गाइपालनबाट मासिक सवालाख आम्दानी

नेपालगन्ज- ‘पढेलेखेपछि कृषि पेसा गर्नुहुँदैन’ भन्ने गलत मानसिकतालाई बाँकेका एक दम्पतीले तोडेका छन्। समाजशास्त्रमा स्नातकोत्तर तह उतीर्ण कोहलपुर–११ का विष्णु पोखरेल र शारदा पोखरेललाई कृषि पेसा गर्न कुनै हिनताबोध छैन, उनीहरू उत्साहपूर्वक व्यावसायिक गाई पालनमा सक्रिय छन्। ‘आफ्नो पेसा गर्ने मान्छे सानो हुँदैन, अब कृर्षि पढेलेखेका व्यक्तिबाटै अगाडि बढाउनुुपर्छ,’ पोखरेल दम्पतीले भने।

२०६८ सालमा उनीहरूले एउटा माउ गाई घरमा ल्याएर पाल्न सुरु गरेका थिए। ‘बर्दियाबाट २२ हजार रुपैयाँमा जर्सी गाई किनेर ल्यायौं, त्यो बेला हामीसँग गोठ नै थिएन,’ उनीहरूले सुनाए। एक वर्षभित्र गाईको संख्या थपेर ६ वटा पुर्यानएपछि २०६९ मा ‘प्रकृति गाई पालन फार्म’ दर्ता गरी व्यावसायिक गाई पालनसुरु गरिएको जानकारी विष्णुले दिए। अहिले फार्ममा जर्सी र होलस्टेन जातका ३४ गाई छन्। त्यसमध्ये १२ गाई दुहुना छन्। पोखरेल दम्पतीले गाईको स्याहारसुसार र दूध दुहुने काम आफैं गर्छन्। यसका लागि हरेक दिन बिहान ४ बजे उठिसक्नुपर्छ।

फार्ममा एक जनाले रोजगारी पनि पाएका छन्। फार्मबाट दैनिक १ सय ५० लिटर दूध उत्पादन भइरहेको विष्णुले जानकारी दिए। ‘उत्पादन भएको दूध बेच्न समस्या छैन, बिहान र बेलुका घरमै आएर लैजान्छन,’ उनले भने। खुद्रा मूल्य प्रतिलिटर ६० रुपैयाँ र दूध डेरीलाई ल्याक्टो र फ्याटका आधारमा प्रतिलिटर ३८ देखि ४२ रुपैयाँमा बिक्री गरिरहेको उनले बताए। कुल आम्दानीको ५० प्रतिशत रुपैयाँ बचत हुने विष्णुले बताए। पोखरेल दम्पतीका अनुसार सबै खर्च कटाएर मासिक सवा लाख रुपैयाँ बचत हुन्छ।

‘गाई पालनबाटै छोराछोरीको शिक्षा, घर खर्च र बैंकको किस्ता तिर्ने गरेका छौं,’ शारदाले भनिन्। फार्ममा गाईको संख्या १ सय वटा पुर्याछउने पोखरेल दम्पतीको लक्ष्य छ। आफूहरूको सक्रियताले नै सफलता प्राप्त गरेको दाबी उनीहरूको छ। ‘गाईलाई एकै समयमा खुवाउने, दुहुने समय पनि एउटै हुनुपर्दो रहेछ,’ विष्णुले भने, ‘गाई फार्म सञ्चालनका लागि घाँस खेती गर्न अनिवार्य छ।’ गाईको गोबर माछा पालन र तरकारी खेती गर्ने किसानलाई बेचेर पराल र भुसको खर्च धानेको शारदाले बताइन्। ‘गाईको दूधको रेट मात्र हेरेर हुँदैन,’ उनले भनिन्, ‘गोबर र पिसाब पनि उपयोग गर्न सकिँदो रहेछ।’ गाईको गोबर र पिसाबबाट बायोग्यास चलाएको जानकारी उनले दिइन्। ‘नाकाबन्दीको समयमा ग्यास सिलिण्डर नपाएर धेरै जना छट्पटिए, तर हामीलाई कुनै टाउको दुखाइ भएन, बायोग्यास प्रयोग गर्यौं,’ उनले थपिन्।

उन्नत जातका गाईमा ‘बाँझोपन’ हुने समस्या बढी छ। गाई समयमा बाली नहुँदा कतिपय किसान घाटा बेहोर्न बाध्य छन्। यसका लागि सरकारले ‘सेक्स सिमेन’ (लिंग छुट्टिएको बीर्य) वितरणको व्यवस्था गर्नुपर्ने गाई पालक किसानको माग छ। ‘सेक्स सिमनेबाट गर्भाधान गराउँदा गाईले ९० प्रतिशत बाच्छी जन्माउने सम्भावना हुन्छ,’ विष्णुले भने, ‘बाच्छीको संख्या बढेपछि किसानलाई उत्पादन बढाउन फाइदा हुन्छ।’ पशु सेवा कार्यालयले गत वर्ष जिल्लामा नमुनाका रुपमा सेक्स सिमेन वितरण गरेको थियो।

गाई पालनमा पोखरेल दम्पतीको परिश्रमबाट प्रभावित भएर पशु उत्पादनका लागि दुग्ध विकास बोर्डले १ लाख रुपैयाँ गत वर्ष अनुदान दिएको थियो। जिल्ला पशु सेवा कार्यालयले घाँसको बीउ, जुकाको औषधि र भ्याक्सिन निःशुल्क दिएको छ। कार्यालयका अनुसार जिल्लामा एक सय चार वटा गाई फार्म छन्। संख्यात्मक हिसाबले प्रकृति गाई फार्म जिल्लाकै सबैभन्दा ठूलो फार्म रहेको पशु विकास अधिकृत ललितजंग कुँवरले बताए। गाई पालनमा किसानलाई आर्कषित गर्न कार्यालयले गोठ सुधारमा अनुदान दिँदै आएको छ। यसवर्ष ७ जना गाई पालक किसानले २ लाखका दरले र ३ जनाले एक लाख रुपैयाँका दरले अनुदान पाएका छन्। गोठ सुधारअन्तर्गत १० जनालाई ३० हजार रुपैयाँ बराबरको सामान वितरण गरिएको छ। ‘सेक्स सिमेन’ वितरण कार्यक्रम अहिले नआएको कार्यालयले जनाएको छ। किसानमा गाई पालन व्यवसायतर्फ आर्कषण बढ्दै गएको जिल्ला पशु कार्यालयका प्रमुख डा. बेदबहादुर केसीले बताए। ‘समग्रमा धेरै किसानले गाई पालनबाट लाभ लिनुभएको छ,’ उनले भने, ‘किसानलाई अनुदानका साथै निःशुल्क प्राविधिक सेवा दिइरहेका छौं।’

नागरिकबाट 

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय