
पर्वत – उत्तरी पर्वतको लेखफाँट–५ ठूलाचौरका भगवान् आचार्यले विदेशबाट फर्केपछि व्यावसायिक मौरीपालन सुरु गरेका छन् । विदेश पुगेर सोचेजस्तो कमाइ नभएपछि उनले गाउँ फर्किएर सुरु गरेको मौरीपालन व्यवसायबाट मासिक २० हजारभन्दा बढी आम्दानी हुने गरेको छ ।
सुरुमा दुई वटा काठको घारबाट मौरीपालन सुरु गरेका आचार्यले अहिले आधुनिक र काठको गरी ३५ वटा घारमा मौरीपालन गरेका छन् । जिल्लास्थित विभिन्न सङ्घसस्थाबाट तालिम लिएपछि आफू मौरीपालनतर्फ लागेको आचार्यले बताए । जिल्ला कृषि विकास कार्यालयबाट मौरीपालन व्यवसायका लागि रु एक लाख ८० हजार अनुदान पाएपछि उनी झन् आकर्षित भएर मौरीपालन व्यवसायमा लागेको बताए ।
एउटा घारबाट वार्षिक १० किलोसम्म मह निकालेर प्रतिकिलो रु दुई हजारले बिक्री गर्ने गरेको उनी सुनाउछन् । जिल्लाका लेखफाँट र सालिजा गाविसका अन्य किसानलाई पनि मौरीपालन गरेर आत्मनिर्भर बन्न आफूले सुझाएको उन बताए । उनका अनुसार अहिले लेखफाँट र सालिजा गाविसका झन्डै ५० घरधुरीहरु मौरीपालनतर्फ लागेका छन् । कृषक आचार्यलाई अहिले मौरीका लागि गाउँलेलाई आवश्यक परार्मश दिन, रानीमौरी तथा अन्य मौरी तयार गर्न भ्याइनभ्याइ छ । रासस