काठमाडौं, बैशाख ५
सुरक्षित बैदेशिक रोजागारको कृयाशिल अधिकारकर्मीहरुले नेपालमा फ्रीभिसा, फ्रीटिकट सहितको माग ल्याउन सक्ने म्यानपावर व्यवसायीलाई काम गर्न आग्रह गर्दै नसक्नेलाई व्यवसाय छोड्न आग्रह गरेका छन् । राजधानीमा फ्रीभिसा, फ्रीटिकट कार्यान्यवय विषयमा आयोजित छलफलमा उनीहरुले यस्तो धारणा राखे ।
युवाहरुको साझा संस्था आयोनद्धारा आयोजित छलफलमा बोल्दै प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) का महासचिव सोमप्रसाद लामिछानेले व्यवसाय गर्न सक्नेले मात्र गर्नुपर्ने धारणा राखे । उनले रोजगारदातासँग सिधा पहुँच नभएका, उनीहरुसँग मोलतोल गरेर फ्रीभिसा, फ्रीटिकट ल्याउन नसक्नेहरुले व्यवसाय छोड्नु नै उचित हुने बताए ।
“विदेशका गल्ली गल्लीमा खुलेका दलालका कम्पनीहरुमा पुगेर डाक बढाबढ गरेर भिसा ल्याएर त्यसको आर्थिक भार नेपाली कामदारलाई थोपर्न पाइन्न” उनले भने । उनले नेपालमा अहिले पनि कतिपय म्यानपावर व्यवसायीहरुले फ्रीभिसा, फ्रीटिकट ल्याइरहेको भन्दै त्यस्ता व्यवसायीलाई प्रोत्साहन दिनुपर्ने बताए । तर त्यस्ता व्यवसायीहरु पनि जाली फटाहाका कारण खुलेर बोल्न नसकिरहेको उनको भनाई थियो ।
उनले नेपालमा ७ सय ५४ वटा म्यानपावर कम्पनीहरु रहेकोमा त्यति संख्यामा कम्पनीहरु आवश्यक रहे नरहेको विषयमा पनि बहस हुनुपर्ने तर्क गरे । धेरै म्यानपावर कम्पनी रहेको अवस्थामा सरकारले प्रभावकारी अनुगमन नगरिरहेका कारण समस्या आइपरेको भन्दै थोरै तर राम्रा कम्पनी हुँदा सरकार, व्यवसायी, कामदार सवैलाई फाइदा पुग्ने लामिछानेले बताए ।
सो अवशरमा बोल्दै सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष सिद्धिचन्द्र बरालले हाल सरकारले विदेशका कम्पनीहरुले प्रवद्र्धन खर्च नदिएको अवस्थामा मात्र नेपालका व्यवसायीले १० हजारसम्म लिन पाउने व्यवस्था रहेको भन्दै त्यसलाई कडाई पूर्वक कार्यान्वयन गर्नुपर्ने धारणा राखे । उनले अझै पनि यस विषयमा यूवाको ध्यान आवश्यक रुपमा नपुगिरहेको भन्दै उनीहरुलाई बढी भन्दा बढी बहसमा सहभागि गराउनुपर्ने बताए ।
सञ्जालका महासचिव अशोक रानाले कामदारको अधिकारका पक्षमा रहेका गैरसरकारी संघसंस्था, युवाका समुहहरु, सञ्चारमाध्यम एक भएर अगाडी बढ्नुपर्ने खाँचो औल्याए । उनले त्यसका लागि तत्कालिन कार्यक्रमहरु बनाउँदै परिस्थीति अनुसार त्यसमा फेरवदल गर्दै अभियान सञ्चालन गर्नुपर्ने बताए ।
छलफलमा बोल्दै आयोनकी रुपा उप्रेतीले विदेशिएका नेपाली युवाले देशको अर्थतन्त्रमा ठूलो योगदान दिइरहेको भन्दै राज्यले उनीहरुको योगदानलाई सही रुपमा नबुझेको बताइन् । उप्रेतीले नेपाली युवाले बैदेशिक रोजगारीमा जाँदा कुनै शुल्क तिर्नु नपर्ने अवस्था निर्माणका लागि काठमाडौंसँगै देशका विभिन्न जिल्लाहरुमा पनि युवालाई संगठित रुपमा सडकमा उत्रिन आयोनले आव्हान गर्ने पनि बताइन् ।
विवेकशिल नेपाली दलका अशिम राईले सरकारले यसअगाडीको निर्णय उल्ट्याए त्यसको सवैभन्दा धेरै मारमा गाउँका नेपाली युवा पर्ने भन्दै आफ्नो दलले स्वदेश र विदेशमा फ्रीभिसा, फ्रीटिकटको पक्षमा अभियान चलाएको बताए । उनले आफ्नो दलका तर्फबाट विभिन्न देशहरुमा रहेका दुतावासहरु मार्फत ज्ञापन पत्र बुझाउने, ति देशबाट श्रम मन्त्री, सचिव लगायतलाई टेलिफोन गरेर दवाव दिने लगायतका अभियान भइरहेको उनको भनाई थियो ।
देशपरदेश डटकमले फ्रीभिसा, फ्रीटिकटका पक्षमा दवाव दिने उद्धेश्यले झण्डै एक महिनायता म कामदारको पक्षमा अभियान सञ्चालन गरिरहेको छ । सो अभियानमा स्वदेश र विदेशमा रहेका सयौं नेपालीले आफू फ्रीभिसा, फ्रीटिकटको पक्षमा रहेको सन्देश सहितका तस्वीरहरु पठाएर ऐक्यवद्धता जनाइरहेका छन् ।
