोटी, एनआरएन अभियन्ता सन्तोष प्रसाई लगायत यूएईका क्रियाशील संस्थाका प्रतिनिधिहरु तथा सोही कम्पनीमा कार्यरत नेपालीहरुको उपस्थिति थियो ।
यो पनि पढ्नुहोस्
विदेश पठाउँछु भन्दै चारलाख ठग्ने एजेण्ट ५ लाख तिर्न बाध्य