
तनहुँ- तनहुँका एक कृषकले दुई महिनामा २२ लाखको घाँस बिक्री गरेका छन् । १९ वर्षदेखि घाँस खेतीमा लागेका जामुने–२ तल्लो गुणादीका बामदेव खनालले दुई महिनाको अवधिमा २२ लाखको घाँस विक्री गरेका हुन् ।
खनालले गत वर्षको असार र श्रावणमा घाँस विक्री गरेका हुन् । असार र श्रावण घाँस विक्रीका लागि उपयुक्त समय मानिन्छ । घाँस खेतीबाट कमाई गर्न सकिन्छ भन्ने थाहा नभएका खनाल अहिले घाँस खेतीबाट लाखौ कमाईरहेका छन् ।
२०५४ सालमा घाँस खेती सम्बन्धी तालिम लिएका उनी त्यसैको प्रभावले यो व्यवसायमा लागेका थिए । घाँस खरिदका लागि विभिन्न संस्थाहरुले अर्डर समेत गरिसकेका छन् ।
यो वर्षका लागि रामपुर गाई फार्म, नेपाल एकीकृत ग्रामीण विकास केन्द्र लगायतका संस्थाहरुले घाँस खरिदका लागि अर्डर गरेको खनालले बताए । ‘पहिल्यै अर्डर नगरे घाँस नपाइन पनि सक्छ,’ उनले भने, ‘यो वर्षका लागि घाँस अर्डर भइसकेको छ ।’
खेत र बारीबाट उत्पादन भएको अन्नबालीले दुई महिना पनि खान नपुग्ने भएपछि खनालले घाँस खेती गरेका थिए । ३ वटा राइखनियो र बडहरको विरुवा लगाएर २०५४ सालदेखि घाँस खेती सुरु गरेका खनालले अहिले ७० रोपनी क्षेत्रफलमा घाँस खेती गरिरहेका छन् । जसमध्ये ३५ रोपनी जग्गा भाडामा लिएको उनले जानकारी दिए ।
‘घाँस खेतीबाट राम्रो आम्दानी हुने गरेको छ’ उनले भने, ‘खेत र बारीको धान र मकैले विगतमा दुई महिना पनि राम्रोसँग खान नपुगेको अवस्थामा हाल घाँस बिक्रिबाटै परिवार चलाएको छु ।’ घाँस बिक्रिबाट उत्साहित भएपछि खनालले अहिले विभिन्न जातका घाँसहरु संग्रह समेत गर्न थालेका छन् । तनहुँ जिल्लाका अतिरिक्त छिमेकी जिल्ला कास्की, गोरखा, लमजुङ, चितवन लगायतका ठाउँहरुमा घाँस विक्री हुँदै आएको खनालले बताए । खनालले वदामे, राईखनियो, ईपिल ईपिल, किम्वु, मठ, ज्वाईन्ट भेज, सिओ थ्रि, ग्वाटेमाला, सोम्वा सेटेरिया, पास पलम, मलातो, टाँकी, जै, भट्टमास लगायतका घाँस खेती गरेका छन् ।
कारोवारबाट