कतारमा ‘अविवाहित’ हुनुको पीडा 

दोहा- पार्क निक्कै सुन्दर छ । त्यहाँ डुँगा चढेर सयर गर्न पाइन्छ । गल्फ खेल्ने सुन्दर ठाउँ छ । अनी भुईमा निक्कै मेहनत गरेर बनाइएको हरियालीले मनै लोभ्याउँछ । तर दुःखको कुरा श्रीमति वा छोराछोरी विना त्यहाँ पुग्नेले त्यो सुन्दरताको अनुभव गर्न त परको कुरा देख्न समेत पाउँदैनन् । गेटमा उभिएका सुरक्षाकर्मीले भनिहाल्छन् अविवाहितलाई भित्र पस्न मनाही छ । 

कतारमा यस्ता पार्कमा मात्र होइन सपिंग मलहरुमा समेत निश्चित दिनमा एक्ला पुरुषलाई प्रतिवन्धित छ । त्यसैले यो कट्टर तथा परम्परावादी मुस्लीम देशमा अविवाहितको पगरी गुथेर बस्न गाह्रै छ । सरकारी अधिकारीहरु भनें यो प्रतिवन्धलाई महिला तथा पारिवारिक वातावरणमा रमाउन चाहनेलाई यो अवशर दिइएको तर्क गर्छन् । 

कतारको यो नियमले मुख्य गरी दक्षिण एसियाली देशबाट आएका कामदारलाई भनें अझ एक्ल्याएको छ । परिवारबाट टाढा रहेका उनीहरु त्यसै पनि एक्लिएका हुन्छन् । त्यसमाथि उनीहरुलाई गरिने यसप्रकारको व्यवहारले उनीहरुलाई समाजबाट टाढा पुर्याइरहेको अधिकारवादीहरुको भनाई छ । 

‘म पनि पार्कमा घुमेर रम्न चाहन्छु’ एक आप्रवासी कामदार हैदर भन्छन् ‘तर सुरक्षाकर्मीहरु भन्छन् मलाई त्यहाँ पस्ने अनुमति नै छैन ।’ 

यो सानो तर आर्थिक रुपमा बलियो अरव देश तिनै कामदारको भरमा विकासको बाटोमा तिव्र गतिमा अगाडी बढिरहेको छ जहाँ सन् २०२२ मा हुने विश्वकप फुटवल प्रतियोगिताका लागि निर्माणको काम चलिरहेको छ । तर तिनै कामदार भनें श्रम शोषणमा मात्र परिरहेका छैनन्, समाजबाट एक्ल्याइएका पनि छन् । एक कतारी अधिकारीले आप्रवासी कामदारको अवस्था सुधार गर्ने सरकारी योजना रहेको बताउँछन् तर त्यो कसरी र कहिलेदेखि सुरु हुन्छ भन्ने बारेमा प्रष्ट छैन । 

आप्रवासी कामदारको ठूलो उपस्थीतिले कतारमा महिला र पुरुषको संख्यामा ठूलो फरक देखिन्छ । कतारको योजना मन्त्रालयका अनुसार २६ लाख मान्छे बस्ने कतारमा त्यसमध्ये ७५ प्रतिशत पुरुष छन् । यसमध्ये स्वयं कतारी नागरिकको संख्या भनें अत्यन्त थोरै छ । 

कतारलाई विकासको बाटोमा अगाडी बढाउने क्रममा आप्रवासी कामदारको योगदान कम छैन । तर उनीहरुको योगदानको खासै कदर छैन । स्थानीय एक अरविक दैैनिक अल सारुकमा एकजना पत्रकार रसद अल फादेहले आप्रवासी कामदारहरु जथाभावी हिंड्ने, डुल्ने गरेका कारण कतारको सामाजिक संस्कार नै विग्रिएको भनेर लेखेका छन् । उनले धेरै समय बाहिरियालाई स्वदेशमा राख्दाको असर भन्दै यसको निन्दा गरेका छन् । कतारी नागरिकले आप्रवासी कामदारलाई कसरी हेर्छन् भन्ने बुझ्न यो एउटा राम्रो उदाहरण हुन सक्छ । 

कतार आफ्ना नागरिकलाई आप्रवासी कामदारबाट कतिसम्म टाढा राख्न चाहन्छ भन्ने उदाहरण पछिल्लो समयमा उसले निर्माण गरिरहेको आप्रवासी कामदार छिर्र्न नपाउने विशेष आवास क्षेत्र निर्माणले पनि प्रष्ट्याउँछ । अनी गत डिसेम्वरमा कतारको दोहामा मनाइएको राष्ट्रिय दिवसको परेडमा निर्माण क्षेत्रमा काम गर्ने ठूलो संख्याका आप्रवासी कामदारलाई हेर्न समेत नदिइएको घटनाले पनि कतारको अनुहार प्रष्ट हुन्छ । 

‘शुक्रवार कतारले कामदारलाई छुट्टी दिन्छ । तर त्यो दिन पनि हामी पार्क वा मलतिर घुम्न जान पाउँदैनौं’ भारतबाट आएका एक मजदुर सुदीप भन्छन् ‘त्यसैले दोहामा हाम्रा लागि सिमित ठाउँ मात्र छ ।’

(कतार डे डटकमबाट अनुवाद गरिएको) 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय