सोलः नेपाली डाक्टरहरुको पहलमा कोरियन डाक्टर सम्मिलित विज्ञ समुहले नेपाली युवाहरुलाई डिप्रेसन बिषयमा अनलाइन परामर्श सुरु गरिएको छ । रोजगारीका लागि दक्षिण कोरिया रहेका युवाहरुको आत्महत्या संख्या बढ्न थालेपछि परामर्श सुरु गरिएको हो ।
सात सदस्यीय टोलीमा मनोरोग र डिप्रेसन बिषयका जानकार छन् । सोसाईटी अफ नेपाल लभिङ्ग कोरियन स्वयम्सेवी विज्ञ टोलीले कामदारहरुको अनुकुल समयमा अनलाइन शिक्षा दिन सुरु गरेको हो । कोरियन भाषामा छोटकरीमा हाननेसा नामकरण गरिएको उक्त संस्थाले डिप्रेसनका कारण र निदान बिषयमा जानकारी दिने संस्थाका उपाध्यक्ष डा राजेशचन्द्र जोशीले जानकारी गराए ।
२०१४ मा घटेको आत्महत्या दर २०१५ र १६ मा बढेको थियो । गत फागुन २३ मा एकैदिन कन्चनपुरका मोहनसिंह बुढापाल र गुल्मीका विजय खत्रीले आत्महत्या गरेका थिए । उनीहरुको आत्महत्याको दुई साताअघि मात्रै स्याङ्जाका गणेशराज चापागाईँले झुण्डिएर आत्महत्या गरेका थिए । चापागाईँले ‘सुसाइड नोट’ मा डिप्रेसनको कारण आत्महत्या गर्न लागेको खुलाएका थिए ।
आत्महत्या गर्नेहरुमा पारिवारिक कलह, प्रेममा धोका, कार्य असफलता र महत्वकाक्षा अस्वभाविक जस्ता कारण देखिएका छन् । डाक्टरहरुका अनुसार डिप्रेसनका कारण आत्महत्या गर्न मन लाग्ने, छट्पटी हुने लक्षण देखिन्छ । अरुप्रति धेरै शंका गर्ने, एकै स्थान नचली नबोलीरहनु र रोग लाग्यो भनि चिन्ता गर्ने डिप्रेसनका संकेत हुन् ।
जोशीका अनुसार युवाहरुले सोच्ने क्षमता कमजोर भएको, जीवनप्रति दिक्दारी महसुस भएको जस्ता समस्या राख्ने गरेका छन् । डाक्टरहरुको परामर्श पश्चात युवाहरुमा समस्या हट्ने गरेको जोशीले बताए ।
लभ नेपालमार्फत केइम्युङ्ग विश्वविद्यालय दोंग्सान हस्पिटलले नेपालमा स्वास्थ्य शिविर पनि संचालन गर्दै आएको छ । संस्थाले धुलिखेलको तामाङ गाउँ, काभ्रेको फूलबारी हेल्थपोस्ट, राजधानीमा सुकुम्बासी क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो ।
डिप्रेसन परामर्शका लागि चिकित्सकहरुले ब्याण्ड एपको संचालन गरेका छन् । सोही एपमा लग इन भएपश्चात समस्याहरु परामर्शदाता समक्ष राख्न सकिनेछ । तीन सय बढी नेपाली युवाहरुले परामर्श लिइसकेको जोशीले जानकारी गराए । कार्यरत युवाहरुले कम्पनीमा हुने दुर्घटनाका साथै अन्य स्वास्थ्य सुझाव संस्थामार्फत प्राप्त गर्ने गरेका छन् ।
सोसाइटी अफ नेपाल लभिङ्ग कोरियन भोलेन्टिएर विज्ञ समूहमा डा। जोशीको साथै योंग्नाम विश्वविद्यालयका प्राध्यापक कुक क्यून किम, प्राध्यापक दोंगसंग चंग, अन्तरर्राष्ट्रिय गैर सरकारी संस्थामा कार्यरत जंग वुक किम योंग्नाम विश्वविद्यालयका प्रशासकीय प्रमुख हंग क्वान जुन, यांग्नाम विश्वविद्यालयका प्राध्यापक ज्ञानेन्द्र प्रसाद जोशी छन् ।
अन्नपूर्ण पोष्टबाट