जीवन श्रेष्ठ, रामेछाप
सरकारले खाडीका ६ मुलुक र मलेसियामा रोजगारीका लागि जाने कामदारसँग भिसा र टिकट वापतको रकम लिन नपाउने व्यवस्था गरेको झण्डै एक बर्ष पुग्न लाग्दा समेत त्यसको प्रभावकारी कार्यान्वयन नभइरहेको देखिएको छ । रामेछाप जिल्लामा हालै गरिएको एक अध्ययनले यस्तो देखाएको हो ।
सरकारले यू.ए.इ., कतार, साउदी अरव, कुवेत, ओमन र बहराइन गरी ६ वटा खाडि मुलुक र मलेसिया गरी ७ वटा देशका लागि गत बर्षको असार २१ गतेदेखि फ्रीभिसा फ्रीटिकटको निर्णय गरेको थियो । तर प्रभावकारी अनुगमनको अभावमा त्यसको कार्यान्वयन फितलो देखिएको हो ।
२०७२ आषाढ २१ गते पश्चात् फ्रीभिसा फ्रीटिकट अन्तरगत खाडि मुलुक र मलेसियामा बैदेशिक रोजगारका लागि रामेछाप जिल्लाबाट गएका व्यक्तिका परिवारहरुसँग प्रत्यक्ष भेटघाट गरी म्यानपावर कम्पनीलाई तिरेको पैसाका बारेमा सोधपुछ गरी अध्ययन गरिएको थियो ।
सो अध्ययन अनुसार बैदेशिक रोजगारमा गएका ४३ जनाको परिवारजनसँग गरिएको छलफल अनुसार सरकारले तोकेको १० हजार रुपयाँ मात्र तिरेर जाने कोहि पाइएन । ४३ जना मध्ये सबैभन्दा कम २५ हजार रुपयाँ तिरेर साउदी अरब जाने एक जना मात्र भेटिएका छन् । सबैभन्दा बढि रु. १ लाख ७५ हजार तिरेर साउदी अरबमा एकजना गएको पाइएको छ ।
अध्ययनमा संलग्न ४३ जनामा सरदर ७८ हजार रुपयाँ मेनपावरलाई तिरेर गएको पाइएको छ । त्यसैगरी ५० हजार रुपैयाँभन्दा कम तिर्ने व्यक्ति ७ जना अर्थात १६ प्रतिशत पाइयो भने १ लाख रुपैयाँभन्दा बढि तिरेर जाने पनि ७ जना अर्थात १६ प्रतिशत नै भेटिएका छन् ।
बैदेशिक रोजगारमा जाने ४३ जनामध्ये सबैभन्दा बढि १५ जना अर्थात् ३५ प्रतिशत यू.ए.ई., दोस्रोमा साउदी अरब १३ जना अर्थात् ३० प्रतिशत, तेस्रोमा मलेसियामा ७ जना अर्थात् १६ प्रतिशत, चौथोमा कतारमा ६ जना अर्थात् १४ प्रतिशत र कुवेतमा २ जना अर्थात ५ प्रतिशत गएको पाइयो ।
पैसा बुझाएकाहरुमा धेरैजसोले भरपाई प्राप्त नगरेको र केहिले प्राप्त गरेकोमा पनि १० हजार रुपैयाँको मात्र भरपाई पाइएको छ । रकम तिर्दा १ लाख ७५ हजारसम्म तिर्नु पर्ने तर भरपाई भने १० हजार रुपैयाँको मात्र दिएर मेनपावर कम्पनीहरुले विदेशमा पैसा कमाउने सपनाका साथ ऋण काडेर जम्मा गरेको रकम खुलमखुल्ला लुटीरहेको पाइएको छ ।
अध्ययनले अर्को महत्वपूर्ण तथ्य के फेला पारेको छ भने फ्रि भिसा फ्रि टिकटको प्रावधान थाहा नभएका व्यक्तिहरुसँग सो प्रावधान भन्दा पहिलेदेखि लिने गरेको दरमा पैसा उठाई रहेका छन् । यसरी म्यानपावर कम्पनीहरुले विदेशबाट रोजगारदाता कम्पनीले व्यहोरेको भिसा र टिकट शुल्क वापतको पैसा, कामदार पठाए वापत प्राप्त हुने कमिशन त आइ नै हाल्छ, नेपालमा कामदारबाट उठाएको चर्को रकम समेत जम्मा गरेर दोहोरो रुपमा पैसा कमाई रहेको देखिन्छ ।
सम्बन्धित देशको रोजगारदाता कम्पनीले कामदार पठाउने मेनपावर कम्पनीलाई सेवा शुल्क नबेहोर्ने भनि लेखी आएको अवस्थामा मात्र अधिकत्तम रु १० हजारसम्म लिन पाउँछन् ।