काठमाडौं- प्रहरी धरपकडको विरोधमा भन्दै बैदेशिक रोजगार सम्वन्धि सम्पूर्ण काम बन्द गरेर बसेका म्यानपावर कम्पनीहरु खुलेका छन् । उनीहरुले अन्तिम श्रम स्वीकृतिको काम सुरु गरेका हुन् ।
यसअघि गत फागुन २२ गतेदेखि नेपाल बैदेशिक रोजगार व्यवसायी संघको आव्हानमा सम्पूर्ण म्यानपावर कम्पनीहरु बन्द थिए । उनीहरुले प्रहरी धरपकड बन्द गर्नुपर्ने मुख्य माग राखेका थिए । तर सँगसँगै हाल कार्यान्वयनमा रहेको फ्रिभिसा, फ्रिटिकटको व्यवस्थामा पुनरावलोकनका लागि उनीहरुले दवाव दिंदै आएका छन् ।
श्रम तथा रोजगार मन्त्री दीपक बोहोरा चीनको भ्रमणमा गएपछि अन्यौैलमा रहेको म्यानपावर व्यवसायीको आन्दोलन स्वयं उनीहरुका लागि नै घाँडो सावित भएको थियो । मन्त्री फर्के लगत्तै भएको अनौपचारिक छलफलमा मन्त्रीले आफ्ना माग प्रति सकारात्मक आश्वासन दिएपछि आन्दोलन स्थगित गरिएको नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले बताएका थिए । संघले पत्रकार सम्मेलन गरी आफ्ना माग पुरा हुने वातावरण बनेको भन्दै सरकारसँग वार्ताका लागि ५ सदस्य रहेको वार्ताटोली समेत गठन गरिएको छ ।
यसअघि आफ्ना माग पुरा नभएसम्म पछि नहट्ने भन्दैै व्यवसायीहरु आन्दोलनमा उत्रेका थिए । फ्रिभिसा, फ्रिटिकटको व्यवस्था खारेज गर्न नहुने व्यापक जनदवाव छ । देशपरदेश डटकमले एकसाता अगाडीदेखि यस बारेमा अभियान सञ्चालन गरिरहेको छ । सो अभियानमा देशविदेशबाट सयौं व्यक्तिले सन्देश सहितको तस्वीर पठाएर सहभागिता जनाइरहेका छन ।
देशपरदेशको अभियान पश्चात हाल देशका विभिन्न जिल्लामा बैदेशिक रोजगारीमा गएर फर्केका व्यक्ति र तिनिहरुका परिवारले यसको पक्षमा र्याली, ज्ञापनपत्र बुझाउने लगायतका काम गर्दै आएका छन् । यसैगरी सुरक्षित बैदेशिक रोजगारीका लागि राष्टिय सञ्जालले पनि कामदारका पक्षमा अभियान सुरु गरेको छ ।