युएई, चैत्र ७- संयुक्त अरब ईमिरेट्स(युएई) का बिभिन्न राज्यमा हुनेगरेका साँस्कृतिक कार्यक्रमहरुको वहानामा मानव तस्करी हुने गरेको खुलेको छ । नेपालीले आयोजना गर्ने गरेका साँस्कृतिक कार्यक्रममा आयोजकहरुलाई मोटो रकम दिएर कलाकारको भेषमा नेपाली युवायुवती युएई आउने गरेको भेटिएको छ ।
दुबईलाई ट्रान्जिट बनाएर विश्वका बिभिन्न देशहरुमा मानव तस्करी हुने गरेकोले नेपाल सरकारले युएई सहितका खाडी राष्ट्रमा भिजिट भिसामा कडाइ गरे पश्चात युएई ल्याउन यो तरिका अपनाइएको जानकारहरु बताउँछन् । केहि समय अगाडी सुरु भएको यो तरिका अहिले अझ मौलाएको छ ।
गत महिना युएईमा सम्पन्न एक कार्यक्रममा कलाकारहरु ल्याउने वहानामा ६ जना नेपाली युवतीहरुलाई प्रती ब्यक्ती ३ लाखसम्म लिएर दुबईमा भिजिट भिसामा ल्याएको खुले पछी मानव तस्करीको नयाँ अध्याय सार्वजनिक भएको हो ।
श्रोतका अनुसार गत महिना युएईमा आयोजित एक कार्यक्रममा नेपालबाट नायिका, गायक र हाँस्य कलाकार ल्याउने क्रममा थप ६ जना नेपाली युवती युएई आएका थिए । उनीहरु मध्ये ५ जनाले दुबई आए बापत प्रती ब्यक्ती ३ लाख र १ जनाले १ लाख ५० हजार रुपैया आयोजकलाई बुझाएको श्रोतको भनाई छ । सबै भन्दा कम तिर्ने युवतीको श्रीमान युएईमै रहेको हुँदा भिसा र टिकट आफैले ब्यवस्था गरेकोले अन्य भन्दा उनले कम पैसा तिर्नु परेको हो । त्यसरी गएकाहरु हाल युएईमा रोजगारीको खोजिमा त्यहाँ रहेका नेपालीहरुसँग सहयोगका लागि पुगेपछि यो खेलका बारेमा जानकारी बाहिर आएको हो ।
यसरी कलाकारको नाममा मोटो रकम असुलेर नेपालबाट भिजिट भिसामा ल्याउने गरेको भने यो पहिलो पटक होइन । यसअघी भएका बिभिन्न कार्यक्रममा पनि यस्तै कार्य गरिने गरेको श्रोतको भनाई छ । दुबईको पाँच तारे होटलमा ५० दिरहमको टिकट काटेर दुई देखि तीन सय दर्शकको उपस्थितीमा गरिने कार्यक्रममा नाफा नभए पछी आयोजकहरुले नाफा कमाउने उपाय स्वरुप यस्तो कार्य रोजेका हुन् ।
बिगत ४ बर्ष देखि नेपालबाट बिभिन्न ब्याण्ड र कलाकारहरु ल्याएर दुबईका तारे होटलहरुमा सफल कार्यक्रम सम्पन्न गरेका कलाकार सुमन उदयले सामाजिक सन्जाल मार्फत उक्त कार्यको भर्त्सना गरेका छन । उनले मानव तस्करहरुलाई कानुनको कठाघरामा उभ्याउनु पर्ने समेत बताएका छन ।
