खाडीबाट फर्केका महिला भन्छन्ः महिना दिनमा दुतावास ल्याउ

सुनिल न्यौपाने, काठमाडौं
बैदेशिक रोजगारमा घरेलु कामदारका रुपमा महिलालाई पठाउने की बन्देज ? यस विषयमा दुई पक्षको उत्तिकै बलिया तर्क छन् । खाडीका देशहरुमा कतिपयलाई हुने मानसिक, शारिरीक र आर्थिक शोषणका घटनालाई अगाडी सार्दै एकपक्षले बन्देज आवश्यक भएको तर्क गरिरहँदा बाध्यताले विदेशिने महिलालाई त्यसले अझ जोेखिममा पारिरहेको यथार्थ पनि हो । त्यसैले यस विषयमा सुरक्षित बैदेशिक रोजगारको क्षेत्रमा कृयाशिल संघसंस्था र व्यक्तिहरु चर्को रुपमा विभाजित छन् ।

खाडीका देशहरुमा थुप्रै नेपाली महिलाले घरेलु काममा जाँदा अत्यधिक समयसम्मको काम, समयमा तलव नपाउनु र कतिपयलाई यौन शोषण भएपछि सरकारले कहिले घरेलु काममा जान बन्देज लगाउने त कहिले उमेरको हदबन्दी लगाउँदै आएको छ । तर सरकारले न बन्देज लगाउँदा त्यो रोकिएको छ, न त खुल्ला गर्दा समस्याको सम्वोधन नै ।

हालै सरकारले पुन यसलाई खुल्ला गरेको छ । तर यसरी खुल्ला गरिएको विषयमा असहमति राख्नेहरु थुप्रै छन् । उनीहरु न सरकारले बन्देज लगाउँदा उचित कारण दिने न खुल्ला गर्दा सुरक्षाको वातावरण बनाउने तर्क गर्छन् । त्यसैले सरकारले घरेलु काममा जान महिलाका लागि खुल्ला गरेपनि यो बहसको विषय बनेको छ ।   

खाडीका देशमा घरेलु काम गरेर फर्केका महिला के भन्छन् ?

राजधानी काठमाडौंमा खाडीमा खद्धामा पठाउनु जायज की नाजायज भन्ने बहस चलिरहँदा स्वयं खाडीका देशहरुमा घरेलु कामदारका रुपमा काम गरी फर्केका महिलाले भनें यसलाई व्यवस्थीत बनाउनु नै श्रेयस्कर भएको धारणा राखेका छन् ।  उनीहरुले रहरले नभई बाध्यताले बैदेशिक रोजगारमा जाने महिललाई जतिसुकै बन्देज लगाएपनि उनीहरु झन असुरक्षित ढंगबाट ति देशहरुमा पुग्ने र बेचिने गरेको तर्क गर्छन् ।

भरौल ३, सुनसरीकी कुमारी विक साउदी अरवमा २५ महिना घरेलु कामदारका रुपमा काम गरेर फर्केकी हुन् । हाल उनी गाउँमा बैदेशिक रोजगारका बारेमा आफूले जाने, भोगेका कुराहरु सिकाउने गर्छिन । उनी भन्छिन् “पठाउँदै नपठाउने पनि होइन, तर जथाभावी पठाउनु पनि हुन्न । जानै बन्द गरेर समस्याको समाधान हुन्न ।” उनी घरेलु काममा जानेहरु प्रायः रहरले नभई बाध्यताले काम गर्न जाने भएका कारण बाटो छेकेर मात्र समस्याको समाधान नहुने तर्क गर्छिन् । त्यसका लागि कसरी सुरक्षित बनाउन सकिन्छ भनेर गृहकार्य गर्नुपर्ने विकको भनाई छ । उनी व्यवस्थीत रुपमा विदेश जान पाएमा महिलाले पनि विदेशमा गएर कमाएर परिवार चलाउन सक्ने धारणा राख्छिन् ।

नेपालबाट जान बन्देज भएकै कारण आफू बम्वैबाट जान बाध्य भएको भन्दै उनी आफूलाई साउदीमा कुनै समस्या नपरेको बताउँछिन् । तर त्यहिं थुप्रै महिलाहरुले आफूले पेटभरी खान नपाएको, सुत्न नपाएको भन्ने गरेको भेटेको भन्दै उनी कम्तिमा महिनामा एक पटक घरेलु काम गर्न गएका नेपाली महिलालाई दुतावासमा पुर्याउने व्यवस्था गरिएमा त्यसले धेरै समस्याको समाधान गर्ने बताउँछिन् ।
दृष्टिकोण नै ठिक छैन

एजेण्ट मार्फत भारतको बाटो हुँदै कुवेतमा घरेलु कामदारका रुपमा काम गरेर फर्केकी मूर्तिया १ सर्लाहीकी गुणा कार्की पनि घरेलु कामदारलाई हेर्ने दृष्टिकोेण नै ठिक नभएको तर्क गर्छिन् । उनी आफू सुरुमा रोजगारीका लागि पुगेको घर ठिक नभएको तर दोश्रो घरमा साह्रै राम्रो व्यवहार पाएको भन्दै नेपाली महिलालाई सुरक्षित बनाउन सरकारको भूमिका नै महत्वपूर्ण हुने ठान्छिन् । उनी आफूले काम गरेको घरमा समयमा तलव, मित्रवत व्यवहार भएकै कारण दुई बर्ष ३ महिना सहज रुपमा काम गरेर फर्केको बताउँछिन् ।

बन्देजले बढाएको तस्करी

नेपालबाट घरेलु काममा जान बन्देज लगाइएका कारण भारत र पछिल्लो समयमा श्रीलंकाको बाटो हुँदै मानव तस्करहरुले लैजाने गरेका घटना सार्वजनिक भइरहेका छन् । ओमानमा घरेलु काम गरि फर्केकी प्रकाशपुर ८ सुनसरीकी कमला कटुवाल थापा भारतबाट जाँदा भारुमा हिसाव गरेर धेरै तलव पाउने अपेक्षामा गएको बताँउछिन् । उनी बाध्यताले विदेश जाने नेपाली महिलालाई दलालले अनेकथरी सपना देखाउने र घरेलु काम गर्न जाने महिलालाई बन्देज लगायतका विषयमा कुनै जानकारी नहुने गरेका कारण जोखिम अझ बढी हुने गरेको बताउँछिन् । भारतको बाटो भएर गएकै कारण गन्तव्य मुलुकमा पुगिसकेपछि त्यहाँका कम्पनीहरु मार्फत किनबेच हुने भन्दै त्यसको साटो नेपालबाट सिधै पठाउँदा समस्या कम हुने उनको तर्क छ ।

सुनसरीकी कुमारी विक पनि बन्देजका वावजुद नेपाली महिलालाई घरेलु काममा जान रोक्न नसकिएको भन्दै यसले तस्करलाई मात्र फाइदा पुगिरहेको धारणा राख्छिन् । उनी भन्छिन् “दलालले त जसरी पनि लैजान्छ । म गएको बेलामा मरेको भए मेरो लाश समेत नेपाल नआइपुग्ने रहेछ किनकी म साउदी गएको त कुनै प्रमाण नै थिएन । त्यसैले मानव तस्करको धन्दा चल्न दिइरहने की यसलाई व्यवस्थीत गर्ने भन्ने सरकारको हातमा छ ।”

बैदेशिक रोजगारमा जाने महिला कामदारका लागि विभिन्न प्रकृतिको सेवा दिंदै आएको गैर सरकारी संस्था पौरखीकी अध्यक्ष मञ्जु गुरुङ बैदेशिक रोजगारमा जाने महिलाका लागि जनचेतनामूलक कामले मात्र नपुग्ने, त्यसका लागि महिलाको क्षमता बृद्धि गर्नुपर्ने धारणा राख्छिन् । उनी प्रस्थानपूर्व नै गाउँतहमा नै धेरै काम गर्न सकिने र यसले महिलाको बैदेशिक रोजगारको यात्रा सहज र उपलव्धीमूलक हुने ठान्छिन् ।  
घरेलु कामदारका रुपमा बैदेशिक रोजगारमा जाने महिलालाई यस अगाडी ति देशहरुमा घरेलु काम गरेर फर्केर आएकाहरु मार्फत गाउँस्तरमा नै सीप, सामान्य भाषा लगायतका विषयमा जानकारी गराउने हो भनें यसले धेरै फाइदा पुग्ने को भनाई छ । त्यसअघि गन्तव्यमूलकसँग नेपाल सरकारले महिलामैत्री श्रम सम्झौता गरिनेपर्नेमा गुरुङले जोड दिइन् । 

सीप देउ

सर्लाहीकी कार्की महिलालाई विदेश जाँदै नजाउ पनि भन्दिन् तर जाँदा साह्रै राम्रो छ भनेर पनि नभन्ने गरेको बताउँछिन् । आफूसँग सोध्न आउनेहरुलाई सकेसम्म सीप सिकेर मात्र आफ्नो योग्यता, क्षमता अनुसारको काममा जान उनी सुझाव दिन्छिन् ।

थुप्रै नेपाली महिलाले घरेलु काममा जाँदा त्यहाँ चलाउने सामग्रीहरु चलाउन नजानेका कारण कुटाई खाने, तलव काटिने समस्या भोग्ने गरेको बेला बेलामा सुनिंदै आएको कुरा हो । कार्की घरेलु काममा जानु अगाडी नेपालमा नै त्यस्ता सीप सिकाएर मात्र घरेलु काममा पठाउँदा नेपाली महिलालाई सहज हुने बताउँछिन् ।

यहि कुरामा सहमति छिन् सर्लाहीकै पूर्णकुमारी पोखरेल पनि । भारतको बाटो भएर कुवेतमा घरेलु काम गरेर फर्केकी पोखरेल भाषाको ज्ञान नहुनु र घरमा चलाउने सामान चलाउन नजान्नु नै घरेलु कामदारका सुरुवाती समस्या हुने उनको भनाई छ । त्यसैले पोखरेल विदेश पठाउनु अघि भाषाको सामान्य ज्ञानतथा सीप सिकाउनु अनिवार्य देख्छिन् ।

दुतावासको हाजिर
घरेलु काममा जाने महिलाका लागि निश्चित अवधिमा दुतावासमा अनिवार्य रुपमा हाजिर गर्ने व्यवस्था गर्नु पर्नेमा सवै एकमत छन् । यदि सो व्यवस्था नगर्ने हो भनें समस्या अहिले भन्दा चर्को हुने उनीहरुको भनाई छ । सुनसरीकी कमला कटुवाल थापा महिनामा एक पटक दुतावासमा आउन पाएमा आफूलाई कुनै समस्या परेको भएमा राख्न पाउने भएका कारण यसअघि देखिएका समस्या हल हुने धारणा राख्छिन् । उनको भनाईमा घरेलु काम गरेर फर्केका प्रायः सवैै महिला सहमत छन् ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय