काठमाडौं- अदक्ष कामदारमात्र होइन, इन्जिनियरहरू पनि अब रोजगारी खोज्दै बिदेसिन थालेका छन् । नेपालमा राम्रो अवसर नपाएका दक्ष एवं नयाँ पुस्ताका इन्जिनियर अवसर खोज्दै खाडी मुलुकदेखि अमेरिका र युरोपियन देश पुगिरहेका छन् ।
नेपालमा नै रोजगारी र कमाइको अवसर हुँदाहुँदै पनि कतिपय अनुभवी इन्जिनियरसमेत बिदेसिने गरेका छन् । यसको मुख्य कारण अवसरसँगै आकर्षक कमाइ पनि हो । नेपाल इन्जिनियर एसोसिएसनका अध्यक्ष धु्रव थापाको भनाइमा नेपालमा रोजगारीको अवसर नै नपाएर विदेशी इन्जिनियर नेपामला झन्डै ५० प्रतिशत रहेको देखिन्छ ।
वार्षिक कति इन्जिनियर विदेश जान्छन् त रु यसको यकिन तथ्यांक न त इन्जिनियरको नियमन गर्ने निकाय नेपाल इन्जिनियर परिषद्सँग छ, न नेपाली इन्जिनियरहरूको छाता संस्था नेपाल इन्जिनियर्स एसोसिएसनसँग । देशका दक्ष एवं अनुभवी इन्जिनियरभित्र डरलाग्दो प्रतिभा पलायन लक्षण ९ब्रेन ड्रेन सिन्ड्रोम० बढ्दै गइरहेको देखिँदा पनि कसैले चासो नदिएको सरोकारवालाहरू बताउँछन् । हालसम्म परिषद्मा ३३ हजारभन्दा बढी इन्जिनियर दर्ता भएका छन् ।
गत वैशाख १२ गतेको भूकम्पले भौतिक संरचनामा धेरै क्षति पुगेपछि इन्जिनियरहरूको महत्व र माग बढ्न थालेको छ । भवन निर्माणमा अनिवार्य इन्जिनियरको परामर्श चाहिने प्रावधान राखेपछि सरकारी, निजी तथा विभिन्न संघ–संस्थाले इन्जिनियरको माग गरेको विज्ञापन दैनिक पत्रपत्रिकामा देख्न सकिन्छ ।
सरकारी कार्यालयको कुरा गर्ने हो भने शिक्षा विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला विकास कार्यालय एवं जाईका, वल्र्ड बैंकलगायत आईएनजीओले सयौंको संख्यामा इन्जिनियर माग गरेका छन् । मागसँगै यो पेसाप्रति आकर्षण पनि बढ्न थालेको छ ।
विदेशमा माग
नेपाली इन्जिनियरको माग स्वदेशमा मात्र होइन, विदेशमा पनि हुने गरेको छ । यसको मुख्य कारण भनेको नेपाली इन्जिनियर माग गरिएका देशको तुलनामा सस्तो मानिनु हो । यद्यपि, नेपालमा काम गरिरहेका इन्जिनियरको तुलनामा भने विदेशमा काम गर्ने इन्जिनियरको आम्दानी आकर्षक नै छ ।
खाडी देशमा सिभिल, आर्किटेक्चर, इलेक्ट्रोनिक तथा हाइवे इन्जिनियरको माग धेरै छ । नेपाली इन्जिनियरहरू जुन देशमा अध्ययन गर्न गए, त्यही देशमा काम गर्ने गरेका छन् । अमेरिका, जापान, बेलायत तथा अन्य विकसित राष्ट्रमा अध्ययन गर्न जाने नेपाली इन्जिनियर पढाइ सकिएपछि सोही देशमा काम गरेर स्थायी रूपमै रुपमा बस्ने गरेका छन् ।
नेपालमा इन्जिनियरिङ प्रवेश
नेपालमा इन्जिनियरिङ विधाको प्रयोग र प्रवेश कहिलेदेखि भएको हो, यकिन मिति छैन । युरोपको आधुनिक क्रान्तिसँगै विश्वव्यापी रूपमा प्रविधिप्रतिको आकर्षण वृद्धि भएका कारण राणाकालीन नेपालमा भने आधुनिक इन्जिनियरिङ ज्ञानबारे चासो राखिएको देखिएको छ ।
इतिहास खोतल्दा सन् १८९५ ले विशेष महत्व राख्छ । पहिलोपटक यो मितिमा नेपाली इन्जिनियर किशोरनरसिंह राणा र इन्जिनियर कुमारनरसिंह राणाहरूले आधुनिक इन्जिनियरिङ शिक्षा प्राप्त गरेका थिए । राणाकालीन समयमा निर्माण भएका अधिकांश पूर्वाधार यी राणा दाजुभाइको उपलब्धि मानिन्छ । नेपालभित्रै इन्जिनियरिङ शिक्षा दिने कामको सुरुवात सन् १९४२ देखि भएको हो । यसको श्रेय कुलरत्न तुलाधरलाई जान्छ । उनले नेपालमा ट्रेड लेभलको इन्जिरियरिङ शिक्षाबाट सुरु गरेको संस्था इन्जिनियरिङ अध्ययन संस्थानका रूपमा देश विदेशमा ख्याति कमाउन सफल भएको छ ।
नेपालमा इन्जिनियरिङ संरचना सुरुवातको ठ्याक्कै तिथिमिति किटान गर्न गाह्रो छ । आधुनिक इन्जिनियरिङको प्रवेशचाहिँ सन् १९०० पछि भएको मानिन्छ । सन् १९०० देखि १९३० सम्म चन्द्रशमशेरको शासनकालमा नेपालमा आधुनिक प्रविधिको प्रयोगबाट धेरै काम सुरु भएको मानिन्छ । जस्तै, सन् १९११ मा तयार भएको फर्पिङ जलविद्युत् केन्द्र, सन् १९२७ मा सञ्चालन भएको अमलेखगन्ज–रक्सौल रेलमार्ग, त्यही अवधिमा बनेको १४ माइल लामो धुर्सिङ रोपवे, त्रिचन्द्र कलेज, टेलिफोन सेवाजस्ता इन्जिनियरिङ प्रयोगसँग सम्बन्धित सेवा सुरु भएका हुन् । त्यसपछि नेपाली इन्जिनियरहरूले निजामती सेवामा प्रवेश पाएका थिए ।
कति छन् इन्जिनियरिङ कलेज ?
हाल देशभर सञ्चालनमा रहेका ४ दर्जनभन्दा बढी इन्जिनियरिङ कलेज, विश्वविद्यालय तथा संस्थानहरूमध्ये झन्डै ३० वटा राजधानीमा छन् । वार्षिक रूपमा नेपालमा २५ सयभन्दा बढी इन्जिनियर उत्पादन हुन्छन् । नेपालभित्रै विभिन्न इन्जिनियरिङ विषयमा स्नातकोत्तर, विद्यावारिधिसम्म पढाइ सुरु भइसकेको छ । त्यसैगरी परिषद्ले अहिलेसम्म ३८ देशका ५१० युनिभर्सिटीलाई मान्यता दिएको छ ।
जनतासँग इन्जिनियर
नेपाल इन्जिनियर्स एसोसिएसनको नेतृत्वमा वैशाखमा गएको भूकम्पपछि सहकर्मी संस्थाहरूसँगको सहकार्यमा ‘जनतासँग इन्जिनियर’ कार्यक्रम सञ्चालन भएको थियो । भूकम्पका बेला आफ्नो घरको अवस्थितिका बारेमा बुझेर ढुक्कसँग घरभित्र बस्ने वातावरण सिर्जना गर्ने उद्देश्यबाट एसोसिएसनसम्बद्ध घरधनीहरूको अनुरोधअनुसार निरीक्षण गरिएको थियो । उपत्यकाभित्र ३० हजारभन्दा बढी घरधुरी परीक्षण गरेर विपत्मा सहयोग गरिएको परिषद्ले जनाएको छ । काठमाडौं उपत्यकाबाहेकका अन्य प्रभावित जिल्लाहरू गोरखा, लमजुङ, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, धादिङ, दोलखा, रसुवालगायत जिल्लामा समेत क्षतिग्रस्त भवनको निरीक्षण भएको थियो ।
इन्जिनियरिङका क्षेत्रहरू
इन्जिनियरिङमा पनि विभिन्न क्षेत्र छन् । कम्प्युटर एवं आईटी इन्जिनियरिङ इलेक्ट्रोनिक्स तथा टेलिकम्युनिकेसन, सिभिल, स्ट्रक्चरल, इन्भारोमेन्टल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, एग्रिकल्चरल, अटोमोबाइल, बायोमेडिकल, केमिकल, इन्डस्ट्रियल, मराइन, मेकानिकल, टेक्सटायल इन्जिनियरिङ आदि क्षेत्रमा धेरै नेपाली अध्ययन गर्ने गरेका छन् ।
कारोवारबाट